सन्दीपको बयान आजदेखि, १२ वर्ष कैद माग

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत जिल्ला अदालतमा सोमबार मुद्दा दायर भएको हो ।

प्रहरीले कात्तिक ६ गते नै सरकारी वकिलसमक्ष रायसहितको अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार बिदाका कारण एक सातापछि मात्र मुद्दा दायर भएको हो । मुद्दामा अब आजदेखि अभियुक्तको बयानको प्रक्रिया प्रारम्भ हुनेछ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जबर्जस्ती करणीमा सन्दीपलाई १० देखि १२ वर्षसम्मको अधिकतम सजाय माग दाबीसहित मुद्दा दायर भएको बताए । नेउपानेले भने, ‘हामीले मुद्दा दर्ता गरेका छौँ । जबर्जस्ती करणी कसुरमा अधिकतम १२ वर्षसम्म सजायको माग गरिएको छ । क्षतिपूर्ति भराउन माग पनि गरिएको छ । अब अदालतमा बयान र थुनछेकको प्रक्रिया प्रारम्भ हुनेछ ।’

मुद्दामा सन्दीपले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान, काठमाडौँ र नगरकोटको होटलको सीसीटीभी फुटेज, पीडितको स्वास्थ्य जाँच प्रतिवेदनलगायतलाई प्रमाणका रूपमा पेस गरिएको छ । सन्दीपले अधिकार प्राप्त अधिकारीसमक्षको बयानमा जबर्जस्ती करणी भने इन्कार गर्नुभएको छ । अन्य परिस्थितिजन्य प्रमाणलाई पनि आधार लिइएको छ ।

सरकारी वकिलले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) को खण्ड (घ) अनुसारको सजाय दाबी गरेको छ । जसमा १६ वर्षभन्दा बढी र १८ वर्षभन्दा कम उमेर समूहका करणी कसुरमा १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ । पीडित युवतीको उमेर सोही उमेर समूहको रहेकाले सन्दीपलाई कसुर ठहर भएमा कम्तीमा १० वर्ष कैद सजाय हुनेछ । अदालतले अभियोग दाबीअनुसार जरिवाना तथा क्षतिपूर्ति भराउने आदेश दिन सक्ने छ । अभियोगपत्रमा सन्दीपको सम्पत्ति रोक्का आदेशको पनि माग गरिएको छ ।

जिल्ला अदालतमा मङ्गलबारदेखि सन्दीपको बयान हुनेछ। बयान सकिएपछि सरकारी वकिल र प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् । सोपछि अदालतले आदेश सुनाउनेछ । सन्दीपलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन, धरौटीमा राख्ने वा तारेखमा राख्ने थुनछेक आदेश अदालतले गर्नेछ । राष्ट्रिय टिममा कप्तान रहनुभएका लामिछानेले नेपालको प्रतिनिधित्व गर्दै केन्यासँग मैत्रीपूर्ण एकदिवसीय र टी–२० प्रतियोगिता खेल्न जानुभन्दा अघिल्लो रात आफूलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवतीले जाहेरी दिनुभएको थियो । भदौ ५ गतेको घटनामा युवतीले २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिनुभएको थियो । नगरकोट र काठमाडौँको होटलमा आफूलाई लामिछानेले पटक–पटक करणी गरेको आरोप युवतीको थियो ।

बलात्कार आरोप लाग्दा क्यारेबियन प्रिमियर लिग खेल्न नेपालबाहिर रहनुभएका लामिछाने असोज २० गते स्वदेश फर्किएका थिए । स्वदेश फर्कने क्रममा विमानस्थलबाटै लामिछाने पक्राउ गरेका हुन् । प्रहरीले पक्राउ अनुमति भने भदौ २३ गते नै लिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *