९० वर्षीया गङ्गादेवी : तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने संस्कृति धान्दै

पाल्पा । तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने प्रचलन सुन्दा अहिले अनौठो लाग्दछ । पछिल्ला वर्षमा यो चलन गाउँघरमा हराइसकेको छ ।

पाल्पा नगरपालिका-६ मिलनचोककी ९० वर्षीया गङ्गादेवी पराजुलीले भने पूरानो परम्परालाई धान्दै आएकी छिन् । उनि तातोपानीधाम गौशालामा रहेका गाईलाई हरियो धान काटेर खुवाउने संस्कृति जोगाउने अभ्यासमा छिन् ।

पहिलादेखि नै चलिआएको परम्परा हिजोआज हराउन पुग्दा पूरानो संस्कार – संस्कृतिलाई अवलम्वन गर्दै नयाँ पुस्तामा जानकारी गराउन धान खुवाउने कार्यक्रम गरेको ज्येष्ठ नागरिक पराजुली बताउछिन् । उनले करिव तीन रोपनी जग्गामा लगाइएको धान काटेर गौशालमा रहेका १३५ गाईलाइ खुवाईन् ।

“हाम्रा पालामा तिहारमा गाईलाई खुवाउन भनेर खेतमा छुट्टै धान रोपिन्थ्यो, हिजोआज त यस्तो चलन कतै छैन, हराउँदै गयो, नातीनातीनालाई घरमा सुनाउँदा आश्चर्य मान्छन्,” पराजुली भन्छिन्,-“नयाँ पुस्ताले पूरानो चलन पनि सिकुन् भन्नका लागि गौशालामा म आफै पुगेर गाईलाई धान खुवाएपछि आत्मसन्तुष्टि मिलेको छ” ।

पराजुली भन्छिन्, रिवार,आफन्त, स्थानीयको साथमा पूजाआजा गरी गाईलाई हरियो धान, चोकर, दाना, सातु खुवाउन पाउँदा आनन्द लागेको छ । आश्चर्य मान्दै धान खुवाउने कार्यक्रममा आफन्त, छरछिमेकको उत्साहजनक सहभागीता रहेको थियो ।

वैदिक परम्परा अनुसार गौमातालाई खुशी बनाउन मुख्य खेती धान खुवाएमा सबै देवीदेवता खुशी हुने, गाईको अङ्गमा ३३ कोटी देवताले बास गर्ने भन्ने धार्मिक कथन छ । गौमातालाई खुशी पार्न तिहारका बेला झुल्दै गरेको हरियो धान खुवाउने परम्परा रहेको पण्डित दिनानाथ भण्डारी बताउछन् ।

“लक्ष्मीका रुपमा पुजिने गाईलाई तिहारमा पूजा गरी खेतमा लगाइएको हरियो धान खुवाउने परम्परा छ”, उनि भन्छन्,-“यसो गरेमा कामधेनु गाई खुशी हुन्छिन्, हामीले मागेको कुरा पूरा हुने, धन सम्पत्ति, सुख, शान्ति प्राप्ती हुन्छ भन्ने धार्मिक विश्वास छ” ।

पहिला धान फल्दै गरेको खेतमा गाई लगेर खुवाउने चलन थियो । हिजोआज खेतबारीमा अरुका बाली नोक्सान गर्ने भएपछि काटेर गौशालामा लगेर खुवाउने गरिएको पण्डित भण्डारी बताउछन् । यसरी हरियो धान काटेर तिहारमा खुवाउने पूरानो परम्परा भने गाउँघरमा हराइसकेको छ । यो परम्परा देखेर नयाँ पुस्तालाई अनौठो लाग्दछ । यस कार्यले गाउँघरमा हराउँदै गएको पूरानो संस्कृती ब्युताउने र अबका सन्ततीले केही नयाँ कुरा सिक्ने अवसर पाएको रामपुरका पाका पत्रकार वासुदेव ढकाल बताउछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =