दसैँ : कोही टन्न खाँदै, कोही भोकभोकै रन्थनिँदै

यतिखेर सबैतिर दसैँको रौनकता छाएको छ । घरघरमा मिठामिठा परिकार पाकेका छन्, परिवारजन र आफन्त मिलेर रमाइलो गरिरहेका छन् । हरेक ठाउँमा किनमेल गर्नेको भीड छ । पैसा हुनेहरूका निम्ति दसैँ खुसीयाली लिएर आएको छ । तर, पैसा नहुने के दसैँ के चाडबाड ? कोही टन्न खाएर रमाइलो गरिरहेका छन् भने कोही भोको पेट बाटोमा मागिरहेका छन् ।

चाडबाड आएपनि उनीहरूलाई केही फरक परेको छैन । बिहानदेखि सडक छेउछाउ मागेर बस्छन् । दिए खान्छन् नदिए भोकभोकै बस्छन् । खुट्टामा एकजोर चप्पल छैन नयाँ लुगाको त कुरै छोडौँ । दसैँको मुखमा समेत घरघरमा माग्न हिँडेका छन् । दसैँमा घरघरमा खसी काटिन्छ । नयाँ लत्ताकपडा, गाडी किन्नेलगायत घरमा आवश्यक पर्ने सामान किन्ने पैसा हुन्छ ।

यद्यपि, कोही माग्न आयो भने घरको गेट लगाइदिन्छन् । मठमन्दिरमा दर्शन गर्ने जानेहरू टन्न हातभरि फलफूल बोक्छन् । चढाउन पैसा हुन्छ । तर, माग्ने मान्छे देख्यो भने चानचुन छैन भनेर हिँड्छन् । गरिबको कोखबाट जन्म लिनु अपराध हो ? कति गरिबको कोखबाट जन्मे । बाबुआमाले पनि मागेर खाए उनीहरूले पनि त्यही सिके । हिजोका अर्बपति आज सडकमा आइपुगेका छन् ।

केही विकल्प नभएपछि मात्र सडकमा माग्न आउने हो । मागेर खान कसलाई रहर लाग्छ ? सबै ढोका बन्द भएपछि लाज पचाएर माग्ने हो । मागेर खानेलाई घरजग्गा जोड्नु छैन । मागेर भोक मेटिएला भनेर बाटोमा माग्न बस्छन् । दिनभरि मागेर बिहान बेलुका पेटमा अन्न हाल्न सकिन्छ कि भनेर माग्न बसेका हुन्छन् । त्यही पनि शान्तिसँग माग्न पाए त हुन्थ्यो । माग्नेलाई कसैले मान्छे नै गन्दैनन् ।

राष्ट्रपति आउनुअगावै मन्दिरबाट लखेटिन्छन् । चोरेर खाएको, लुटेकोजस्तो गरेर माग्ने मान्छेलाई हेर्छ, नेपाली समाज । तर, उसले मागेर खानु पछाडिको कारणचाहिँ हेर्दैनन् । अहिले सबैलाई दसैँ लागेको छ । सबैको घरमा मिठोमसिनो पाकेको छ । टन्न खाएर बाँकी भएको जति फोहोरमा लगेर हाल्छन् । तर, दसैँ त सबैको चाड हो । आफू आधा पेट खाएर अर्कोलाई खान दिँदा ऊ पनि खुसी हुन्छन् ।

राष्ट्रपति आउनुअगावै मन्दिरबाट लखेटिन्छन् । चोरेर खाएको, लुटेकोजस्तो गरेर माग्ने मान्छेलाई हेर्छ, नेपाली समाज । तर, उसले मागेर खानु पछाडिको कारणचाहिँ हेर्दैनन् ।

विडम्बना, नेपालीमा त्यस्तो सोचाइ छैन । घरमा माग्न आएकालाई जुन व्यवहार यिनीहरूले देखाउँछन्, त्यो एकदमै अपमानजनक हुन्छ । आफ्नो जिउमा राम्रो लुगा लगाएका हुन्छन् तर माग्न आउनेलाई अलिकति सहयोग गरौँ भन्ने भावना नेपालीमा छैन । आखिरी नेपालीहरूमा मानवता हराएकै हो ? बाटोमा माग्ने जनता होइनन् ? होइन भने उनीहरूका लागि सरकार कहाँ छ ?

पुँजीपतिको मात्र सरकार हो ? नेपालीहरूको महान् चाड दसैँ हो । दसैँ त सबैको चाड हो । मागेर खाने पनि मान्छे हुन् । मान्छे भएपछि एउटा आस हुन्छ । सरकारले केही व्यवस्था गर्ला भनेर यिनीहरूले पनि सोचेका थिए, होलान् । तर, यिनीहरूको आस निराशामा बद्लिएको छ । सरकारले यिनीहरूलाई जनताको दर्जा नै दिएन । दसैँ अवधिभर खाने, लाउने र बस्ने व्यवस्था सरकारले मिलाइदिनुपर्थ्यो ।

घाम होस् या पानी उनीहरूलाई केही फरक परेको छैन । बाटोमै खान्छन्, त्यही बस्छन् र सुत्छन् । उनीहरू जन्मिने पनि बाटोमै, मर्ने पनि त्यही बाटोमै । जाडो होस् या गर्मी उनीहरूले सदाबहार एउटै च्यातिएको लुगा लगाउँछन् । न उपचार न कुनै सेवा सुविधा । नागरिकता, जन्मदर्ता नभएकाले उनीहरूले भत्ता पनि पाएका छैनन् । भत्ताले उनीहरूलाई अलिकति भए पनि राहत हुन्थ्यो ।

बाबुआमा जाँडरक्सी खाँदाखाँदै बाटोमै मर्छन् । अनि तिनका बालबच्चाको जीवन पनि बाटोबाट शुरु हुन्छ । त्यस्तालाई कसले जन्मदर्ता दिने ? जन्मदर्ता नभएपछि नागरिकता बन्दैन । तर, सरकारले पनि कहिले उनीहरूलाई नागरिकता दिनुपर्छ । तिनीहरू पनि देशका नागरिक हुन् । अरूले राज्यबाट पाउने सेवा सुविधा तिनले पनि पाउनुपर्छ भनेर सोचेन । बरु, उल्टो उनीहरूलाई थिचोमिचो गर्‍यो ।

मागेर खानेहरूको राष्ट्रपति छैन । कि धनी र गरिबको राष्ट्रपति बेग्लाबेग्लै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई मागेर खानेहरूको प्रश्न,‘हामी नेपाली होइनौँ ? हामीलाई यत्रो हेला किन ?’ सरकारले माग्नेहरूलाई नागरिकताको व्यवस्था गरिदिनुपर्थ्यो । सरकार गरिब जनताको पनि अभिभावक बन्न सक्नुपर्थ्यो । नागरिकता दिँदा उनीहरूले देश नै पो बेच्ने जस्तो गर्‍यो सरकारले ।

यता, काठमाडौँमा पाँच वटा घर हुनेहरूले मासिक भत्ता बुझ्छन् । सरकारी जागिरबाट पेन्सन खाइरहेकाहरूले समेत सरकारबाट पाउने एक रुपैयाँ पनि छोड्दैनन् । तर, ती गरिबले के पाए । सित्तैमा पाउने औषधी सबै टाठाबाठाले लिन्छन् । गरिब त्यहाँ पनि हेरेको हेप्र्यै । धनीलाई छुटैछुट, गरिबलाई जताबाट पनि लुट । उनीहरूलाई भाग्यले ठगेको छ, राज्यले हेला गरेको छ ।

बाटोमा मागेर खानेहरूको अवस्था हेर्न पनि नसकिने खालको छ । शरीरभर झिँगा, लामखुट्टेले वासस्थान बनाएको छ । पूरा शरीर ढाक्ने कपडासमेत उनीहरूसँग छैन । हप्तामा एकदिन खाना खान्छन् होला । मागेर खानु बाध्यता हो भनेर किन कसैले बुझ्दैनन् ? पाँच रुपैयाँ दान दिँदा गरिब हुन्छ ? नचाहिँदो ठाउँमा पैसाको खोला बगाउन त हामीहरू अब्बल छौँ ।

सरकारी कर्मचारीको वर्षैपिच्छे तलबभत्ता बढाउने नेपाल सरकार मागेर खानेहरूका लागि केही व्यवस्था मिलाउँदैनन् । माग्नेलाई दिन भनेपछि सबै दाँतबाट किन पसिना आउँछ ? ठूलाले दिँदैनन्, सानालाई पनि सिकाउँदैनन् । माग्नेलाई देख्यो कि छुट्टै बाटो हिँड्छन् । माग्नेहरूले भनेको बेलामा पानीसमेत पिउन पाउँदैनन् । नेपालीहरू यतिसम्म चुत्था भएका छन् कि घरमा माग्ने आयो भने गेट लगाइदिन्छन्, कुकुर छोडिदिन्छन् ।

काठमाडौँमा पाँच वटा घर हुनेहरूले मासिक भत्ता बुझ्छन् । सरकारी जागिरबाट पेन्सन खाइरहेकाहरूले समेत सरकारबाट पाउने एक रुपैयाँ पनि छोड्दैनन् । तर, ती गरिबले के पाए ?

पछिल्लो समय घरघरमा महँगा महँगा कुकुर पाल्ने चलन बढेको छ । कुकुरले जे जे खान्छ त्यही खान दिने । नुहाइदिने, सफा गरिदिने, डुलाउन लिएर जाने । अझ हुँदाहुँदै कुकुरलाई लुगा लगाउने जमाना पनि आएको छ । त्यसो त मान्छेलाई कुकुरभन्दा पनि तल्लो दर्जामा राख्न थालिएको छ । खान नसकेर टोकरीमा लगेर फ्याँकिदिन्छन् । एकचोटि लगाएका नयाँ लुगा फोहोरमा लगाएर फ्याँक्छन् ।

तर, खान फ्याँक्नुको साटो कसैको भोको पेट भर्दा धर्म हुन्थ्यो । आफ्नो आधा शरीर देखाएर हिँड्नेहरूले पुरै ढाक्न पाउँथे । नेपालमा यत्रो गैरसरकारी संस्था खुलेका छन् । तर, त्यो पनि सबै कमिसनमा लिप्त छन् । एनजिओहरू गरिबको नाम बेच्छन् अनि डलर ल्याएर पचाउँछन् । पुराना लत्ताकपडा उठाएर गाउँ गाउँमा पुर्‍याइदिने हो भने कसैले शरीर छोप्न पाउँथे ।

घरघरबाट अलिअलि चामल उठाएर गाउँ गाउँ पुर्‍याऔँ । वृद्ध वृद्धालाई एक छाक खाना खुवायो भने फोटो खिचेर चर्चामा आउन खोज्छन् । यता, सरकारले पनि विकास भएकै क्षेत्रमा बजेट खन्याउँछ । कतै बजेटको खोलो लागेको छ कतै सुख्खाराम । जुन जिल्लामा सरकारले बजेट छुट्याएको छैन त्यहाँको अवस्था एकदमै नाजुक छ । किन कि त्यहाँ रोजगारी छैन, उद्योग छैन । सरकार र राजनीतिक दलहरूले समेत माग्ने मान्छेलाई समेत भेदभाव गरेको छ ।

माग्ने मान्छेसँग नागरिकता छैन, भोट दिने अधिकारबाट उनीहरू वञ्चित छ । भोट पाएको भए नेताहरूले गन्थे, उनीहरूको कुरा सुन्थे । करमा बिकेको सरकारलाई उनीहरूको चासो नै रहेन । कर तिर्नेलाई वर्षमा १० चोटि दोसल्ला ओढाउँछ, सम्मान गर्छ । तर, माग्नेलाई फुटेको आँखाले पनि हेर्दैन । भूपू राष्ट्रपति, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख सवारी हुनुपर्‍यो भने बाटो पहिल्यै खाली गराउँछन् ।

सुकिलामुकिलाहरुले आखिरी त्यस्तै हेर्न चाहन्छन् । देशमा गरिब छन् भनेर यिनलाई के थाहा ? गरिब भनेको के हो ? यिनलाई थाहा छैन । तर, गरिबको नाम बेच्नचाहिँ जानेका छन् । टन्न खाएर अघाएकाहरूले अरूलाई पनि अघाएकै देख्छ । भोकोले मात्र भोको पेटको बारेमा चर्चा गर्ने हो । गरिब पृष्ठभूमिबाट आएको भए पो उनीहरूको व्यथाबारे पत्तो पाउँथे । आजसम्म कुनै नेताले माग्ने मान्छेलाई भनेर आफ्नो तलबभत्ता त्याग गरेका छन् ?

त्यस्तो नेता नेपालमा छैनन् । राजनीतिक दल, सरकारी कर्मचारी र व्यापारीहरू धनी भए । तर, गरिबहरू झनै गरिब हुँदै गए । नेपालको सडकभर माग्ने छन् भनेर विदेशी मुलुकमा समेत चर्चा चलेको छ । तर, देशकै नेतालाई थाहा छैन । मुलुक सम्हाल्न बसेकाहरूले अब आफ्नो तलबभत्ता त्याग गर्नुपर्छ । जागिर खान नेता बनेको अवश्य पनि होइन होला । अहिले त जो पनि तलबभत्तामा बिकेका छन् । राजनीति भनेको सेवा हो, राजनीतिज्ञहरूले सेवाभाव राख्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *