लोडसेडिङकाे अन्त्य कुलमानले गरे कि माओवादीले ?  

काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले निर्माण गरेको भिडियो प्रचार सामग्री अहिले चर्चाको विषय बनेको छ ।

उक्त प्रचारात्मक भिडियोमा लोडसेडिङका कारण विद्यार्थीले उज्यालोमा पढ्न नपाएको र माओवादीले लोडसेडिङ हटाएपछि विद्यार्थीले पढाइमा प्रगति गरेको भन्ने देखाइएको छ । माओवादीले नै देशमा अँध्यारो युगको अन्त्य गरेर उज्यालो युग ल्याएको र मंसिर ४ गते प्रचण्डलाई र माओवादीलाई भोट हाल्न आग्रह गरिएको छ । यही नै अहिले नेपालको राजनीति र ऊर्जा क्षेत्रमा चासो, आलोचना र टिप्पणीको विषय बनेको छ ।

देशबाट लोडसेडिङ अन्त्य हुनुको पूरापुर श्रेय माओवादी र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लैले लिनु देश र जनतासामु बोलिएको सफेद झुटबाहेक अरु केही हुन सक्दैन ।

देशबाट लोडसेडिङ अन्त्य गर्ने कार्यमा मुख्य र एकल पात्र भनेकै कुलमान घिसिङ हुन् । माओवादीले जम्माजम्मी गरेको के मात्रै हो भने नेपाल विद्युत् प्राधिकरणका ११ औँ तहका कर्मचारी(इन्जिनियर) अर्थात् निर्देशक कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाउने काम । माओवादीले बाहिरबाट कोही व्यक्तिलाई टपक्क टिपेर ल्याएर प्राधिकरणको जिम्मा दिएर लोडसेडिङ अन्त्य भएको होइन ।

देशमा रहेको चरम लोडसेडिङ अन्त्य गर्नैका लागि माओवादीले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थिए । यो त राजनीतिक दलको भागबन्डाको राजनीतिलाई अघि बढाउने क्रममा माओवादी समर्थित कुलमानले प्राधिकरणमा कार्यकारी निर्देशक हुन पाएका थिए । अर्कोतर्फ, त्यसअघि नेकपा एमालेबाट ऊर्जामन्त्री बनेकी राधा ज्ञवालीले कुलमानलाई चिलिमे जलविद्युत् आयोजनाको जिम्मेवारीबाट मुक्त गरेपछि एमालेकी मन्त्रीसँग कुलमानकाे टसल बढेकाे थियाे । यही माैकामा प्रतिस्पर्धात्मक राजनीतिका कारण माओवादीले आफू समर्थित निर्देशकलाई संरक्षण मात्रै गरेको थियो ।

यद्यपि, तत्कालीन प्रधानमन्त्री प्रचण्ड र ऊर्जामन्त्री जनार्दन शर्माले २०७३ भदौमा कुलमानलाई संरक्षण गर्दै प्राधिकरणको कार्यकारी निर्देशक बनाएपछि कुलमानकै प्राविधिक सुझबुझ र अनुभवले पहिलो पटक त्यसै वर्षको लक्ष्मीपूजाको रात काठमाडौँ उपत्यकाको लोडसेडिङ अन्त्यको सुरुवात भएको थियो । यसलाई विस्तार गर्दै क्रमशः मुख्य सहरहरू हुँदै देशभरबाट लोडसेडिङ अन्त्य गर्न कुलमान सफल भएका थिए ।

अर्कोतर्फ लोडसेडिङ अन्त्यका लागि कुलमानलाई परिस्थितिसमेत अनुकूल बनेको थियो । अर्थात्, निकै लामो समयदेखि निर्माणमा गएर सम्पन्न हुन नसकेका चमेलिया, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली थ्री ए, माथिल्लो तामाकोसी जस्ता जलविद्युत् आयोजना पनि सम्पन्न भएर सञ्चालनमा आए ।

निजी क्षेत्रले वर्षौंअघि देखि निर्माण अघि बढाएका आयोजना समेत सम्पन्न भएर विद्युत् उत्पादन सुरु गरे । त्यस्तै, कतिपय प्रसारण र वितरण लाइनसमेत निर्माण सम्पन्न भई सञ्चालनमा आए । अर्को महत्त्वपूर्ण कुरा ४०० केभि क्षमताको नेपाल–भारत क्रसबोर्डर ट्रान्समिसन लाइन समेत निर्माण सम्पन्न भई सञ्चालनमा यही अवधिमा आयो ।

योसहितका अन्तर्देशीय लाइनका कारण हिउँदमा नेपाललाई लोडसेडिङ हटाउन आवश्यक ६०० मेगावाटसम्म विद्युत् देशमा आयात गर्न सहज भयो । त्यस्तै, यही बेला उज्यालाेकाे लागि प्रयाेग गरिने क्वायल चिम बल्ब र सीएफएलकाे भन्दा बढी उज्यालाे कम बिजुली खपतमै दिने एइडी बल्बहरू बजारमा अाए । यसले पनि विद्युत् खपत फारू गरायाे ।

कम परिमाणकै विद्युत खपतमा बढी नतिजा लिन त्यसअघि कुलमानले नै प्राधिकरणामार्फत भारतबाट सीएफएल बल्द खरिद गरी नेपालमा वितरण गर्ने याेजना पनि अघि बढाएका थिए । यद्यपी, याे याेजना विवादित बनेका कारण कार्यान्वयनमा जान भने सकेन ।

लोडसेडिङ अन्त्यमा कुलमानको प्राविधिक ज्ञानसहितको सुझबुझपूर्ण अग्रसरताले राम्रो नतिजा देखिएपछि बल्ल माओवादीले पनि लोडसेडिङ अन्त्यको श्रेय लिन थाल्यो । आफ्नो पार्टीले यसकाे जस लिन पाउने देखेपछि ऊर्जासम्बन्धी नीतिगत व्यवस्थाका लागि कुलमानलाई सहयोग पुग्ने काम बल्ल सुरू गरेकाे थियाे ।

नेपालमा जलविद्युत् उत्पादन, प्रसारण र वितरण सुरु भएको १०० वर्षभन्दा लामो इतिहास छ । याे अवधिमा राणाकालका चन्द शमशेरदेखि नै देशको शासन सत्तामा आएका सबैजसो राजनीतिक दल, दलका नेता, मन्त्री र प्राधिकरणका नेतृत्व सबैले लोडसेडिङ अन्त्यका लागि र उज्यालाे युग ल्याउन कुनै नै कुनै योगदान पक्कै गर्दै आएका छन् । त्यसो हुँदा कुनै एउटा दल वा दलका नेताले पगरी गुथ्नु आवश्यक देखिँदैन ।

पहिलो कार्यकाल पूरा गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले भने कुलमानलाई प्राधिकरणमा कुनै हालतमा ल्याउन चाहेका थिएनन् । उनले अर्का निर्देशक हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएका थिए । तर, माओवादीले भने आफ्नो सरकार बनेपछि दोस्रो कार्यकालका लागि फेरि कुलमानलाई नै ल्याएर कार्यकारी निर्देशक बनायो । अहिले त्यसैको व्याज स्वरूप पुष्पकमल दाहाल प्रचण्ड र माओवादीले लोडसेडिङ अन्त्यको सम्पूर्ण श्रेयको पगरी आफैँले गुथ्न थालेका छन् ।

विद्युत् प्राधिकरणको काम नै देशलाई पुग्ने र चाहिने बिजुलीको उत्पादन, प्रसारण र वितरण गर्नु हो । त्यसो हुँदा कुशल कर्मचारीको नेतृत्वबाट प्राधिकरण आफैँले आफ्नाे प्रगति गर्नु राम्राे हाे । त्यसको श्रेय लिन राजनीतिक दल वा नेता विशेषको प्रतिस्पर्धा चल्नु सही मान्न सकिँदैन ।

बरु माओवादी र अध्यक्ष प्रचण्ड साँच्चै उदार हुन् भने कुलमानलाई ऊर्जामन्त्री बनाउन सक्छन् ।

संसदीय निर्वाचनमा उम्मेदवार बनाई जिताएर नीति निर्माण गर्ने ठाउँमा लैजान सक्छन् । मन्त्री बनाएर ऊर्जा विकासमा काम गर्ने प्राविधिक सुझबुझ र कुशलतायुक्त राजनीतिक नेतृत्व बनाउन सक्छन् । अनि मात्रै माओवादीले ऊर्जा विकासमा गरेको योगदानको सम्पूर्ण श्रेय लिन पाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *