प्रचण्डले छोडेको क्षेत्रमा त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी ?

चितवन । यसअघिको संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ मा तत्कालीन नेकपाबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए । चितवन प्रचण्डको गृह जिल्ला पनि हो । प्रचण्ड यसपटक पनि चितवन ३ बाटै उठ्ने बताइरहेका थिए, अन्ततः उनले गोर्खा २ बाट उम्मेदवारी दर्ता गराए, चितवन ३ छोडे । प्रचण्ड उठ्ने भनेर नै सत्तारुढ गठबन्धनबीच भएको सहमतिले चितवन ३ नेकपा माओवादी केन्द्रको भागमा पारेको थियो, तर अन्तिम समयमा प्रचण्डले आफ्नो क्षेत्र छोडे पनि अन्ततः यस क्षेत्र माओवादीको भागमै परेको छ ।

केही दिनअघि मात्र यस क्षेत्रमा प्रचण्डले आफ्नो निवाससमेत निर्माण सम्पन्न गरेका थिए । कांग्रेस नेता कार्यकर्ताहरूले चितवन ३ कांग्रेसको भागमा पार्नुपर्ने अडान नेतृत्वसामु राखेका थिए, तर सभापति शेरबहादुर देउवाले यस क्षेत्र माओवादी केन्द्रकै भागमा पारिदिए । अन्ततः कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले यस क्षेत्रमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराए । उनले माछा चुनाव चिन्ह पनि पाइसकेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन कार्यालयमा पत्र पठाएर दर्ता भइसकेको रामप्रसाद न्यौपानेले उम्मेदवारी फिर्ता गराई स्वतन्त्र रूपमा उठेका कांग्रेसका नेता कोइरालालाई समर्थन गर्ने घोषणासमेत गरे । एमालेको समर्थन पाएसँगै कोइराला चुनावी मैदानमा उत्रिसकेका छन् भने कांग्रेसले बागी उम्मेदवारी फिर्ता नगरेको भन्दै कोइरालालाई कारबाही गरेको जनाइसकेको छ । एमालेको समर्थन पाएका कोइराला, सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका डा भोजराज अधिकारी र राप्रपाबाट उम्मेदवार बनेका विक्रम पाण्डेलगायतका नेताहरू चुनावी मैदानमा उत्रेका छन् । अन्तिम समयमा आएर प्रचण्डले छोडेको यस क्षेत्रमा कोइराला, अधिकारी र पाण्डेबिच नै त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

राप्रपाबाट उम्मेदवार बनेका विक्रम पाण्डे अघिल्लो निर्वाचनमा तत्कालीन नेकपाबाट उम्मेदवार बनेका प्रचण्डसँग पराजित भएका हुन् । उनी पटक पटक यस क्षेत्रमा उम्मेदवार बनिरहेका छन् र जित पनि हासिल गरेका छन् । अघिल्लो चुनावमा प्रचण्डले तत्कालीन राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेलाई ९ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । त्यति बेला नेकपा सिंगो हुँदा राप्रपाले कांग्रेससँग तालमेल गरेको थियो । त्यति बेला पाण्डेको भन्दा दाहालले ९ हजार ३४१ मत बढी पाए। प्रचण्डले ४८ हजार २७६ मत ल्याउँदा तत्कालीन वर्तमान वन तथा भूसंरक्षण मन्त्री समेत रहेका पाण्डेले ३८ हजार ९३५ मत ल्याएका थिए । २०७० सालमा संविधान सभाको निर्वाचनमा यस क्षेत्रबाट पाण्डे निर्वाचित भएका थिए । अहिलेको चितवन ३ का ठाउँहरू त्यति बेला चितवन ५ नं मा थियो । पाण्डे यस क्षेत्रबाट पटक पटक उम्मेदवार भएका र जितेका नेता भएका कारण विपक्षी उम्मेदवारले सोचेजस्तो कमजोर होइनन् । यस क्षेत्रको हरेक विकासमा उनी जोडिएका छन् । उनी भूमिसुधार मन्त्री हुँदा भरतपुरमा मात्र केन्द्रित भएको मालपोत कार्यालय खैरहनी र चनौलीमा सारेका थिए । यो कामलाई यहाँका जनताले भुलेका छैनन् ।

एमालेको समर्थनमा चुनावी मैदानमा उत्रेका नेपाली कांग्रेसको केन्द्रीय सदस्य भइसकेका दिनेश कोइराला पनि यस क्षेत्रका चिरपरिचित नेता हुन् । कांग्रेसले यस क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे पनि कोइरालाले कांग्रेसको धेरै मत खाने आकलन गरिएको छ । कोइराला यसअघिको चुनावमा प्रदेशमा पराजित भएका थिए । २०७४को स्थानीय तहको चुनावमा दर्ता भइसकेको कोइरालाका उम्मेदवारी कांग्रेस सभापति शेरबहादुर देउवाले खोसेका थिए ।

हुन त कांग्रेसबाट निलम्बनमा परेका अहिलेको स्थानीय तहको चुनावमा मेयरमा उठेका जगन्नाथ पौडेल पनि यसपटक चितवन ३ बाटै उम्मेदवार बनेका छन् । भरतपुर महानगरको चुनावमा ‘भुँइकटहर’ चुनाव चिन्ह लिएर उठेका पौडेलले १४ हजार मत ल्याएका थिए । उनले पनि असन्तुष्ट कांग्रेस मतदाताहरूको राम्रै मत खाने विश्लेषण गरिएको छ ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका डा भोजराज अधिकारी आफैँमा लोकप्रिय छन् । डाक्टरी पेशा अँगाल्दा सो क्षेत्रका धेरै मतदातालाई उनले चिन्ने अवसर पाएका छन् । कांग्रेसको संस्थापन पक्षको भोट उनले राम्रै पाउने देखिएको छ । माओवादी केन्द्रका मतदाताको भोट पनि उनलाई जाने देखिन्छ । त्यसकारण अधिकारी पनि यस क्षेत्रको लागि कमजोर उम्मेदवार होइनन् ।

स्थानीय निर्वाचनलाई फर्केर हेर्दा…

चितवन ३ मा भरतपुरको २० वटा वडा र माडी नगरपालिका पर्छ । भरतपुरको ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ नं वडा यस क्षेत्रमा पर्छन् । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा यस निर्वाचन क्षेत्रमा एमालेभन्दा गठबन्धन दलले बढी मत पाएको छ । गठबन्धन दलले ४३ हजार ९४८ मत पाउँदा एमालेले ३२ हजार ३८ मत मात्र ल्याएको छ ।

यस्तै राप्रपाले ६ हजार ४१५ र स्वतन्त्र उम्मेदवारले एक हजार ४२३ मत पाएका थिए । भरतपुरलाई मात्रै हेर्ने हो भने गठबन्धन दलभन्दा नेकपा एमाले धेरै पछाडि छ । २० वटा वडाबाट पाएको मतअनुसार गठबन्धन दलले ३६ हजार ४६३ मत पाउँदा एमालेले २६ हजार ८४० मत पाएको थियो । यस्तै राप्रपाले एक हजार ९२८ मत पाएको थियो । भरतपुरमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसबाट ११, नेकपा माओवादी केन्द्रबाट तीन र एकीकृत समाजवादी पार्टीबाट दुई वडा जितेको थियो भने नेकपा एमालेले ३ वटा वडा जितेको थियो ।

यस्तै, क्षेत्र नं ३ मै पर्ने माडी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेले जिते पनि समग्रमा मत सङ्ख्या भने गठबन्धन दलको बढी देखिन्छ । माडीमा गठबन्धन दलले सात हजार ४८५ मत ल्याउँदा एमालेले जम्मा पाँच हजार १९८ मत पाएको थियो । दुई वटा वडा जितेको राप्रपाले पनि माडीबाट मात्रै चार हजार ४८७ मत पाएको थियो । माडीमा गठबन्धन दलबाट माओवादी केन्द्रले चार र एकीकृत समाजवादी पार्टीले दुई वटा वडा जितेको थियो भने एमाले एउटा वडामा सीमित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *