रेखा थापाको चुनाव जित्ने टिप्स : ‘आफ्नै पार्टी भित्र बसेर मत परिवर्तन गर्नुस्’ (भिडिओ)

तपाईँ मत बदल्नुस् म देश बदल्छु

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ चर्चाको क्षेत्र हो । यो क्षेत्रमा नेकपा एमालेमा पटक पटक मन्त्री भईसकेका भानुभक्त ढकाल, नेपाली कांग्रेसबाट मेडिकल ब्यवसायी सुनिल शर्मा र राप्रपाबाट नायिका रेखा थापा चुनावी मैदानमा छन् । एमाले र कांग्रेस दुई बिचमा मात्र प्रतिस्पर्धा हुने बताईरहँदा राप्रपाबाट उमेदवार भएकी थापा मतदाता फकाउँदै गाउँगाउँमा छिन् । मतदाता विकल्पको खोजीमा रहेकोले बैकल्पिक उम्मेदवार आफु भएको उनको दाबी छ । उनले गाउँ गाउँमा जाँदा मतदातालाई बिभिन्न बिषयमा आश्वस्त पार्ने प्रयास गरिरहेकी हुन्छिन् । उनले मोरङ क्षेत्र नम्बर ३ को कानेपोखरी गाउँपालिका वडा नम्बर ४, माझीटोका स्थानीयलाई आफ्पक्षमा मतदात हाल्न यस्ता अभिब्यक्ति दिँदै थिईन् । उनले मतदाता फकाउन दिएको अभिब्यक्तिको सारसंक्षेप :

३३ बर्षदेखि एउटै एजेण्डा
कक्षा १२ सम्म सरकारले निशुल्क पढाउने भनेको छ। कक्षा १२ सम्म निशुल्क पढाउनु पर्ने अबस्थामा त्यो पनि अझै नागरिकले उपभोग गर्न पाएका छैनन् । स्वास्थ्य र शिक्षा नागरिकले निशुल्क पाउनु पर्ने अधिकार हुन्, यी अधिकारबाट मोरङ क्षेत्र नम्बर ३ नागरिक बञ्चित भएका छन् ।

ठुला पार्टी बनाउने र नेता बनाउने नाममा हामीले हाम्रो भविश्य चिनेनौँ । म ठुली बनेर यहाँ आउँदा पनि यहाँ विकासको कामै भएको छैन । हिजोका नेताहरुले के गर्नु भयो त ? हिजो म सानै छँदा मेरो बुबा आमासँग नेताले गरेका बाचा नै अहिलेको चुनावमा त्यही एजेण्डा छन् । हिजो म यत्री सानी हुँदा यो गर्छ रे त्यो गर्छ रे, लालपुर्जा दिन्छ रे भनेर भाषण गरेको सुन्थेँ आज पनि त्यही एजेण्डा बोकेर फेरी उनीहरु घुमिरहेका छन् । ३३ बर्षदेखि यो क्षेत्रमा के–केमा काम भईरहेको छ, यो कुरा मैले तपाईहरुलाई भनि रहँन पर्दैन । तपाईको र हाम्रो समस्या एउटै हो, हामी यहीँको भुक्तभोगी जनता हौँ । यो पटक तपाई हामी सबै मिलेर हाम्रो क्षेत्रलाई विजयी गराउनु पर्छ भनेर म आएको हो ।

यहाँ कोही एमाले–कांग्रेस वा माओवादी पार्टी प्रति आस्था राख्ने मान्छे पनि छौँ होला तपाईहरुप्रति मेरो सम्मान छ । तपाईँको पार्टी कहीँ हराउँदैन, त्यो तपाईँको पार्टी र सिद्धान्तलाई मेरो अथाह सम्मान छ तर पार्टी खराब हैन पार्टीलाई नेतृत्व गर्ने नेता खराब भएका कारण न देश बन्यो, न हाम्रो भविश्य बन्यो न हाम्रो क्षेत्र नै बन्यो ।

मत परिवर्तन गर्नुस्
यो पटक तपाईँहरु आ–आफ्नो पार्टी भित्र बसेर मत परिवर्तन गर्नुस् भनेर आएको हो । तपाईलाई म राप्रपा बनाउन आएको हैन, कोही राप्रपा बन्नु पर्दैन । तपाईहरु आफ्नो पार्टीलाई सुधार्ने हो आफ्नो नेतालाई सुधार्ने हो भने आफ्नो मत परिवर्तन गर्नुस् भन्ने आग्रह लिएर आएको हो । तपाईहरुले मलाई बनाउनु भयो, म बनिसकेँ, अब बन्ने पालो तपाईँहरुको । यो बन्न, बनाउन, संघर्ष र विद्रोह गर्न त्यो आँट लिएर म मेरो आफ्नो क्षेत्रमा आएको हुँ । दुईजना मध्ये कुनै एकजना कुनै राम्रो मान्छे आईदिएको भए म भोट हाल्न मात्र या आब्हान गर्न आउथेँ होला । फेरी पनि यो क्षेत्रलाई धोका हुँदैछ । यो क्षेत्रलाई फेरी प्रयोग गरिँदैछ । यो क्षेत्रका नागरिकलाई फेरी गुमराहमा राखिँदैछ भनेर म त्यसको प्रतिकार र त्यसको प्रतिरोध गर्न तपाईँहरुको बिकल्प बनेर म आएको छु । मलाई विस्वास छ तपाईहरु यो पटक परिवर्तन हुनुहुनेछ । तपाईहरुले यो पटक हलोमा मतदान गर्दा पाप लाग्दैन, मरिँदैन, कुनै ठुलो अपराध लाग्दैन, कसैले लगेर जेलनेल राख्दैन, राखेछ भने म जिम्मेवारी लिन्छु । आफ्नै पार्टी भित्र बसेर आफ्नो पार्टी र नेतालाई शुद्धिकरण गर्ने यो सुनौलो अबसर हो, यो पटक हलोमा मतदान गर्ने र उनीहरुलाई भन्ने ‘तिमिहरुले राम्रो काम नगर्दा यस्तै सबक सिकायौँ ।’

यो फलानो पर्टीको त्यो ढिस्कानो पार्टीको क्रियाशिल सदस्य त्यहाँ रेखा थापा आएको छ त्यहाँ गयौ भने हामीलाई पार्टीले कार्वाही गर्छ भनेर पछाडीको झ्यालबाट चिहाउनु पर्ने, यो कस्तो खालको डर हो ? किन यति धेरै डर बोकेर बाँच्ने ? कूनैपनि पार्टीले घरमा ल्याएर दुई छाक खान दिएको छैन । हामीले पार्टीप्रति आस्था राखेको पार्टीको शिद्धान्तप्रति आस्था राखेको त देश परिवर्तन हुन्छ र हाम्रो लागी राम्रो हुन्छ भनेर पो हो त, ब्यक्तिका लागि हैन ।

मैले तपाईसँग भोट मागी रहँदा, म निर्वाचित भई रहँदा म त सबैको साझा मान्छे हुन्छु नी हैन ? आज म यहाँ बसेर उभिई रहँदा झ्याल र ढोकाबाट चिहाउनु पर्ने अबस्था किन ? केको लागि डराउने, किन डराउने, कसको लागि डराउने अनी यो राजनीतिक दासी कहिलेसम्म बन्ने ? कुनै नयाँ मान्छे आईरहेको छ, आफ्ना कुरा राख्दै छ भनेँ त्यसको बिचार सुन्दैमा कुनै अपराध हुँदैन । यहाँ त सिण्डिकेट लगाईएको छ, प्रतिबन्ध लगाईएको छ। ब्यक्ति ब्यक्तिमा प्रतिबन्ध लगाईँदै छ । चुनाव आउने बेलामात्र जनतालाई प्रतिबन्ध लगाउनेहरु ५ बर्षसम्म देख्न पनि पाईँदैन । दलका नेता र पार्टीहरुले आफ्नो दलको नाउँमा हरेक घरलाई पार्टीगत रुपमा विभाजन गरिदिएको छ। आज विभाजित भएका ओल्लोघर र पल्लोघर भोली दुखदुखका साथि हुन् की हैनन् । के ति दलका नेताले आएर मेला, पर्म, सरसापट चलाउने काम गर्छन्, हो गर्दैनन् । हामी बाँच्ने त यही समाजमा त हो नी , के हामीलाई नेताले बचाउने हो र ? अहिले ओल्लो घर र पल्लो घरलाई विभाजित गर्ने नेताहरु निर्वाचित भएर जान्छन् तर तपाईलाई अप्ठेरो पर्दा पल्लो घरको मान्छे काम लाग्छ । त्यसैले राजनीतिको नाममा विभाजित हुनु हुँदैन ।

यो पटक दलका कुरा गरेर हुँदैन बुबा, आमा । हामीले पार्टी बचायौँ, कांग्रेस बचायौँ, एमाले बचायौँ, माओवादी बचायौँ तर पार्टी बचाउने आडमा तपाई हाम्रा दाजुभाई, तपाईँको छोराका पुस्ता अर्थात मेरो पुस्ता यो देशमा बस्न पाएन । अहिले विदेशिनु परेको छ । पार्टी त बचाईयो तर आफ्ना छोराछोरीको भविश्य बचाउन सकिएन । चुनावको अन्तिमदिन हाम्रा युवा पुस्तालाई प्रयोग गरिन्छ, अहिलेपनि प्रयोग गरिँदैछ । जिन्दावाद र मुर्दावाद भनेर झण्डा बोकाईन्छ । जितेर गएको नेता सिंहदरबारमा जान्छ तर त्यो युवा खाडी मुलुकमा पुग्छ । जाँदा त सग्लै गएको युवा फर्किने हो हैन थाहा छैन, धेरै नेपाली युवाहरु जाँदा सग्लै गएका युवा फर्किँदा बाकसमा फर्किनु पर्ने बाध्यता कसले ल्यायो ? यो त सम्झनु पर्ला नी । यस्तो अबस्थामा पार्टी जोगाएको के अर्थ भयो त ? हिजो विहे गरेकी श्रीमती, बृद्ध भएका बुृबा आमालाई छाडेर विदेशिनु पर्ने वाध्यतामा पार्टी जोगाएर के भयो । मैले कुनै पार्टीलाई गाली गरेको हैन, अहिलेको हाम्रो अबस्थाको कुरा गरेकी हुँ । हिजो हरेक पार्टीलाई जिताएर पठाएर मौका दिएको हो, यो पटक राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा नविन राप्रपा भएर आएको छ ।

मैले चाहेँभने तपाईलाई ठुला आश्वासन दिएर, भ्रम फैलाएर, झुठा आश्वासन दिएर विगतका नेताहरुले जस्तै तपाईहरुको मत लिएर जानसक्छु । तर म सँग एउटा भावना पनि के छ भनेँ म यही गाउँको मान्छे हो । तर कुरा त्यस्तो हैन । हिजो हामीलाई जुन प्रकारले मत मागेर, फकाएर, लुटेर, पैसामा जसरी मत लिएर गए , त्यो मत बेचिएको छ, त्यसको हिसाव किताव मंसिर ४ पछि जनताले गर्नेछन् । नेपाली जनता र मोरङ क्षेत्र नम्बर ३ का तपाई हामीले हिसाव किताव लिन आबश्यकता छ । हजार र पाँछ सय दिएको भरमा मत अन्यत्र हाल्नु भनेको तपाईहाम्रो भोटको किनबेच भएको छ। आजको ५ सय हजारले ५ बर्ष उनीहरुले हाम्रो मतको आडमा लुट्नेछन् । त्यसैले आफ्नो क्षेत्र बनाउने असल नेतृत्व रोज्नुहोला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *