सन्दीपको बयान- ‘उक्साहटमा फसाइयो’

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोगपत्र दायर गरेको थियो । अभियोग पत्र दायरपछि अदालतमा मंगलबार सन्दीपको बयान भएको हो । सन्दीपसँग बयान लिने काम सकिएकाले आजबाट थुनछेक बहस हुने सन्दीप पक्षका वकिल मुरारी सापकोटाले जानकारी दिए ।

उनले नेपाल प्रहरीले ढिलो गरी अदालतमा उपस्थित गराएको र बीचमा बत्ती गएका कारण बयान लिने काम ढिला सुरु भएको बताए । सन्दीपले बयानका क्रममा आफूप्रति बदनियत र कसैको उक्साहटमा अभियोग लगाएको बयान दिएको उनको भनाई छ । उनले सन्दीपले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गरेको बताए । पीडित किशोरीले अनुसन्धानका क्रममा दिएको विवरण र डाक्टरको समूहमा स्वास्थ्य परीक्षण गराउँदा दिएको विवरण मेल खाएको छैन ।

किशोरीको बयान शङ्कास्पद रहेकाले किशोरीको जन्मकर्तालाई नै प्रमाण मानेर केस अघि बढाउने कुरामा आफूहरूले वकालत गर्ने वकिल सापकोटाले स्पष्ट पारे । ‘ बयान सकियो । थुनछेक बहस हुन पाएन, आजबाट थुनछेकको बहस सुरु हुन्छ । जबरजस्तीकरणको अभियोग मप्रति बदनियतका साथ कसैको उक्साहटमा लगाइएको छ, जुन अभियोग झुटो हो भनेर बयान गर्नुभएको छ र आफ्नो इन्कारी बयानलाई पुष्टि हुने विभिन्न किसिमका प्रमाण पनि पेस गर्नुभएको छ । प्रमाण भनेको पीडित भनेको व्यक्तिको हकमा जन्मदर्ताको विषयवस्तु । जन्मदर्ताका प्रमाण केही भेटिएका छन् । बयान प्रमाणित हुन पाएको छैन । पीडितले अनुसन्धानको क्रममा एउटा कागज दिनुभएको छ । उक्त कागजमा भएको ब्यहोरामा डाक्टरको समूहमा स्वास्थ्य परीक्षण गराउनुभएको छ, त्यहाँ दिनुभएको केस हिष्ट्रीको विषयवस्तु, अलिकति फरक देखिन्छ। त्यो विरोधाभासपूर्ण छ । नागरिकतालाई प्रमाण मान्ने कि जन्मकर्तालाई भन्ने विषयवस्तु नै मुख्य छ,’ वकिल सापकोटाले भने ।

सन्दीपमाथि भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ । पीडित किशोरीले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *