चितवन-१ : ‘हिरो’ उम्मेदवारको उपाधि पाएका हरि ढकाल को हुन् ?

चितवन । चितवन क्षेत्र नं १ मा ‘हेभिवेट’ उम्मेदवार सुरेन्द्र पाण्डेको घरदैलोको अघिपछि छन् हरि ढकाल । चितवन १ मा नेकपा एमालेले पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पाँच दलीय गठबन्धनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका विश्व पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकाललगायतका उम्मेदवार छन् ।

उम्मेदवारको माझमा यतिबेला ‘हिरो’को उपाधि पाइरहेका छन् हरि ढकालले । मतदातमाझ उनी ‘हिरो’ उम्मेदवारले चिनिन्छन् । सेतो कपडामा गोरो अनुहार बनाएर घरदैलो गरिरहेका ढकालको ‘क्रेज’ पछिल्लो समय चितवन १ मा ह्वात्तै बढेको छ ।

आखिरी चितवन १ मा क्रेज ल्याउने हरि ढकाल को हुन् ? चितवन क्षेत्र नं १ मा रवि लामिछानेले नेतृत्व गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ पार्टीबाट उमेदवार बनेका हुन् ढकाल । उनी युवा छन्, प्रायः सेतो कपडा लगाएर घरदैलो गरिरहेको अवस्थामा भेटिन्छन् ।

पुँजी बजारको क्षेत्रमा लागेका ढकाल देशको अर्थतन्त्र बचाउनलाई आफ्नो उमेदवारी भएको बताउँछन् । हरेक टोलटोलमा, घरघरमा पैदलबाटै भोट माग्न कुदिरहेका छन् ढकाल । किसान खेतमा भए खेतमै, भान्सामा भए भान्सामा मत माग्न ढकाल पुगिरहेका छन् ।

‘पुँजी बजारको मात्रै हैन समग्र देशको अर्थतन्त्र नै सुधार गर्नुपर्ने भएकाले राजनीतिमा आएको हो, रोजाइमा पार्नुभयो भने देशको अर्थतन्त्रमा सुधार ल्याउनेछु’ ढकाल मतदातामाझ यही भन्दै हिँडेका छन् ।

‘रवि लामिछानेको ‘क्रेज’को प्रभाव पनि हरि ढकालमा परेको छ, रवि चितवन २ बाट उठेका छन्, नयाँ अनुहार खोज्ने मतदातालाई हरि ढकाल उपयोगी पात्र बनेका छन्, उनको क्रेज बढेको छ, पहिला एमाले र कांग्रेसमा मत हालेका कयौँ मतदाताहरु यसपटक घन्टी बजाउने हो भन्न थालेका छन्’ चितवन १ का एक मतदाताले भने, ‘माहौलले पनि चुनावलाई प्रभावित पारेको हुन्छ, कसरी हो ढकालको क्रेज बढेको देखिन्छ, जित्ने मत ल्याउन उहाँले धेरै कोशिस गर्नुपर्छ, तर माहौल राम्रो छ ।’


हरि ढकाल रत्ननगर पिठुवा निवासी हुन् । उनको पहाड घर गोर्खा हो । तराईमधेसमा पहाडी जिल्लाबाट बसाइँ सरेर आउनेहरुलाई पहाड घर कहाँ हो भनेर सोध्ने प्रचलन छ । २०१५ सालमा गोर्खाबाट उनको परिवार रत्ननगरको पिठुवा आएको हो । ढकाल पहिला नेकपा एमालेकै हुन् । एमाले विद्यार्थी संगठन अनेरास्ववियुको चितवन सचिवसमेत भइसकेका छन् ढकाल
ढकाल राजनीतिमा आउनुअघि शेयर कारोबारमा थिए । अहिले पनि उनी शेयर कारोबारलाई चटक्कै छोडेका छैनन् ।

२०७४ सालको चुनावमा एमालेलाई जिताउन लागेका ३९ वर्षीयढकाल मंसिर ४ गते हुने चुनावमा आफू जित्न लागिरहेका छन् । ।

एमालेको सरकारमा अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारप्रति सही निर्णय नगरेको भन्दै ढकाल आमरण अनसनमा बसेका थिए । अहिले पनि शेयर मार्केमा सुधार छैन । तर ढकाल देशकै अर्थतन्त्र सुधार्नपर्ने बताउँछन् । त्यसकै लागि आफ्नो उमेदवारी रहेको बताउँदै हिँडेका छन् ।
ढकाल काठमाडौं महानगरका मेयर बालेन शाहलाई जिताउन लागेका व्यक्ति हुन् । यसअघि उनी बालेनको अभियानमा सक्रिय थिए। अहिले चितवन १ मा घरदैलोमा सक्रिय भएका ढकालको क्रेज बरिहेको हुनाले राम्रो भोट आउने अपेक्षा मतदाताहरुले गरिरहेका छन् ।

चितवन १ को अंकगणित
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका सुरेन्द्र पाण्डे यस क्षेत्रको लागि चिरपरिचित नाम हो । यस क्षेत्रमा २०७० र २०७४ सालको संघीय चुनावमा नेता पाण्डे निर्वाचित भएका हुन् । पाण्डे माधव नेपाल प्रधानमन्त्री हुँदा ०६६ सालमा १९ महिना अर्थमन्त्री भएर कामसमेत गरिसकेका नेता हुन् ।

२०७४ सालमा वाम गठबन्धनबाट साझा उमेदवार बनेका पाण्डेले ५१ हजार ८० मत ल्याएका थिए । त्यतिबेला उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ३५ हजार ३६० मत ल्याएका थिए ।

यस क्षेत्रमा पर्ने रत्ननगर, खैरहनी र राप्ती गरी तीन पालिका पर्छ । यसपटकको स्थानीय तहको चुनावमा तीनवटा पालिकाको प्रमुखमा पाँच दलीय गठबन्धन विजयी भयो । रत्ननगर र खैरहनीमा कांग्रेसको नेतृत्व आयो भने राप्तीमा एकीकृत समाजवादीको नेतृत्व आयो ।
चितवन क्षेत्र नं १ मा ४२ वटा वडा पर्छन् । २० वटा वडाको अध्यक्षमा एमालेले जितेको छ । कांग्रेसले १८, माओवादी केन्द्रले एक, एकीकृत समाजवादीले एक र स्वतन्त्रले दुई वडाका अध्यक्ष जितेका छन् । वडा बढी नेकपा एमालेले जितेको छ ।

यस क्षेत्रमा एमालेका वडाध्यक्षहरुले पाएको मत जोड्दा ३९ हजार ६०६ पुग्छ । कांग्रेसका वडाध्यक्षहरुले पाएको मत जोड्दा ३६ हजार ७८३ पुग्छ । माओवादी केन्द्रले पाएको मत जोड्दा ५ हजार ५०८ पुग्छ । राप्रपाले पाएको मत जोड्दा ४ हजार ५९० पुग्छ । एकीकृत समाजवादीले पाएको मत जोड्दा ४ हजार ५ मत पुग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *