गर्भपतनमा अनुमति बिनाका औषधिको प्रयोग असुरक्षित हुने

गर्भपतनलाई निरुत्साहित गर्न जोड

विराटनगर । असुरक्षित रूपमा हुने गरेको गर्भपतन कार्यलाई निरुत्साहित पारी सुरक्षित रूपमा जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् । स्वास्थ्य लाइभले विराटनगरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जगाउन आवश्यक रहेको बताए । उनीहरूले असुरक्षित गर्भपतनका कारण महिलाहरूले नै जोखिम मोल्नु पर्ने अवस्था रहेको उनीहरूले बताए ।

कार्यक्रममा बोल्दै विराट मेडिकल कलेजका अध्यक्ष तथा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्कीले असुरक्षित रूपमा हुने गरेको गर्भपतनलाई सुरक्षित बनाउनु र सकभर परिवार नियोजनका साधनहरु प्रयोग गरी गर्भपतन गराउनु हुँदैन भन्ने सन्देश दिनु आवश्यक रहेको बताए ।

‘सकभर गर्भपतन गर्न नपरोस् भन्ने मान्यता राख्ने गर्दछु,’ डा. कार्कीले भने, ‘तर पनि अहिले गर्भपतन गराउन आउने गरेका छन् ।’ गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जगाउनुपर्नेमा डा. कार्कीले बताए ।

‘गर्भपतन गराउन पाइन्छ वा पाइँदैन भन्ने कुराको सबैलाई ज्ञान छैन,’ उनले भने, ‘कस्तो अवस्थामा कहाँबाट गर्न पाइन्छ कस्तो अवस्थामा पाइँदैन भन्ने कुराको सबैलाई ज्ञान हुन आवश्यक रहेको छ ।’

यसमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरूले विशेष पहल गर्नुपर्ने उनले बताए । बिपी कोइराला विज्ञान प्रतिष्ठानका प्राडा श्याम लम्सालले जथाभाबी गर्भतपन गराउँदा महिलाको स्वास्थ्यमा असर पर्ने बताए । औषधि खाँदा अरूले थाहा नपाउने, समय थोरै लाग्ने र सहजरूपमा पाइने भएकाले महिलाहरू बढी मेडिकलमा गई अवैधरुपमा गर्भपतन गराउने समस्या बढेको उनले बताए । असुरक्षित गर्भपतनलाई निरुत्साहित गर्न जनचेतना अभिवृद्धि गर्नु जरुरी उनले बताए ।

औषधी व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दीपेन्द्र खड्का, मेरी स्टेप्सका केपी उपाध्याय, प्रदेश १ का स्वास्थ्य मन्त्रालयका नर्सिङ अधिकृत कृतिश्री दाहालले गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जोगाउन आवश्यक रहेको बताए । उनीहरूले इच्छाविपरीत भइहालेमा सुरक्षित तरिकाले गर्भपतन गराउन नेपाल सरकारबाट सूचीकृत स्वास्थ्य संस्था र सूचीकृत स्वास्थ्य कर्मी भएको स्वास्थ्य संस्थामा जानुपर्ने बताए । अनुमति विनाका औषधी अनुमति विनाका औषधी गर्भपतनमा प्रयोग गर्ने गरेको पाइएको छ।

खुला सिमाना भएका कारण नेपालमा प्रयोग हुने औषधीहरू मध्ये अधिकांश गर्भपतनका औषधी अनुमति विनाको रहेको विराटनगरमा आयोजित एक कार्यक्रममा बताइएको हो । अनुमति नपाएका कयौँ प्रकारका औषधि भित्रने गरेको निमनकारी निकायले नै बताउँदै आएको छ। नेपालको औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि फार्मेसी र विभिन्न क्लिनिकबाट लुकाएर बिक्रिवितरण हुँदै आएको चिकित्सकहरू बताउँछन् ।

नेपालमा ५ सयमा पाउने औषधि भारतबाट ५० रुपैयाँमा ल्याएर बिक्री गरिन्छ । दर्ता बिनाका औषधि माटो बराबरका हुने भए पनि त्यही औषधी प्रयोग हुने गरेको सरकारी संयन्त्र बताउँछ । यस्ता औषधिको प्रयोगले कयौँ महिलाको स्वास्थ्यमा गम्भीर समस्या मात्रै नल्याएर अधिक रत्तश्राबका कारण मृत्यु समेत भएको अनुमान चिकित्सक र स्वास्थ्य मन्त्रालयको छ । तर, कुनै अध्ययन नभएकाले यकिन विवरण राज्यले दिन सकेको छैन ।

अहिले नेपालमा ८ प्रकारका औषधी प्रयोगमा अनुमति दिइएको छ तर बजारमा २० प्रकारका भन्दा बढी औषधी विक्री भइरहेको मेरिस्टोप्स् सेन्टरका केपी उपाध्यायले बताए ।

जथाभाबी बिनादर्ताका औषधि बिक्री गर्ने फार्मेसी वा मेडिकल सञ्चालकलाई औषधि दर्ता ऐन २०३५ अनुसार तीन वर्ष कैद सजाय वा बिगोका आधारमा जरिवानाको व्यवस्था गरेको छ । नेपालमा वि.सं. २०५९ मा गर्भपतन सेवाले कानुनी मान्यता पाएपछि बि.स २०६० साल चैत ५ गतेदेखि औजारको प्रयोगबाट गर्भपतन सेवा सुरु भएको हो ।

त्यस्तै २०६६ सालदेखि नेपालमा औषधिको प्रयोग गरेर गर्भपतन गराउन सुरु गरियो । तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष हुने करिब १२ लाख गर्भधारणमध्ये झन्डै आधाले अनिच्छित गर्भधारण गर्ने गरेका छन् । जसमध्ये करिब दुईतिहाइ महिला मात्र गर्भपतनको सहज पहुँचमा रहेको तथ्यांक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *