१० खेलाडीमा सीमित बार्सिलोनाको नाटकीय जित

काठमाडाैँ । स्पेनिस ला लिगाअन्तर्गत मंगलबार राति भएको खेलमा लिग लिडर बार्सिलोनाले ओसासुनाविरुद्ध नाटकीय जित निकालेको छ । ओसासुनको मैदान एल साडरमा भएको खेलको छैटौं मिनेटमा डेभिड गर्सियाले गरेको गोलसँगै घरेलु टिमले अग्रता लिएको थियो ।

पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ३१ औं मिनेटमा गरेको खराब फाउलका कारण रातो कार्ड पाएपछि बार्सिलोना पहिलो हाफमा १० जनामा सीमित बार्सिलोना १–० ले पछाडि थियो ।

दोस्रो हाफमा आक्रामक बनेको बार्सिलोनाका लागि पेड्रीले ४८ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । निर्धारित ९० मिनेटको खेल सकिन पाँच मिनेट बाँकी रहँदा ब्राजिलियन अट्याकर राफिन्हाले गरेको गोलसँगै बार्सिलोनाले १–२ को नाटकीय जित सुनिश्चित गर्‍यो ।

आफ्नो करिअरको अन्तिम खेल खेल्ने लक्ष्यसहित बार्सिलोनाको बेन्चमा रहेका स्पेनिस डिफेन्डर जेरार्ड पिकेले भने रेफ्रीसँगको विवादका कारण रातो कार्ड सामना गर्नुपर्‍यो । गत शनिबार राति घरेलु समर्थकसामु बिदा मागेका पिके गए राति अन्तिम पटक बार्सिलोनाको जर्सीमा मैदान उत्रिने तयारीमा थिए ।

जितसँगै १४ खेलबाट ३७ अंक जोडेको बार्सिलोना लिग तालिकाको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको रियाल मड्रिड दोस्रो स्थानमा छ । पराजित ओसासुना समान १४ खेलबाट २३ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *