उत्तरी गोरखामा चुनावप्रचार गर्दा हेलिकोप्टर चलाउन पाउनुपर्ने माग

पोखरा। यातायातका साधन नभएको र दुर्गम क्षेत्र भएकोले उत्तरी गोरखामा चुनाव प्रचार गर्न जाँदा हेलिकोप्टर प्रयोग गर्न पाउनुपर्ने माग उम्मेदवारले राखेका छन् । कांग्रेसबाट उम्मेदवार बनेका गोरखा क्षेत्र नम्बर-१ का उम्मेदवार राजेन्द्र बजगाईँ र प्रदेशसभा सदस्य उम्मेदवार नन्दप्रसाद न्यौपानेले उत्तरी गोरखामा हेलिकोप्टर उठाउन पाउनुपर्ने माग राखेका हुन् ।
जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूले हेलिकोप्टर चलाउन पाउनुपर्ने माग सहितको निवेदन दिएका छन् । मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माका अनुसार दुवै उम्मेदवारले हेलिकोप्टर प्रयोग गर्न पाउनुपर्ने माग सहितको निवेदन दिएका छन् ।
चुमनुब्री र धार्चे क्षेत्रमा सडक सञ्जाल विस्तार भएको छैन । पैदल हिँडेर सम्भव नहुने र अविरल वर्षाका कारण घोडा खच्चड हिँड्ने बाटो समेत नभएपछि हेलिकोप्टरको प्रयोगमा फुकुवा गर्न उनीहरूको माग छ ।
हेलिकोप्टर उडानका लागि अनुमति दिने अधिकार जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई नभएकाले सो निवेदन निर्वाचन आयोगमा पठाइएको कार्यालयले जनाएको छ । यसअघिको निर्वाचनमा पनि त्यस क्षेत्रमा हेलिकोप्टर प्रयोग गरिएको थियो ।








