सन्दीपको मुद्दामा मंसिर ७ गते बकपत्र, २ क्रिकेटरलाई पनि झिकायो अदालतले

काठमाडाैँ । बलात्कारको आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बकपत्र गराउन अदालतले मंसिर ७ गते बोलाएको छ । यसअघि प्रहरीले सोधपुछ गरेका व्यक्तिलाई अदालतले बकपत्रका लागि बोलाउन भनेको हो ।

अदालतले सन्दीपका सहकर्मी क्रिकेटर देव खनाल र साहव आलमलाई मंसिर ७ गते बकपत्रका लागि झिकाउन सरकारी वकिल कार्यालयलाई प्रहरीमार्फत झिकाउन भनेको हो । यसअघि प्रहरीले सोधपुछ गरेका अन्य व्यक्तिलाई पनि सोही मितिमा बकपत्रका लागि बोलाउन अदालतले आदेश दिएको छ ।

सन्दीपले पीडित किशोरीलाई देव खनालमार्फत चिनेको खुलेको छ । यस्तै साहव पनि सन्दीपसँग हुँदा किशोरीसँग फोनमा कुरा गरेको पाइएको अभियोग पत्रमा उल्लेख छ । यसअघि प्रहरीले पनि उनीहरूसँग बयान लिएको थियो ।

यस्तै अदालतले किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई पनि अदालतमा उपस्थित गराउन भनेको छ । अदालतले किशोरीको स्वास्थ्य जाँचको बारेमा थप बुझ्न उनीहरूलाई बोलाउन आदेश दिएको हो । यो मुद्दामा जोडिएका सन्दीप र किशोरी पक्षका सबै व्यक्ति, नगरकोट र काठमाडौँका होटलका कर्मचारी, किशोरी बस्ने होस्टलका सञ्चालकलाई पनि बकपत्रका लागि बोलाइएको छ ।

अदालतको आदेशमा भनिएको छ, ‘जाहेरवाला, पीडित, बुझिएका मानिसहरू र पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक समेतलाई बकपत्रका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ मार्फत २०७९ मंसिर ७ मा उपस्थित गराउन सम्बन्धित प्रहरी कार्यालयमा पत्राचार गर्नु र प्रतिवादीका साक्षीहरूलाई निज मार्फत उपस्थित गराई बकपत्रका लागि इजलास समक्ष पेश गर्नु ।’

किशोरीको उमेर जाँचबुझ हुने
यस्तै अदालतले किशोरीको वास्तविक उमेर बारे पनि थप अनुसन्धान गर्न आदेश दिएको छ । वास्तविक उमेर पत्ता लगाउनका लागि अदालतले दुवै पक्षले पेश गरेका कागजातका अभिलेख भिडाउने भएको हो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले सन्दीपले बयान साथ पेश गरेका पीडितको जन्मदर्ताको अभिलेख किताब झिकाएको छ । यसअघि अदालतमा सन्दीपले बयान दिँदा किशोरी नाबालिग नरहेको भन्दै किशोरीको जन्म मिति २०६१ असार १८ गते भएको प्रमाण पेश गरेका थिए ।

किशोरीको जन्मदर्ता, बसाइसराइको कागजात र कक्षा ८ मा भर्ना हुँदाको विवरणमा किशोरी १९ वर्ष पुगिसकेको प्रतिवादीको दाबी छ । तर किशोरीको नागरिकतामा भने १७ वर्ष २ महिना मात्रै पुगेको देखिन्छ । यी दुवै उमेर खुल्ने कागजात सम्बन्धित कार्यालयबाट मगाउन आदेशमा भनिएको छ। जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति पनि अदालतले ल्याउन आदेश दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *