सकिमना पुन्ही : अन्नको मन्दिर बनाएर मनाइने एक अनौठो पर्व (भिडिओ)

काठमाडौँ । कात्तिक शुक्ल पूर्णिमाका दिन भक्तपुरबासीले विभिन्न मन्दिरअगाडि धान, गहुँ, मकै जस्ता अन्नको चित्र कोर्दै कृषिमा आधारित सांस्कृतिक पर्व हरिमण्डित तथा सकिमना पुन्ही पर्व मनाएका छन् ।

सकिमना पुन्ही नेवारी शब्द हो । ‘सकि’ को अर्थ पिँडालु हो भने ‘मना’ को अर्थ उसिन्ने हो त्यसैगरी ‘पुन्ही’ का अर्थ पूर्णिमा हो । यस दिनमा पिँडालु, सखरखण्ड उसिनेर खाइने हुनाले यस दिनलाई सकिमना पुन्ही भनिएको हो ।

नेवारहरूको विशेष पर्व सकिमना पुन्हीमा भक्तपुरलगायत उपत्यकाका विभिन्न ठाउँमा गुठीहरू मिलेर मठ मन्दिर अगाडि अन्नका चित्रहरू बनाइन्छ । भक्तपुरका स्थानीय महेश प्रकाश हाडाका अनुसार चित्रहरू बनाउँदा मन्दिरको ठिक अगाडि बनाइन्छ । जहाँ मन्दिर, भगवान र तिनका बाहनहरूको चित्र हुने गर्दछ ।

उनी भन्छन् ‘हाम्रो दाफा, दाल्चा जस्ता भजन समुदायहरू हुन्छन् । ती समुदायको गुठी पनि हुन्छ । उनीहरूले नै सबै कुराको जिम्मा लिन्छन् र विभिन्न चित्र तथा आकृति कोरेर मनाइन्छ । साथमा भजन पनि गाइन्छ ।’

भिडिओ

मन्दिर र वाहनको चित्र कोर्दा मकै, भटमास, धान, गहुँ र जौबाट कोरिने गरिन्छ । साथमा विभिन्न फूल र दियो बालेर सजाइन्छ । पर्व साँझपख मनाइने गरिन्छ ।

साँझभएपछि प्रत्येक घरबाट आस्था भएका व्यक्तिहरूले पूजाका सामान र मकै, गहुँ जस्ता अन्य अन्नहरू लगेर पूजा गर्छन् र प्रसादको रुपमा थोरै अन्नहरू घरमा पनि लान्छन् ।

भक्तपुरका विभिन्न मन्दिर अगाडि छुट्टाछुट्टै अन्नका आकृतिहरू देखियो । तौमरी (पाँचतले ) मन्दिरमा भैरवनाथको लिङ्ग उठाइने हुँदा त्यहाँ लिङ्ग र पाँचतले मन्दिरको चित्र कोरिएको थियो ।

त्यसैगरी भक्तपुर दरबार स्क्वाएर अगाडि रहेको इन्द्रायणी मन्दिरमा हात्तीको चित्र कोरिएको थियो । उक्त हात्तीको चित्र इन्द्रायणी गुठीद्वारा नै बनाइएको स्थानीय महेशले बताए ।

तस्बिरहरू 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *