कर्णाली प्रदेशमा बाढी पहिरोबाट ३३ जनाको मृत्यु, ४८० परिवार विस्थापित 

सुर्खेत । अविरल वर्षासँगै कर्णाली प्रदेशका विभिन्न ठाउँमा गएको बाढी पहिरोमा परी ३३ हालसम्म जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै जुम्लामा ९ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठले जानकारी दिए।
मुगुमा ८ जना, कालिकोटमा ४, हुम्लामा ४ जना, जाजरकोटमा ३, डोल्पामा २, सल्यानमा २ र दैलेखमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सुर्खेत र रुकुम पश्चिममा भने मानवीय क्षति नभएको प्रहरीको भनाई छ।
२२ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए। बेपत्ता हुनेहरू सबैभन्दा धेरै कालिकोटका एक प्रहरी जवानसहित २० जना रहेका छन् भने जुम्लाका २ जना र दैलेखका १ जना रहेका छन्।
यसैबिच, बाढी पहिरोमा परि प्रदेशभर २१ जना घाइते भएको विवरण प्रहरीको तथ्याङ्कमा छ। जस अन्तरगत कालिकोटका मात्रै ७ जना छन् भने मुगु र हुम्लाका ५÷५ जना घाइते भएका छन् । यसै गरी, जुम्लाका २, रुकुम पश्चिमका १ जना र जाजरकोटका १ जना घाइते भएको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
सयौँ घरपरिवार विस्थापित 
लगातारको वर्षाका कारण कर्णाली प्रदेशभर ४ सय ८० घर परिवार विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्क अनुसार सबैभन्दा धेरै दैलेखमा १ सय ३ घर परिवार विस्थापित  भएका छन्। यस्तै, मुगुका एक सय ७८ घरपरिवार विस्थापित हुँदा जुम्लाका ८६, कालिकोटका ४८, हुम्लाका ४०, सल्यानका ९, सुर्खेतका ८ घरपरिवार विस्थापित  भएका हुन् । डोल्पाका ४ घरपरिवार विस्थापित  हुँदा जाजरकोट र रुकुम पश्चिमका २/२ घरपरिवार विस्थापित  भएका छन् ।
प्रभावित जिल्लाहरुमा जिल्ला सुरक्षा समितिले समन्वय गरी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत सुरक्षाकर्मी परिचालन गरी उद्दार र राहत कार्य भइरहेको प्रवक्ता श्रेष्ठले बताए । घरक्षती र विस्थापितलाई लागि प्रदेश सरकारले राहत पठाउने प्रक्रियामा सुरु गरेको जनाएको छ। घाइतेहरूको उद्धारको लागि हेलिकप्टर परिचालन भइरहेको जनाइएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *