सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

काठमाडौँ । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । बिहीबार पनि बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार आठ अधिवक्ताले बहस गरेका छन् ।

कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबारबाट बयान शुरु भएको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस बिहीबार पनि नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा बिहीबार पनि अन्य सबै पेसी स्थगित गराएर सन्दीपको मुद्दामा मात्रै बहस भएको थियो । बिहीबारको बहसमा वरिष्ठ अधिवक्ताहरू रमणकुमार श्रेष्ठ, लवकुमार मैनाली, कृष्णप्रसाद सापकोटा तथा सबिता बराल भण्डारी तथा अधिवक्ताहरू सुवास पाठक, सुधार रिजाल, प्रविन सुवेदी र अनुराग सुवेदीले बहस सकेका थिए । थुनछेक बहसमा अझै केही अधिवक्ताहरू बाँकी रहेको काठमाडौँ जिल्ला अदालत स्रोतले बताएको छ ।

बहसका क्रममा प्रतिवादीतर्फका वकिलले पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको भन्दै प्रमाण पेश गरेको दाबी गरेका छन् । प्रतिवादीका तर्फबाट किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको विद्यालयको कागजात पेश गरिएको बताएका छन् । जवाफी बहस सकिएपछि अदालतबाट सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउनेछ ।

अधिवक्ता सापकोटाका अनुसार सन्दीपका तर्फबाट उपस्थित कानुन व्यवसायीले उनीविरुद्ध लगाइएको अभियोग पुष्टि गर्ने कुनै प्रमाण अभियोजनकर्ताले पेस गर्न नसकेको जिकिर गरे । उनीहरूले जाहेरीवालाको जन्मदर्ता, विद्यालयका प्रमाणपत्रहरू पेस गर्दै पीडित भनिएकी नाबालिग नभएको दाबी गरे ।

उनीहरूले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने र धरौटीमा रिहा गरेर मुद्दा अघि बढाउन सकिने तर्क गरेका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को व्यवस्थालाई उल्लेख गर्दै उनीहरूले तीन वर्षभन्दा बढी कैद सजाय हुने सबै कसुरमा अभियुक्तलाई थुनामा राख्ने सो दफाको मनसाय नभएको तर्क समेत गरे ।

सोही संहिताको दफा ६७ को उपदफा १ मा तीन वर्षभन्दा बढी सजाय हुन सक्ने कसुरको अभियोग लागेका अभियुक्तलाई ‘तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भएमा’ वा ‘कसुरदार हो भन्ने विश्वास गर्ने कुनै मनासिब आधार भएमा’ अदालतले त्यस्ता अभियुक्तलाई थुनामा राख्न सक्ने व्यवस्था छ । यही तर्कका आधारमा सन्दीपका कानुन व्यवसायीले उनलाई धरौटीमा रिहा गर्न माग गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *