इँटा उद्याेगमा आर्थिक मन्दी : बिक्न छाडे इँटा, मजदुरलाई समस्या

काठमाडौँ । नेपालको पहाड र तराई क्षेत्रमा विभिन्न इँटा उद्योग सञ्चालनमा छन् । इँटा उद्योगले एकै सिजनमा सयौँ मजदुरलाई एकैपटक रोजगारी दिने गर्दछन् । खास गरी इँटा उद्योगको सिजन भएको ६ महिनाको हुने गरेको छ । यी उद्योगका मजदुरले पेस्की, रासन र अन्य खर्च कटाएर पनि सामान्य अवस्थामा ५० हजारदेखि २ लाखसम्म कमाउने गर्छन् ।

तर, अहिले अवस्था त्यस्तो छैन, बदलिएको छ । नेपालसहित विश्वव्यापी आर्थिक मन्दीको असर यी इँटा उद्योगमा पनि प्रत्यक्ष देख्न पाइन्छ । आर्थिक मन्दीकै कारण इँटाभट्टाको सिजन ४ महिना मात्र बनाइएको भक्तपुरका श्री गणेश फिक्स इँटा भट्टाका साहु विद्वेष अवालले जानकारी दिए ।

उनी भन्छन्, ‘देशमा आर्थिक मन्दी चलिरहेको छ । बजारमा इँटाको माग कम छ । पोलिएका इँटाहरू नै बिक्री हुँदैनन् । पोहोर साल बनाएका इँटाहरू नै बाकिँ छन् । यो साल ४ महिना मात्र भट्टा चलाउन लागेका हौँ ।’

देशमा आर्थिक मन्दी छाएको छ । पेसा व्यवसाय र निर्माणका लागि बैंकले कर्जा प्रवाह अन्त्यतै न्यून बनाएको छ । ठुला परियोजना निर्माण कार्य ठप्प छन् । पेट्रोलियम पदार्थदेखि हरेक चिजको मूल्यले आकाश छोएको छ । मन्दीले निर्माण कार्य ठप्प प्राय हुन पुग्दा इँटाको विक्री वितरण घटेको छ ।

उसो त भक्तपुरमा मात्र नभएर अन्य जिल्लामा पनि भट्टा सिजन छोट्याइएको छ । कुनै ठाउँमा ४ महिना र कुनै ठाउँमा ३ महिना मात्र सिजन काम गर्न पाउने भएको छ । इँटाभट्टाको सिजन ४ महिना मात्र हुनुमा देशमा भइरहेको आर्थिक मन्दी प्रमुख कारण रहेको उद्योगी अवालले बताए ।

भट्टा सिजनको समयावधि कमहुँदा सबैभन्दा बढी असर त्यहाँ काम गर्ने मजदुरहरू लाई परेको छ । पहिलो ३ महिनाको अवधि पेस्की ज्याला सधाउन(कटाउन) नै काम गर्नुपर्छ । पछिल्लो तीन महिना गरेको कामको पैसा भने मजदुरले बचाउने गरेका थिए । तर, अहिले सिजन छोटिँदा खान मात्रै पुग्छ । इँटा भट्टामा काम गर्ने सिजन छोटो हुँदा पैसा बचत गर्ने गरी कमाउन नसकिएको बि।ए। ब्रिक इन्डस्ट्रीका मजदुर बिपना सुनुवारले जानकारी दिइन् ।

तर यसअघि उनको परिवारले पेस्की, रासन र अन्य खर्च कटाएर पनि ७०–८० हजार कमाउने गर्थे । यो पटक भने उनका परिवारले २० हजार मात्र पेस्की लिएका छन् । यसपटक उनलाई र उनको परिवारलाई पेस्की कटाउन सहज भए पनि धेरै पेस्की लिएका अन्य मजदुरहरूलाई भने पेस्की कटाउन नै धाउधाउ पर्ने बिपना बताउँछिन् ।

त्यस्तै जेबी इँटा उद्योगमा कार्यरत अर्का मजदुर कुमारी सुनुवार भने अब इँटाभट्टामा पहिले जस्तो कमाई नरहेको बताउँछिन् । पहिले उनले ३ लाख पेस्की कटाएर, परिवारसहित खाएर पनि ८५ हजार रुपैयाँ बचाउने गरेकी थिइन् । तर, यस पटक पैसा बचाउन नसक्ने बताउँछिन् । मजदुरहरू मध्ये पनि कति त पेस्की नै कटाउने नसक्नेहरू पनि हुन्छन् । त्यस्ता मजदुरलाई भने झनै असहज हुने बताउँछिन् ।

नेपालमा बिस्तारै आर्थिक मन्दीले सबै क्षेत्रमा नराम्रो प्रभाव पार्दै गएकोले त्यसको समाधान छिटो खोज्नुपर्ने देखिन्छ । उत्पादनमा शिथिलता देखिँदै गएको छ । हरेक वस्तुमा परनिर्भर हुँदै गएको छ ।

आयातमुखी अर्थतन्त्रको विकास हुँदै जाँदा खाने दाल, चामल, तेल, खाना पकाउने ग्यास जस्ता दैनिक उपभोग्य वस्तुहरूको मूल्य दिनप्रतिदिन बढ्दै गएको छ । आयातमै धेरै रकम खर्चिनु पर्दा विदेशी मुद्राको सञ्चिति समेत कम हुँदै गएको छ । यस्तै अवस्था जारी रहे नेपालमा पनि श्रीलङ्काको जस्तो गम्भीर आर्थिक संकट नआउला भन्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *