झापामा ओली र लिङ्देन : गरे एक-अर्काको प्रशंसा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन् । नेकपा एमाले र राप्रपाको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी झापा पुगेका हुन् ।

आज झापा–३ मा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भोट मागेका छन् । ओली र लिङ्देन दुवैको गृहजिल्ला झापामा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको छ । एमाले-राप्रपाको अगुवा कार्यकर्ता भेलामा दुवै अध्यक्षले एक अर्काका लागि भोट मागेका हुन् ।

ओलीले अहिले देशको राजनीति दुई चिरामा बाँडिएको बताए । एउटा कित्तामा राष्ट्रियता पक्षधर र अर्को कित्तामा राष्ट्रविरोधि शक्तिहरू रहेको उनको भनाइ छ । कांग्रेस नेतृत्वको गठबन्धनले देशको इज्जत माटोमा मिलाइदिएको ओलीले आरोप लगाए ।

ओलीले लिङ्देनलाई भोट माग्दै भने, ‘उहाँ सधैँ देश र राष्ट्रियताको पक्षमा उभिनुभयो । त्यसैले यहाँका जनताले उहाँलाई रोज्नुहुनेछ, ‘यो घोषित रुपमा नै विदेशीका लागि कम्फर्टेबल सरकार हो ।’ लिङदेनले कहिल्यै देशहित विरुद्धमा नबोलेको र देशकाविरुद्ध बेइमानी नगरेको ओलीको भनाइ छ ।

यस्तै, लिङ्देनले पनि ओलीको प्रशंसा गर्दै झापाको विकास र निकास गर्ने आफूहरुलाई भोट गर्ने आग्रह गरे । झापाली जनताको चाहाना अनुसार ओलीसँग आफ्नो पार्टीको तालमेल भएको पनि बताए ।

ओलीले आजै क्षेत्र नम्बर ५ को दमकमा आयोजना हुने दुई वटा भेटघाट तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । एमाले पोलिटब्युरो सदस्य एवं झापा ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार ओलीले क्याम्पस मोडमा दमक वडा नम्बर ५, ८ र ९ र ५ का मतदातासँग अपराह्न ४ बजे र दमकस्थित पशुपति मन्दिरमा वडा नम्बर ६ र ७ का मतदातासँग अन्तरक्रिया र सम्बोधन गर्नेछन् ।

शनिवार दमक ३ र ४ का मतदातासँग कृष्ण मन्दिरमा भेटघाट तथा अन्तरक्रिया आयोजना गरिएको छ । यसै गरी कमल गाउँपालिकाको बाह्रघरेमा शनिवार मध्यान्ह मतदाता तथा कार्यकर्ता भेला राखिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *