सन्दीप लामिछानेलाई लाग्यो विमानस्थलमै हत्कडी (फोटो/भिडिओ)

काठमाडौँ । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको छ । कतार एयरवेजको फ्लाइटबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।

कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत सन्दीप स्वेदश फर्किएका हुन् । खराब मौसमका कारण उक्त विमान निर्धारित समयभन्दा केही बेर ढिलो अवतरण भएको थियो । उनलाई हत्कडी लगाएर सिधै प्रहरी वृत्त गौशाला लगिएको छ ।

१७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध इन्टरपोल ‘डिफ्युजन नोटिस’ जारी भएको थियो । सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौँको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ ।

नाबालिग किशोरीले भदौ २१ गते लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्टबाट प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । प्रहरीले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान सुरु गरेको छ ।

संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ’ उल्लेख छ । संहितामा १६ देखि १८ वर्ष उमेरको नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको पुष्टि भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *