अस्ताइन् ‘दानकी देवी’ मैयाँदेवी

चितवन। दानकी देवी मैयाँदेवी श्रेष्ठको निधन भएको छ । पटकपटक सांसद भइसकेकी मैयादेवी श्रेष्ठको ९५ वर्षका उमेरमा आइतबार आफ्नै निवास भरतपुरमा निधन भएको उनका धर्मपुत्र टङ्कनाथ पौडेलले जानकारी दिए ।
नेपाली कांग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ पछिल्लो समय निमोनियाबाट अस्वस्थ भएकी थिइन् । उनको चितवन मेडिकल कलेजको अस्पतालमा उपचारपछि घरमै स्वास्थ्यकर्मीको टिमले उपचार गरिरहेको थियो । अविवाहितसमेत रहेकी मैयाँदेवीले चितवनलगायत देशभर एक अर्ब बराबर दान गरेकी छन् ।
नेपाल आमा सम्मानबाट सम्मानित पूर्वसांसद् श्रेष्ठ भरतपुरस्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक हुन् । ध विसं १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा जन्मेकी श्रेष्ठको आजै अन्त्येष्टि हुने नेपाली कांग्रेसका सभापति राजेश्वर खनालले बताए ।
आइतबार बिहान ९ः३० बजेबाट १०ः३० बजेसम्म उनको पार्थिव शरीरलाई कांग्रेसको पार्टी कार्यालय कमलनगरमा राखिने, त्यसपछि मैयाँदेवी कन्या कलेजमा राखिने र आज दिउँसो १ बजे देवघाटमा अन्तिम संस्कार गरिने सभापति खनालले जानकारी दिए ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटमार्फत मैयाँदेवीको निधनको खबरले स्तब्ध भएको बताएका छन्।








