मण्डलामा ‘सुनकेशरी’ (तस्बिरहरू)

काठमाडौँ । बाङ्गमय शताब्दी पुरुष स्व. सत्यमोहन जोशीले १२ वर्षअघि नेपालको सुदूर कर्णाली क्षेत्रको लोककथालाई आधार बनाएर लेखेको नाटक ‘सुनकेशरी’ काठमाडौँको थापागाउँस्थित मण्डला नाटक घरमा अहिले मञ्चन भइरहेको छ ।

राजन खतिवडाले निर्देशन गरेको यो चर्चित नाटक कर्णाली प्रदेशको प्रचलित लोककथामा आधारित छ । स्थानीय एक युवतीले आफ्नो सुन्दरताका कारण भोग्नु परेका तीतामीठा कथालाई ‘सुनकेशरी’ मा प्रस्तुत गरिएको छ ।

मण्डला थिएटरका ल्याबको दसौँ ब्याचका प्रशिक्षार्थीलाई लिएर नाटक तयार पारिएको निर्देशक राजन खतिवडाले बताए । नाटकमा परीक्षा लिम्बू, खगेन्द्र साउद, रीता सैँजु, सुवास गिरी, सुजिता सिवाकोटी लगायतका कलाकारहरूको अभिनय रहेको छ। उमेश तामाङ कार्यकारी निर्माता रहेको यस नाटकमा संगीत संयोजन अनुपम शर्माले गरेका छन् ।

विक्रम सम्बत २०६६ सालमा मण्डला थिएटर नेपालले बङ्गलादेशको ‘रंगो हर्षे, बिंगो वर्षे’ नाट्य महोत्सवमा पहिलो पटक यो नाटक मञ्चन गरेको थियो । त्यही वर्ष नेपालमा आयोजना भएको ‘काठमाडौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ र तत्कालीन समयमा अनामनगरमा रहेको मण्डला नाटकघरको उद्घाटनमा समेत यही नाटक  मञ्चन गरिएको थियो ।

मण्डला नाटक घरमा यो नाटक अहिलेसम्म ३ पटक मञ्चन भइसकेको छ । कात्तिक १८ देखि मञ्चन भएको नाटक ‘सुनकेशरी’ सोमबार बाहेक कार्तिक २७ गतेसम्म मञ्चन हुनेछ । यो नाटक २०६६ सालमा मण्डला थिएटरमा मञ्चन हुँदा यसका लेखक स्व. सत्यमोहन जोशीले थिएटर मै उपस्थित भएर हेरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *