स्वतन्त्र उम्मेदवार रेग्मी भन्छन्- ‘विराटनगरको पुनर्निर्माण मैले गरेको हो’

पछिल्लो ५ वर्ष जनप्रतिनिधिले कामै गरेनन्

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ५ मा जन्मिएका व्यक्ति हुन् गोपाल रेग्मी । २०३८ सालमा नेपाल विद्यार्थी संघको सदस्य भएका रेग्मी २०४० सालमा नेपाल विद्यार्थी संघको अधिवेशनबाट जिल्ला उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए । त्यसयता नियमित विद्यार्थी राजनीतिबाट अघि बढेका उनी नेपाली कांग्रेसको चौधौँ महाधिवेशन तथा प्रथम प्रदेश अधिवेशनबाट प्रदेश सदस्यमा निर्वाचित भएका थिए । उनले अहिले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

२०५१ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका उनले पहिलो पटक २०६६ सालमा तत्कालीन विराटनगर उपमहानगरपालिकाको कार्यकारी अधिकृत भएर काम गर्ने मौका पाए । पहिलो पटक रेग्मी ६ महिनामै सरुवा भए । त्यसपछि दोस्रो पटक २०६७ सालमा फेरी विराटनगर आए उनले त्यो समयमा पनि पुरा कार्यकाल काम गर्न पाएनन् । ९ महिना मात्र काम गर्ने अवसर पाए । २०६८ सालमा उनी फेरी विराटनगरमा तेस्रो पटक सरुवा भए । यही समयमा रेग्मीले आफ्नो योजना अनुसार विराटनगरलाई बनाउने अभियानको थालनी गरे ।

त्यसपछि विराटनगरको पुनर्निर्माण काम शुरु भयो । यही बिचमा उनले विराटनगरको डिएसपी रोड, पुष्पलाल चोक-तिनपैनी सडक र बसपार्क निर्माणको कामलाई अघि बढाउने योजना सहितका सम्झौताहरू गरे । काम गर्दै गर्दा उनको फेरी सरुवा भयो । विराटनगरको विकासमा केही गरौँ भन्ने भावना बोकेर आएका उनको १३ महिनामा नै सरुवा भएपछि काम गर्ने मनस्थितिमा केही शिथिलता आयो ।

सरकारले गरेको सरुवालाई सहज स्वीकार गरे र सरुवा भएको ठाउँमा गए । उनको फेरी चौथो पटक विराटनगरमा नै सरुवा भयो । त्यो बेला २०७० सालको संविधान सभाको निर्वाचन सकिएको बेला थियो । उनले यो बेला भने आफूले पाएको अधिकारको प्रयोग गरे र विराटनगरलाई नमुना बनाउनु पर्छ भन्ने योजनाका साथ उनी बढे ।

तेस्रो पटक सरुवा भएर आएको बेला तोडेको डिएसपी रोडको निर्माणको काम चौथो प्रयासमा शुरु गरे । पुष्पलाल चोकदेखि तीनपैनी हुँदै बोर्डरसम्मको भित्री सडकको निर्माणका कामलाई पहिलो प्राथमिकतामा राख्दै मझौला सहरको एकीकृत वातावरणीय सुधार आयोजना सञ्चालनमा ल्याएर र विराटनगरको भित्री सडकको नाली, ढल, सडकको विस्तार र निर्माणको थालनी गरे । यो बिचमा उनले करिब ३५० किलो मिटर भित्री सडकहरू विस्तार, फुटपाथ निर्माणको कामको नेतृत्व लिएको रेग्मीले जानकारी दिए ।

अस्तव्यस्त रहेको विराटनगरको बसपार्कलाई अहिलेको अवस्थामा ल्याउने काममा रेग्मीको योगदान रहेको छ। हिलोका कारण स्थानीयले विरोध गरेर धान रोप्ने गरेको बसपार्कलाई नमुना बसपार्क बनाउनु पर्छ भनेर नगर विकास कोषसँग सम्झौता गरी बसपार्क निर्माण गर्नु पर्छ भनेर प्रक्रिया अघि बढाएका थिए । विराटनगरलाई नमुना बनाउने र सडक बिस्तार गर्ने क्रममा त्यो बेला करिब १५ वटा बढी मुद्दा आफूमाथि लागेको रेग्मी बताउँछन् ।

विश्रान्तिघाटको कथा
२०५४ सालमा विराटनगर उपमहानगरपालिकाका तत्कालीन मेयर रमेशचन्द्र पौडेलको पालामा विश्रान्ति घाट व्यवस्थित गर्ने अभियानको थालनी भएको थियो । त्यसलाई व्यवस्थित गर्न मारवाडी सेवा समितिसँग सम्झौता भएको थियो । २०६८ सालमा उनै रेग्मी सरुवा भएर आएपछि नगरपालिकाको तर्फबाट गर्नु पर्ने कामहरू, सडक, बिद्युत्, पानी लगायतका काम पुरा भएपछि विश्रान्तिघाट निर्माणको कामले गति लिएको उनी सम्झन्छन् ।

तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम बन्नुमा पनि रेग्मीको भूमिका छ । सञ्चारग्रामलाई विराटनगरमा जग बसाउने काम पनि उनै रेग्मीकै पहलमा भएको उनले बताए । उनी विराटनगर उपमहानगरपालिकाको कार्यकारी अधिकृतको रूपमा कार्यरत रहेको बेला रेग्मीको पहलमा सञ्चार मन्त्रालयसँग समन्वय गरेर रेडियो नेपाल सेवा विकास समिति र विराटनगर उपमहानगरपालिकाका बिचमा द्विपक्षीय सम्झौता भएको थियो । त्यही सम्झौतामा टेकेर अहिले प्रदेश १ कै नमुना सञ्चारग्रामको निर्माणको कार्य पुरा भएको छ ।

दीर्घकालीन सोचका साथ अघि बढ्ने क्षमता रहेका रेग्मीले विराटनगरको विकासका लागि धेरै योजनाहरू अघि सारेको बताए । त्यस्तै विराटनगर ७ मा व्यापार संघसँगको सहकार्यमा ईको फाउन्टेन पार्क निर्माण गराएको दाबी गरेका रेग्मीले वडा नम्बर १२ को सामुदायिक भवन निर्माणको नेतृत्व लिएको बताए । उनको पहलमा बनेको सामुदायिक भवन अहिले स्थानीयको लागि निक्कै उपयोगी भएको छ ।

जोगवनीदेखि विराटनगर बजारसम्म आउने भित्री बाटो सहायक सडकको अवधारणा ल्याएर निर्णय गराई सहरी विकास कार्यालय मार्फत कार्यान्वयन गराएको उनी सम्झन्छन् । सार्वजनिक शौचालय नभएको विराटनगरमा २०७२ सालमा सार्वजनिक शौचालय निर्माण गर्नु पर्छ भनेर पुष्पलाल चोक, हाटखोला, विराटनगर बजारको सी प्लट, कोशी अस्पताल, विष्णुमाया पुस्तकालय लगायतको क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गराएका थिए ।

सामाजिक सेवा क्षेत्रमा योगदानमा पनि उनले काम गरेको सुनाए । उनले वर्षको २ पटक जेष्ठ नागरिकका लागि मोतियाविन्दुको निःशुल्क उपचार, ९० वर्ष कटेका जेष्ठ नागरिकका लागि नेपाल सरकारले सामाजिक सुरक्षा भत्ताको अतिरिक्त प्रत्येक महिना थप एक हजार उपलब्ध गराउने गरिएको थियो । रेग्मीको नेतृत्वमा पहिलो बालमैत्री उपमहानगरपालिका विराटनगरलाई घोषणा गराई बालमैत्री स्थानीय शासनको प्रारम्भ गरेको उनले बताए ।

चुनावी सरगर्मी
मोरङ क्षेत्र नम्बर ६(२) बाट उम्मेदवारी दिएका रेग्मीले नेपाली कांग्रेस र एमाले दुवैको मत पाउने बताउँदै आएका छन् । रेग्मीको उम्मेदवारीले नेपाली कांग्रेसभित्र तरङ्ग ल्याएको छ । नेपाली कांग्रेसबाट भने बहालवाला प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की उम्मेदवार बनेका छन् । त्यस्तै नेकपा एमालेको तर्फबाट युवा नेता पर्शुराम बस्नेतले उम्मेदवारी दिएर चुनावी प्रचारमा छन् ।

उनले आफ्नो यो क्षेत्रमा जीत सुनिश्चित रहेको बताउँदै आएका छन् । यही क्षेत्रबाट नेपाली कांग्रेसका दुई जना बागी छन् । यद्यपि रेग्मीले आफूलाई स्वतन्त्र दाबी गरेका छन् । जसले गर्दा केदार कार्कीलाई निक्कै सकस रहेको कांग्रेसीजनले भन्दै आएका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार क्षेत्र ६ प्रदेश (२) को उम्मेदवार बनेका केदार कार्की भने रेग्मीलाई आफैँले आफ्नो असन्तुष्टि मत एमालेमा जानबाट रोक्न उम्मेदवारी दिन लगाएको बताउँदै आएका छन् । उनले आफ्नो असन्तुष्टि मत संरक्षणको लागि गोपाल रेग्मीलाई उठाएको उनले मकालुखबरलाई जानकारी दिए ।

  • रेग्मीसँग मकालुखबरकर्मी सुमन सुस्केराले गरेको कुराकानीमा आधारित
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *