को-को छन् बागमती प्रदेशको मुख्यमन्त्री बन्‍ने दौडमा ?

काठमाडौँ । २०७४ सालको चुनावपछि पाँच वर्षको अवधिमा बागमती प्रदेश सरकारमा तीन जना मुख्यमन्त्री बने । नेकपाको सरकार हुँदा नेकपा एमालेबाट डोरमणि पौडेल मुख्यमन्त्री भए । उनले तीन वर्ष मुख्यमन्त्रीको बागडोर चलाए । त्यसपछि नेकपामा विभाजन आयो । एमाले र माओवादी केन्द्रलाई अदालतको आदेशले आ–आफ्नो घरमा फर्काइदियो ।

डोरमणिपछि एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनिन् । उनी छोटो समय मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिन् । एमालेभित्र पनि विभाजन आएपछि एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन् । हालसम्म पाण्डेले नै मुख्यमन्त्रीको बागडोर लिइरहेका छन् ।
मंसिर ४ गतेको चुनावपछि मुख्यमन्त्री को बन्ला रु भन्ने विषयले यतिबेला चर्चा पाइरहेको छ । मुख्यमन्त्री हुनको लागि प्रतिनिधिसभाको टिकट छोडेर प्रदेशमा उठिरहेका छन् । नेपाली कांग्रेसबाट इन्द्रबहादु्र बानियाँ, नेकपा एमालेबाट देवी ज्ञवाली र नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल मुख्यमन्त्रीको प्रमुख दावेदारमा देखिएका उनीनिकट नेताहरु बताउँछन् ।

नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने दौडका मुख्य प्रतिस्पर्धी बनेका उनीनिकटका नेताहरुको भनाइ छ । नेता बानियाँ अहिले नै मुख्यमन्त्री भइसक्नुपर्ने हो, उनी निकट नेताका अनुसार कांग्रेस र एकीकृत समाजवादीबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको थियो, तर केन्द्रमा शीर्ष नेताले आफूलाई केही नभनेको भन्दै पाण्डे मुख्यमन्त्री बनिरहेका छन् ।

नेकपा एमालेको सरकार ढलेपछि समाजवादी र कांग्रेसबीच आठ–आठ महिना कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । मुख्यमन्त्री पाण्डेले आठ महिना सरकार चलाएपछि बानियाँले मुख्यमन्त्रीमा दावीसमेत गरे । सहमतिपत्र सार्वजनिक पनि भयो, तर पाण्डेले पद छाड्न मानेनन् । प्रदेशमा सत्ता गठबन्धन टुट्ने भएपछि शीर्ष नेतृत्वबाटै पाण्डेको सरकार नै यथास्थितिमा राख्ने सहमति भएपछि बानियाँ मुख्यमन्त्रीको दावीबाट व्याक भएका थिए ।

बानियाँलाई मुख्यमन्त्री बनाउनकै लागि कांग्रेसले प्रदेशसभातर्फ उम्मेदवार बनाएको हो । बानियाँ मकवानपुर–२ ९ख० बाटै प्रदेशसभा सदस्य पदका लागि मैदानमा छन् । उनी मकवानपुर–१ बाट २०७० मा भएको दोस्रो संविधानसभा सदस्य पदमा चुनाव जितेर सोही कार्यकालमा संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्यन र गृह राज्यमन्त्रीसमेत बनिसकेका नेता हुन् ।

नेकपा एमालेका देवी ज्ञवाली पनि मुख्यमन्त्रीको दावेदार रहेका उनीनिकटका नेता बताउँछन् । नेकपा एमालेका पोलिटव्युरो सदस्य र चितवन जिल्ला इन्चार्ज रहेका ज्ञवाली एमालेको हालै सौराहामा सम्पन्न महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका नेता हुन् ।

उनी चितवन २ ‘ख’बाट चुनावी मैदानमा उत्रेका छन् । २०७४ सालमा भरतपुर महानगरपालिकामा मेयर पदका प्रत्यासी रहेका ज्ञवालीलाई यो पटक चितवनबाट प्रदेशसभामा जिताएर मुख्यमन्त्रीम अघि सार्ने चर्चा छ । भरतपुर महानगरको ‘मतपत्र काण्ड’ पछि झिनो मतले पराजित भएका ज्ञवालीको क्षेत्र यसअघि एमालेले जित्दै आएको ठाउँ हो । ज्ञवालीले आफ्नो क्षेत्रमा जित्ने र एमालेको बहुमत आएको खण्डमा उनी मुख्यमन्त्रीमा दावी गर्ने मनसायमा रहेका चितवनका एक एमाले नेताले बताए ।

यस्तै, बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रहेका माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल पनि बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा रहेका उनीनिकट नेताहरु बताउँछन् । प्रदेश सरकार गठन भएदेखि नै उनी बागमती प्रदेश सरकार रहिरहेका छन् ।

उनी एमाले–माओवादी केन्द्रको गठबन्धनमा बनेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री थिए। एकीकृत समाजवादीका राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा आर्थिक मामिला तथा कानुन मन्त्री बने । उनी बागमती प्रदेशको सरकारबाट यो पाँच वर्षको अवधिमा जम्मा ११ महिनामात्र बाहिर बस्न परेको छ ।

खासमा उनी प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारको आकांक्षी भए पनि पार्टीले उनलाई भोलि मुख्यमन्त्री पनि बन्नसक्ने देखेर धादिङ–१ ख बाट पुनः प्रदेशसभामा उम्मेदवार बनाएको उनीनिकटका एक नेताले भने ।

संघीय राजधानीसमेत रहेको यो प्रदेशमा प्रत्यक्षतर्फ ६६ सिट छन् । यस्तै समानुपातिकबाट ४४ जना छानिनेछन् । जम्मा १ सय १० सदस्यीय प्रदेशसभाले आगामी निर्वाचनपछि चौथो मुख्यमन्त्री चयन गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *