बन्द हुने अवस्थामा सामुदायिक विद्यालय !

ओखलढुङ्गा । ओखलढुङ्गा वर्णालु गाउँपालिका–१ मा श्री सिंहदेवी आधारभूत विद्यालय आवस्थित छ । उक्त विद्यालय वि.सं २०१९ मा स्थापित भएको थियो । कुनै समय त्यहाँ धेरै विद्यार्थी पढ्न आउँथे । डाँडाँबाट घण्टी बजेपछि सबै विद्यार्थी हतार हतार विद्यालयमा प्रवेश गर्थे । अनि राष्ट्रिय गीत गाउँथे– ‘हटी होइन, डटी लड्ने नेपालीको बानी हुन्छ, कहिल्यै नझुक्ने शीर उठेको स्वाभिमानी नेपानी हुन्छ । ’

हाल उक्त विद्यालयमा ५/६ जना विद्यार्थी मात्र अध्ययनरत छन् । विद्यार्थी संख्या अत्यन्त न्यून भएकै कारण हाल उक्त सरकारी विद्यालय बन्दहुने अवस्थामा पुगेको छ ।

विद्यालयमा विद्यार्थी नभएपछि शिक्षकको संख्या पनि कम छ । स्थानीयका अनुसार शिक्षकहरू ३/४ मात्र जना छन् । विद्यालयको कक्षाकोठा अवलोकन गर्दा काठका बेन्चहरू जीर्ण, भग्नावषेश र बन्द अवस्थामा देखिन्छन् । कुनै कक्षाकोठामा सुकुल ओछ्याइएको छ भने कुनै कक्षाकोठामा २/४ वटा बेन्च मात्र ठडिएको छ । त्यहाँ चकले कोरिएको मैलो ‘ब्ल्याक बोर्ड’ टाँसिएको छ ।

विद्यालयका अध्यक्ष अक्कलेबहादुर राईका अनुसार गाउँमा बालबालिका नभएर नै विद्यार्थी संख्या कम भएको हो । भन्छन् ‘यहाँ गरीबका छोरा, छोरी मात्र पढ्न आउँछन् । धनी र हुने खानेले छोरा छोरीलाई सहरमा पढाउँछन् । यतै पढाए पनि निजी स्कुल स्कुल उनीहरूको पहिलो रोजाइमा पर्छ ।’

गाउँमा सरकारी विद्यालयलाई निजी विद्यालयले प्रतिस्थापन गरीरहेको छ । त्यहाँ सामुदायिक विद्यालयले अझै निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सकिरहेको छैन । अध्यक्षका अनुसार गाउँमा मानिस कम बसोबास गर्छन् र भएका मानिसहरू पनि आफ्ना छोरा छोरीलाई सरकारीमा विद्यालयमा पढाउन चाहँदैनन् । निजी विद्यालयमै पढाउँछन् ।

भन्छन्– ‘आजभोली सबैले आफ्ना छोरा छोरी लाई बोेर्डिङमा पढाउँछन् । विद्यार्थी कम हुने नै भयो ।’ एक स्थानीय पद्माबहादुर राईले पनि त्यस्तै भन्छन्– ‘अहिले कसले आफ्नो छोराछारीलाई सरकारीमा पढाउनु र सकेसम्म सबैले बोर्डिङमा पढाउँछन् । त्यसकारण पनि सरकारी विद्यालय सुक्दै गएको छ ।’

गाउँमा पातलो बस्तिका कारण विद्यालयको विद्यार्थी  संख्या कम भएको भनिए पनि करिब १ घण्टाको दूरी भएको रुम्जाटारमा भएको ‘सन राइज माध्यमिक विद्यालय’ मा भने करीब पाँच देखि ५ सयसम्म विद्यार्थी पढ्न आउँछन् ।

वर्णालुकै विद्यार्थी पनि त्यहाँ जान्छन् । सो विद्यालय पनि सामुदायिक विद्यालय हो । त्यसकारण गाउँमा बालबालिकाको संख्या कम भएर मात्र होइन, प्रतिस्पर्धामा उत्रन नसक्नु कारण पनि विद्यार्थीको संख्या घटेको देखिन्छ । त्यस्तै अवस्था भइरह्यो भने गाउँका सरकारी विद्यालय बन्द हुने अवस्थामा पुग्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *