उमेर नपुग्दै विवाह : किशोरावस्थामै गर्भपतन

सुर्खेत । कर्णाली प्रदेशमा तुलनात्मक रुपमा गर्भपतन गराउनेमध्ये २० वर्षभन्दा कम उमेरका किशोरी धेरै रहेको पाइएको छ । कम उमेरमा गर्भवती हुनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हो अझ गर्भपतन गराउन झनै जोखिम हुने चिकित्सकहरु बताउँछन् ।

पछिल्लो दुई वर्षको तथ्यांकअनुसार सुर्खेतमा गर्भपतन गर्ने २० वर्षमुनिका किशोरीहरूको संख्याले यस्तो डरलाग्दो दृश्य देखाएको हो । आर्थिक वर्ष २०७७/०७८ मा गर्भपतन गर्नेमध्ये दुई सय ४० जना २० वर्षमुनिका किशोरीहरू रहेका थिए ।

त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा तीन सय २६ जना २० वर्षमुनिका किशोरीले गर्भपतन गरेको तथ्यांक स्वास्थ्य सेवा कार्यालयसँग छ । यो विवरण सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनेहरूको हो । सुरक्षित गर्भपतनका लागि निश्चित स्वास्थ्य संस्थाहरू तोकिएका छन् ।

असुरक्षित गर्भपतन कानुनी रूपमा बर्जित छ । स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार अहिले पनि सुरक्षितभन्दा असुरक्षित गर्भपतन गर्नेहरूको संख्या भने ठूलो छ । सुरक्षित गर्भपतन सबैको पहुँचमा नहुनु तथा समाजका डरले पनि धेरैजसो महिलाहरू असुरक्षित रूपमा गर्भपतन गरिरहेका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा सुर्खेतमा दुई हजार चार सय ८३ जनाले गर्भपतन गरेका थिए । २०७७/०७८ मा दुई हजार चार सय ७३ जनाले गर्भपतन गरे । आर्थिक वर्ष २०७८/०७९ मा दुई हजार ६ सय १५ जनाले गर्भपतन गरेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको विवरण छ ।

यो तथ्यांक सुर्खेतमा रहेका सूचिकृत स्वास्थ्य सेवा प्रदायकले राखेका हुन् । ती ठाउँमा निःशुल्क गर्भपतन सेवा दिने गरिएको छ । सरकारले निःशुल्क गर्भपतन सेवा दिएका कारण र सेवा प्रदायक संस्थाहरू पनि विस्तार भएकाले सेवा लिनेहरू पनि बढेको बताइएको छ । सुरक्षित गर्भपतन लिनेको संख्या बढ्नुमा सेवाको पहुँच विस्तार मुख्य कारण रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

किशोरी अवस्थामा प्रजनन् अंगहरूको पूर्ण विकास नहुने हुँदा गर्भधारणा गर्नु निकै जोखिमपूर्ण हुने स्वास्थ्यकर्मी बताउँछन् । अहिले पनि सुरक्षित गर्भपतन सेवाको पहुँचमा भने धेरै महिलाहरू छैनन् । गर्भपतन सेवा सहर केन्द्रित छन् । ग्रामीण क्षेत्रका महिलाहरू ज्यान नै जोखिममा राखेर असुरक्षित रूपमा गर्भपतन गराउँदै आएका छन् । दक्ष जनशक्ति र सूचिकृत स्वास्थ्य संस्थाको अभावमा यो सेवा सबैको पहुँचमा पुग्न नसकेको हो । कतिपयले सरकारी स्वास्थ्य संस्थामा गोपनीयता नहुने आशंकामा पनि असुरक्षित गर्भपतन गराउने गरेको पाइन्छ ।

गर्भपतनका लागि पायक पर्ने ठाउँमा सूचिकृत सेवा प्रदायक संस्था र तालिम प्राप्त जनशक्ति नहुँदा पनि असुरक्षित गर्भपतन गर्नुपर्ने बाध्य छ । सुर्खेतका नौमध्ये दुई वटा पालिकामा अझै पनि सुरक्षित गर्भपतन सेवा उपलब्ध छैन । चौकुने र सिम्ता गाउँपालिकामा सुरक्षित गर्भपतन गर्ने सूचिकृत सेवा प्रदायक संस्था छैनन् । जसले गर्दा त्यहाँका महिलाहरू सेवा लिन टाढा जानुपर्ने बाध्यता छ ।

टाढा जानुपर्ने झन्झटले गर्दा धेरैजसोले नजिकको मेडिकलबाट औषधि प्रयोग गरी असुरक्षित रूपमा गर्भपतन गर्ने गरेका छन् । हाल सुर्खेतमा सुरक्षित गर्भपतनका लागि १९ वटा स्वास्थ्य संस्था सूचिकृत छन् । त्यसमध्ये १० वटा सरकारी र नौ वटा निजी स्वास्थ्य संस्था हुन् । सुरक्षित गर्भपतका लागि स्वास्थ्य संस्थाभन्दा पनि जनशक्तिको निकै ठूलो अभाव छ । तालिम प्राप्त स्वास्थ्यकर्मीको सरुवा भइरहने हुँदा सेवालाई निरन्तरता दिन समेत कठिनाइ हुने गरेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

सुरक्षित गर्भपतनका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् । सचेतनासँगै सेवाको पुहुच विस्तारमा ध्यान दिइनुपर्ने उनीहरूको भनाइ छ । छोराको चाहानामा गर्भमा छोरी भए पतन गर्ने आपराधिक मानसिकले पनि असुरक्षित गर्भपतन बढेको भन्दै गएकाले यसलाई रोक्न सबै सचेत हुनुपर्नेमा जोड सरोकारवालको जोड छ । कानुनले अपराध ठाने पनि लुकिछिपी गर्भपतन गर्ने र यसले जटिलता ल्याउने भनाइ छ । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *