सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि आईसीयूमा सारियो

काठमाडौँ । ललितपुरको किष्ट मेडिकल कलेजमा उपचार गराइरहेका सँस्कृतिविद एवम् वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आईसीयू कक्षमा सारिएको छ ।
असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको जोशीको स्वास्थ्यमा सुधार नभएपछि आज (सोमबार) आईसीयू कक्षमा सारिएको हो ।
सत्यमोहन जोशी र उनकी पत्नीको निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको ललितपुरको किष्ट मेडिकल कलेजले जोशीको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै उनलाई आईसीयूमा राखेर उपचार थालिएको जानकारी दिएको छ ।
१०३ वर्षीय जोशीको रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । जोशीलाई पहिले देखिनै मुटु र प्रोष्टेटको समस्या छ ।
किष्ट मेडिकल कलेजका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीलाई डेंगु संक्रमणले निकै गलाएको छ । पछिल्ला तीन/चार दिनदेखि उनमा खानामा पटक्कै रुचि नभएको र बोल्न पनि नसक्ने अवस्थामा रहेको बज्राचार्यले बताए । जोशीलाई युरिन इन्फेक्सन र छातीमा निमोनिया समेत देखिएको छ ।








