झापा-३ मा सिटौला कि लिङ्देन ? यस्तो छ स्थानीय चुनावको मत विश्लेषण

काठमाडौँ । मङ्सिर ४ को चुनावको मिति नजिकिँदै गर्दा देश अहिले चुनावमय भएको छ । उम्मेदवारको अङ्कगणित र लेखाजोखा गरेका चिया पसलदेखि सामाजिक सञ्जाल र मिडियामा सुन्न, देख्न र पढ्न सकिन्छ । यसैबीच हाइप्रोफाइल भिडन्त रहेको एक क्षेत्र हो झापाको क्षेत्र नम्बर ३ । यस क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र नेपाली काँग्रेसका सिनियर नेता कृष्ण प्रसाद सिटौला प्रतिस्पर्धा गर्दै छन् ।
०७४ सालको आम निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभरबाट एक मात्र सिट यसै क्षेत्रमा जितेको थियो । देशभरका उम्मेदवार पराजित हुँदा राप्रपा नेता राजेन्द्र लिङ्देनले झापा- ३ बाट शानदार जित हासिल गरेका थिए । सो निर्वाचनमा राप्रपाले धेरै ठाउँमा नेपाली काँग्रेससँग गठबन्धन गरेपनि झापा-३ मा राप्रपालाई तत्कालीन एमाले र माओवादी केन्द्रको बामगठबन्धनले समर्थन गरेको थियो ।
काँग्रेसका पूर्व महामन्त्री समेत रहेका सिटौलालाई २०७४ को निर्वाचनमा समानुपातिकमा सूचीमा राखिएको थियो । तर सिटौलाले आफू प्रत्यक्ष चुनाव लड्नै भन्दै झापा- ३ बाट चुनावी मैदानमा उत्रिएका थिए । तर उनी लिङ्देनसँग भारी मतान्तरले पराजित भएका थिए ।
लिङदेनले सिटौलालाई कुल १३ हजार ४४३ मतले पराजित गरेका थिए । लिङ्देनले ४४ हजार ६१४ मत प्राप्त गरेका थिए भने सिटौलाले ३१ हजार १७१ मत प्राप्त गरेका थिए ।
त्यसको पाँच वर्षपछि अहिले प्रतिनिधिसभाको चुनावमा फेरि लिङदेन र सिटौला चुनावी मैदानमा छन् । गत चुनावमा लिङ्देनलाई एमाले-माओवादीसहितको बामगठबन्धनको समर्थन थियो भने यो पटक एमालेले समर्थन गरेको छ । त्यस्तै सिटौला भने अहिले काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन् ।
यस पाँच वर्षको अवधिमा लिङदेन राप्रपाको एक्लो निर्वाचित सांसदपछि पार्टीको नेतृत्वमा आएका छन् । उनले कमल थापालाई पराजित गरेर राप्रपाको अध्यक्ष बनेका छन् र अहिलेको चुनावमा राजतन्त्र र हिन्दु धर्म पक्षधरको नेतृत्व गरिरहेका छन् ।
सिटौला भने तुलनात्मक रूपमा काँग्रेसको राजनीतिबाट ओझेल छन् । अहिलेसम्म झापा-३ बाट ६ पटक चुनावी प्रतिस्पर्धा गरिसकेका सिटौलाले दुई पटक मात्र चुनाव जितेका छन् । उनी ०४८ सालदेखि चुनावमा भाग दिँदै आएका छन् । सिटौलाले २०५१ सालमा भएको उपनिर्वाचन र ०७० सालको संविधानसभा सदस्यमा जित हासिल गरेका थिए । यस पटक सिटौला सातौँ पटक चुनावी मैदानमा छन् ।
झापा- ३ को स्थानीय तहको परिणामको विश्लेषण
झापा-३ मा तीन गाउँपालिका, दुई नगरपालिकाका ९ वटा वडा रहेका छन् । जसमध्ये २०७९ को स्थानीय तहको निर्वाचनमा बाह्रदशी गाउँपालिका एमाले, हल्दीबारी गाउँपालिका राप्रपा र कचनकवल गाउँपालिका कांग्रेसले जितेको छ । यसअघिको स्थानीय तहमा हल्दीबारी, कचनकवल गाउँपालिका राप्रपाले र बाह्रदशी गाउँपालिका काँग्रेसले जितेको थियो ।
२०७९ को स्थानीय तहको चुनावमा कांग्रेस २६ हजार ५९९ मत पाएको छ । अघिल्लो स्थानीय तहमा कांग्रेसले २० हजार २२ मत पाएको थियो । यसरी हेर्दा काँग्रेसको ६ हजार ५७७ मत बढेको देखिन्छ ।
कतिपय वडामा गठबन्धनको मत कांग्रेसको मतमा जोडिएको छ भने केही वडामा कांग्रेसको मत पनि माओवादीतिर गएको छ । झापा ३ मा बिर्तामोड नगरपालिकाको वडा नं. १०, भद्रपुर नगरपालिकाको वडा नं. १ देखि ८, कचनकवल गाउँपालिका, हल्दीबारी गाउँपालिका र बाह्रदशी गाउँपालिका पर्छ ।
भद्रपुर नगरपालिकामा नेपाली कांग्रेसले मेयर र कचनकवल गाउँपालिकामा अध्यक्ष जितेको छ। यस क्षेत्रमा रहेका कूल २८ वटा वडामध्ये नेपाली कांग्रेसले सबैभन्दा धेरै १६ वटा वडामा जित हासिल गरेको छ । एमालेले ४, राप्रपाले ५, माओवादी केन्द्रले २ र एउटा वडामा जित हासिल गरेको छ । माओवादी केन्द्र २ वटा वडामा र एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
स्थानीय तहको मत परिणामको आधारमा विश्लेषण गर्दा सिटौलाको पक्ष सुधार भएको देखिन्छ । तर राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने दुवै नेता भएकाले स्थानीय तहको मतलाई मात्र आधार मानेर विश्लेषण गर्दा सही नहुने पनि देखिन्छ ।
कुल १७ उम्मेदवार
झापा-३ मा लिङदेन र सिटौलाबाहेक अन्य १५ उम्मेदवार पनि चुनावी मैदानमा छन् । जसमा जसपाका वीर बहादुर राई, नेपाल मजदुर किसान पार्टीका कृष्ण गोपाल छुस्यावाग, लोकतान्त्रिक समाजवादी पार्टीका देवेन्द्र किशोर ढुंगाना, जनमत पार्टीका भोटलाल राजवंशी, हाम्रो नेपाल पार्टीका योगेन्द्र प्रसाद खनाल, मौलिक जरोकिलो पार्टीका चूडामणि अधिकारी, राप्रपा नेपालका देवी रमण भट्टराई, मंगल नेशनल अर्गनाइजेसनका श्याम बहादुर लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका डम्बर बहादुर लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीका गजेन्द्र लिम्बु, नेपाली काँग्रेस बिपीका भक्ति प्रसाद पनेरु, सचेत नेपाली पार्टीका ओम प्रकाश खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक, स्वतन्त्र उम्मेदवारमा प्रेम प्रसाद खनाल र डम्बर बहादुर गिरी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।









