वर्षको एकदिन मात्र खुल्ने ‘तुलजा’ भवानीमा श्रद्धालुको घुइँचो (फोटो/भिडिओ)

काठमाडौँ । रोचक इतिहास बोकेको तुलजा अर्थात् तलेजु भवानी मन्दिर, सर्वसाधारणका लागि दसैँको महानवमीका दिन मात्र खुल्ने गर्दछ । कोतपर्वपछि तलेजु मन्दिरमा ५४ वटा राँगा र ५४ वटा बोकाको बलि दिने चलन चलाइयो ।

हरेक वर्षको दसैँमा नेपाल सरकारको तर्फबाट तलेजु भवानीमा ५४ वटा राँगा तथा ५४ वटा बोकाको बलि चढाइन्छ । पहिले तलेजु भवानीको चार दिशामा रहेको ढोकाबाट ओहदाअनुसारका व्यक्तिले प्रवेश पाउँथे ।

जसअनुसार दक्षिणतिरको ढोकाबाट काठमाडौँका राजा, उत्तरतिरबाट भारदारहरू, पूर्वतिरबाट भक्तपुर, ललितपुर तथा कीर्तिपुरका राजा अनि पश्चिमतिरबाट सर्वसाधारणले प्रवेश पाउँथे ।

तलेजु भवानीलाई नेवारहरू आफ्नो इष्टदेवीका रूपमा पुज्ने गर्दछन् । तलेजु भवानीलाई तुलजा, तलेजु, तुर्जा, तलेजी आदि नामले पूजाअर्चना गरिन्छ । तुलजा भवानीलाई दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिन्छ ।

नेपालमा कर्नाट वंशी राजा हरिहत सिंह देवले तुलजा भवानीलाई भारतबाट ल्याएको इतिहास छ । पछि मल्ल राजाहरूले यो मन्दिरलाई निजी प्रार्थना स्थलका रूपमा विकास गरेका थिए । तीनतलाको हनुमानढोकास्थित तलेजु मन्दिर १ सय २ फिट अग्लो छ ।

सप्तमीका दिन मन्दिरबाट भवानीलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याएर राखिन्छ । नवमीका दिन मूलचोकबाट भवानीलाई फेरि मन्दिरमा फिर्ता लगिन्छ र दिनभर पूजाअर्चना गरी सर्वसाधारणका लागि खुला गरिन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =