पहिरो : नारायणगढ-मुग्लिन,बेँसीसहर-चामे, बेनी-जोमसोमलगायत सडक अवरुद्ध

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो खस्दा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै नारायणगढ-मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन् ।
सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।

गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका छन् ।तीन दिनदेखिको अविरल वर्षाले दसैँको टीका लगाउन र आशीर्वाद लिन आफन्तकोमा जाने आउने सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । यातायातका साधन सञ्चालन हुन नसकेपछि पैदलै छाता र प्लाष्टिक ओडेर सर्वसाधारण टीका लगाउन आफन्तकोमा जाने आउने गरेका छन् ।

वर्षाका कारण बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ भने बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौरलगायत दर्जन बढी सडक बाढी र पहिराका कारण अवरुद्ध भएका सम्वन्धित स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । कतिपय स्थानमा सडक भासिएको छ ।

दसैँको दुईदिन अघिदेखि भइरहेको अविरल वर्षा नरोकिँदा दसैँ खल्लो भएको छ भने म्याग्दी र कालीगण्डकी नदीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाएका छन् । खहरे र ग्रामीण क्षेत्रका खोलामा बाढी आएको छ । ठाउँठाउँमा पहिरो जाँदा पदमार्गसमेत अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दाले सास्ती खेप्न बाध्य हुनुपरेको बेनी नगरपालिका ३ का सोमबहादुर पुनले बताए  ।

त्यसैगरी राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार म्याग्दीको घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भिर, जलथले, गुइठे भिर, रुप्से झरना र काभ्रेभिरलगायतको सडकमा वर्षाले सडक अवरुद्ध बनाएको छ ।

सडक अवरुद्ध भएपछि बेनीबाट मुस्ताङ तथा उत्तरी म्याग्दीमा जाने यात्रु तथा सर्वसाधारण बेनीमा र मुस्ताङबाट बेनी फर्कने व्यक्ति मुस्ताङमा नै रोकिन बाध्य भएका छन् । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पूरै हिलाम्मे भएको छ भने कतिपय स्थानमा सडक ध्वस्त भएको सुपरभाइजर शेरचनले जानकारी दिए । बेनी–जोमसोम सडक खण्डको शाखा नदीको बाहव उच्च हुँदा केही स्थानमा सडक पूरै बगाएको छ भने कतिपय स्थानमा पहिरो खस्ने क्रम अझै रोकिएको छैन ।

निरन्तरको वर्षाले बेँसीसहर–चामे सडक अवरुद्ध :

निरन्तरको वर्षाका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । बङ्गालको खाडीबाट उर्लिरहेकोे न्यून चापीय बायुको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा भएको निरन्तरको वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

अधिक वर्षा भएपछि उक्त सडक खण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । अधिक वर्षा भएपछि यस सडकखण्डमा पहिराले क्षति पु¥याएपछि पूर्णरुपमा यातायात अवरुद्ध भएको उनले बताए । “यस सडक खण्डअन्तर्गत खोत्रोमा सडकको बीच भागमा नै भल बगेकाले यात्रा गर्न सक्ने अवस्था छैन”, प्रजिअ आचार्यले भने, “योसँगै अन्य स्थानमा पनि कति बेला माथिबाट पहिरो खस्छ भन्ने थाहा नभएकाले यात्रा गर्न जोखिम रहेको छ ।”

पर्यटक आउने अनुकूल मौसम भएकाले सडकमार्फत यात्रा गर्न समस्या हुँदा मनाङ भ्रमणमा आउने पर्यटकले यस विषम् परिस्थितिलाई ध्यानमा राखेर यात्रा नगर्नसमेत उनले आग्रह गरे ।

प्रशासन कार्यालयले कसैले मनाङको अनुपम छटाले भरिपूर्ण प्रकृतिसँग रमाउनका लागि आफ्नो यात्रा तय गरेको भए सडक सञ्चालन भएको जानकारी लिएर मात्र योजना बनाउन पनि सम्बन्धित यात्रुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *