निर्वाचन : २०७९

विद्रोहले तरंगित दलहरु, प्रभु साहको कदम एमालेलाई भारी !

पार्टीहरूमा संघीय र प्रदेश सभा सदस्यको उम्मेदवारको टिकट नपाएको निहुँमा नेताहरूबाट विद्रोह भएको छ । कतिपयले स्वतन्त्र उम्मेदवारी दिएका छन्, कतिले पार्टीबाट राजीनामा दिएका छन् कतिपयले पार्टीको कारबाही सहेर पनि नेतृत्वका विरुद्ध आफूलाई खडा गरेका छन् ।

काठमाडौं । प्रभु साहको विद्रोहले नेकपा एमालेमा तरंग पैदा गरेको छ । एमालेबाट लिएको टिकट त्यागेर प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले अन्य नेताहरूलाई मधेश प्रदेशमा २५ बढी स्थानमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यसपछि एमाले नेताहरु तरंगित भएका हुन् । कार्यकर्तालाई थामथुम पार्न स्वमं अध्यक्ष केपी ओली लगायतका नेताहरु लागेका छन् भने भीम रावल लगायतका नेताहरु ओली माथि नै प्रश्न उठाइरहेका छन् ।

अध्यक्ष ओलीले एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रभु साहले लामो समयदेखि संदिग्ध खालका गतिविधि गरिरहेको आफ्नो जानकारीमा रहेको टिप्पणी गरेका छन् । आफूसँग साहका संदिग्ध खालका गतिविधिबारे रिपोर्ट आएको भएपनि विश्वास नगरेर बस्दा धोका खान पुगेको उनको भनाइ छ ।

‘उहाँले षड्यन्त्र गर्नुभयो, ५ बजेसम्म टिकट खल्तीमा राख्नु भयो, उम्मेदवारी दिँदैछु भन्नुभयो। पछि वारेस पठाएर स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्नुभयो,’ अध्यक्ष ओलीले भनेका छन्, ‘प्रभु साहका संदिग्ध खालका गतिविधिको रिपोर्ट आएका थिए, विश्वास गरेको थिइनँ । तर, अन्तिममा धोका भयो, बेइमानी भयो ।

साहको गतिविधिले ती रिपोर्टहरू सही रहेछन् भन्ने देखाएको ओलीको भनाइ छ । ओलीले साहले रौतहटमा एमालेको उम्मेदवार खाली गराइदिने षड्यन्त्र रचेको पनि आरोप लगाए । ‘जिल्लाको टिकट कब्जामा राख्न खोज्दै हुनुहुन्थ्यो, जिल्लामा सिंगै एमाले खाली गराइदिने षड्यन्त्र रहेछ,’ उनले भने, ‘उहाँ कहाँबाट परिचालित हुनुहुन्थ्यो ।’

प्रभु साहको कदमप्रति एमालेका अन्य नेताहरु पनि खनिएका छन् । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले त प्रभु साहलाई हरियो सर्पसँग तुलना गरेका छन् ।
‘प्रभु साह जस्ता हरिया सर्पहरूले एक न एक दिन डस्छन् । आपराधिक विगत, अस्थिर चरित्र, चरम महत्वकाङ्क्षा, जातीय संकीर्णता, संदिग्ध क्रियाकलाप र ‘रिमोट कन्ट्रोल’बाट चल्नुपर्ने बाध्यताका कारण प्रभु साहले नेकपा (एमाले) लाई धोका दिए पनि मधेसमा नेकपा (एमाले)का पक्षमा आएको जनलहरलाई त्यसले रोक्न सक्नै छैन ।’

फेसबुकमा स्ट्याटस लेख्दै उनले साहलाई आपराधिक विगत भएको र जातीय संक्रिणता बोकेर रिमोल कन्ट्रोलबाट चलेको आरोप लगाएका हुन् । एउटा कुरामा हामी सबैले ध्यान दिनैपर्छ भन्दै रिजालले फेसबुकमा लेखेका छन्, ‘अतः हाम्रो गौरवशाली पार्टी प्रतिक्रियावादीसँग वार कि पारको लडाइँमा होमिएको बेला घुर्क्याउने, धम्क्याउने, बार्गेनिङ गर्ने, निस्क्रिय रहने, नकारात्मक कुरा गर्ने, सार्वजनिक सञ्चारमाध्यममा असन्तुष्टि व्यक्त गर्ने, कार्यकर्ता भड्काउन प्रयास गर्ने जस्ता कुनै पनि क्रियाकलाप कसैका लागि पनि क्षम्य छैनन् ।’

तरंगित भएको एमालेमा एमालेकै नेता भीम रावलले थप तताउने गरी अभिव्यक्ति दिएका छन् । उनले उल्टै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाएका छन् ।
रावलले ट्वीट गरेका छन्, ‘प्रभु साहको ‘विद्रोह’बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो । ‘हरियो सर्प’ भनेको पनि आयो । ‘संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ‘संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काउँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’

यस्तो विद्रोह घनश्याम भुसालबाट पनि भयो । टिकट नपाएपछि उनाले पार्टी नै छोडेर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ–१ मा गोविन्दराज जोशीको स्वतन्त्र उम्मेदवारी परेको छ । निवर्तमान सांसद अमरेशकुमार सिंहले सर्लाही–४ बाट कांग्रेसका उम्मेदवार नागेन्द्रकुमार रायविरुद्ध बागी उम्मेदवारी दिएका छन् । सिन्धुपाल्चोक–२ मा कांग्रेस उम्मेदवार मोहन बस्नेतविरुद्ध कांग्रेसकै पूर्वक्षेत्रीय सभापति बद्री चौलागाईंले उम्मेदवारी दिएका छन् । अर्थात, देशका बिभिन्न ठाउँमा पार्टीको निर्णय विरुद्ध विद्रोह भएको छ ।

राजनीतिक शास्त्रका अध्यापक विष्णु दाहाल दलहरुभित्र विद्रोह हुनुको कारण सिस्टममा काम नहुनु रहेको बताउँछन् । उनका अनुसार समयमै कसले टिकट पाउने हो टुंगो लगाउने, टिकटको टुंगो लगाउनुअघि प्रयाप्त छलफल चलाउने र पार्टीभित्रबाट सर्वसम्मत गराएर टिकट दिलाउने हो भने विद्रोह हुने थिएन । तर, सिस्टममा नहिड्ने नेतृत्वको शैलीका कारण विद्रोह भएको हो ।

विद्रोहको अर्थ पार्टी विरोधमा हो भनेर बुझ्दा स्वमत दलहरुका घात हुने बताउँछन् अर्का प्रध्यापक कृष्ण खनाल । उनका अनुसार विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिनु भनेको जनताकाबीच परीक्षण हुन खोज्नु हो । तिमी यसकारण अहिले रोकिनुपर्छ भनेर नेतृत्वले सम्झाउन नसक्ने र मनलाग्दी टिकट वितरण गर्ने प्रवृतिले दलहरुमा विद्रोहको स्थिति पैदा भएको उनलाई लाग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *