चैनपुर भीरमा भीमेश्वर गुफा : जोखिम मोलेरै पुग्छन् भक्तजन, बाटो कहिले बन्छ सरकार ?

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–७ मा पर्छ भीमेश्वर गुफा । धार्मिक तथा पर्यटकीय स्थल भीमेश्वर गुफा पहाडको भीरमा अवस्थित छ । त्यहाँ पुग्न चैनपुर बजारबाट २५ मिनेट पैदल यात्रा गर्नुपर्दछ । बेला बखत त्यहाँ भक्तजनको भीड लाग्ने गर्छ तर विडम्बनाको कुरा त्यहाँ पुग्ने प्रवेशद्वार र पदमार्ग अझै बनेको छैन ।

धार्मिक किंवदन्तीअनुसार महादेवले भस्मासुरलाई दिएको वरदान मोचन गर्ने क्रममा महादेव विभिन्न गुफामा वास गरेका थिए । त्यही क्रममा भीमेश्वर गुफामा पनि महादेवको वास रहेको किंवदन्ती छ ।

उनीहरूका अनुसार धेरै पहिले चैनपुरका एक किसानले महादेव प्रकट भएको सपना देखेका थिए । भोलिपल्ट गएर हेर्दा गुफामा साक्षात महादेवको दर्शन पाएपछि त्यहाँ पूजा गर्न थालिएको उनीहरूको भनाइ छ ।

धार्मिक र पर्यटकीय रुपमा पनि महत्त्वपूर्ण भीमेश्वर गुफा संरक्षण र संवरद्धनका लागि स्थानीय सरकार र नगरपालिकामा निवेदन पेश गरे पनि सुनुवाइ हुन नसकेको चैनपुरका स्थानीय बासिन्दा  दिनेश अधिकारी बताउँछन् । साथै स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले भीमेश्वर गुफालाई बेवास्ता गरेर यतिका वर्षसम्म पनि गुफाका लागि बजेट नल्याएकोमा दुखेसो पोख्छन् ।

भीमेश्वरलाई भाकल गरे रोग, विमारी निको हुने आस्था चैनपुरबासीको छ । त्यस कारण भीरको बाटो ज्यानै जोखिममा राखेर भक्तजनहरू पूजा आरधना गर्न त्यहाँ पुग्ने गरेका छन् ।

दिनेशका अनुसार गुफा भीरमा छ, त्यहाँ पुग्ने सडक, बाटो बनेका छैनन् । उनले सरकारलाई भीमेश्वर गुफासम्म पुग्न बाटो बनाई दिन र बाटोको वरपर रिलिङ (बार) राखिदिन अनुरोध गरेका छन् । वर्षैपिच्छे शिवरात्रिका दिन भीमेश्वर गुफामा मेला लगाएर पर्यटन विकास गर्ने उनको ठुलो चाहना छ ।

धार्मिक आस्था जोडिएको भीमेश्वर गुफा पर्यटकीय द्वष्टिकोणले पनि एकदमै महत्त्वपूर्ण छ । त्यस्तो स्थलको संरक्षण र संवर्द्धन गर्न सरकारको महत्त्वपूर्ण भूमिका रहन्छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *