तिहारमा कस्ता खानेकुरा खाने ?

काठमाडौँ । तिहारमा बढि चिल्लो पदार्थ खाएर मानिसहरु बिरामी परेका खबरहरु आउँने गरेका छन । चिकित्सकका अनुसार शाकाहारीले घ्यू,तेल र मिठाइहरू तिहारमा धेरै खान्छन् भने मासु खानेहरूले अरू खानेकुराभन्दा मासुलाई नै बढी प्राथमिकता दिने गर्छन् । अन्य समयमाभन्दा चाडपर्वमा खसीको मासु बढी खाने गर्छन्। कतिपयले रक्सी पनि खान्छन् । तिहारमा भाइमसलाको प्रयोग पनि बढी हुन्छ। मासु,चिल्लो, गुलियो र मसलेदार खानाको प्रयोग कम गर्नुपर्छ। खाँदै नखाने भन्ने पनि हुँदैन ।
बिरामीले भने चाडपर्वमा अलि बढी नै ध्यान दिनुपर्छ। सुगर,प्रेसर र मुटुको बिरामीहरूले चिल्लो,नुनिलो र मसलेदार खाना खानु हुँदैन । त्यसैले यसलाई कम गर्नुपर्छ । प्रेसर र मुटुका रोगीले नुनको प्रयोग कम गर्नुपर्छ अनि सुगरका बिरामीले चिनी हालेको खाना खानु हुँदैन।

बच्चाहरूको हकमा पनि खाने कुरामा अलि बढी होसियारी अपनाउनुपर्छ। यो बेलामा उनीहरूले पटका पड्काउने,लगायतका काम गर्छन् । यस्ता चिजहरूमा विष सरहका एसीडहरू हुन्छन् । त्यही हातले खाना खाइरहेका हुन्छन्। उनीहरूको सरसफाईमा अझै बढी ध्यान दिनुपर्छ।
तिहारमा सेलरोटी,मिठाई लगायतका गुलियो र चिल्लो मिसाइएको खानेकुरा खाने प्रचलन धेरै छ । सकभर घ्यू र परम्परागत तेलहरूमा पकाएको खानेकुरा खानु हुँदैन । संभव भएसम्म सनफ्ल्वार, मकै र भट्टमासको तेलको प्रयोग गर्नुपर्छ । घ्यूमा ‘सेचुरेटेड फ्याट’ बढी हुन्छ। घ्यूले शक्ति बढी दिन्छ तर दिर्घकालीन रुपमा यसले हानी पुर्याउँछ। साधारण मानिसलाईभन्दा मुटु, प्रेसर र सुगरको रोगीलाई यसले हानी गर्छ।
भाई मसला फाइदाजनक
काजु, बदाम, नरिवल, किसमिस, बदाम लगायतका खानेकुराहरूमा शरीरका लागि चाहिने भिटामिन, मिनरलस लगायतका तत्वहरू पाइन्छ ।तिहारको बेलामा प्रयोग हुने भाई मसला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। भाई मसलामा केही मात्रामा चिल्लो पदार्थ हुने भएपनि समग्रमा यसले स्वास्थ्यलाई हानी गर्दैन । सेलरोटी मासु लगायतका खानेकुरा भन्दा बढी भाईमसला स्वास्थ्यका लागि उपयुक्त छ।

चाडपर्वको बेलामा हरियो तरकारी र फलफूल बढी खानुपर्छ । चाडपर्वको ‘मूडमा’ हुँदा नियमित खाने औषधि पनि छोड्ने गरिन्छ । यो एकदमै गलत हो । यसले गर्दा कतिपय समस्याहरू निम्तिने गरेका छन् । चाडपर्वको बेलामा दीर्घ रोगीहरूले औषधिलाई छोड्न हुँदैन। एक आपसमा भेट्दा मिठाई मासुको सट्टामा फलफूल दिने चलन बसाल्नुपर्छ। यसलाई भारत र अमेरीकामा अभियानकै रुपमा पनि चलाइएको थियो। चाडपर्वको बेलामा व्यायाम बढी गर्नुपर्छ । आराम गर्ने, परिवार मिलेर रमाइलो गर्ने त राम्रो हो तर योसँगै स्वास्थ्यलाई पनि ध्यान दिन जरूरी छ। शारीरिक गतिविधिमा पनि ध्यान दिनुपर्छ।








