अलपत्र एन्फाको ड्रिम प्रोजेक्ट, कहाँ गयो १७ करोड ?

पोखरा । अखिल नेपाल फुटबल एशोसिएन (एन्फा) ले कास्कीको माछापुच्छ्रेस्थित भिडाबारीमा निर्माण गर्ने भनेको टेक्निकल सेण्टर अलपत्र परेको छ ।

चार चरणमा सकिने फिफाको ड्रिम प्रोजेक्टको पहिलो चरणको कामका लागि अघिल्लो वर्ष १७ करोड ५५ लाख विनियोजन भएको थियो । सोही बजेट अनुसार गएको चैतमा बोलपत्र आह्वान भएर योजना ठेक्कामा समेत गइसकेको छ । त्यसपछि न आयोजना शिलान्यास भएको छ न यसबारे कसैले चासो नै दिएका छन् ।

विश्व फुटबल महासंघ (फिफा) ले दक्षिण एसियाकै सबैभन्दा ठूलो लगानीको एकेडेमी बनाउन माछापुच्छ्रेको भिडाबारीमा प्रक्रिया अघि बढाएको थियो । फिफाका प्रतिनिधिले समेत अनुगमन गरेर बजेट विनियोजन भएको थियो । ४ वर्षअघि नै शिलान्यास गर्ने बताइएकोमा कोरोना महामारीका कारण शिलान्यास नै हुन सकेन ।

स्थानीय एकनारायण अधिकारी एन्फा एकेडेमी जसरी ल्याउनुपर्ने बताउँछन् । ‘हामीले हाम्रो लालपुर्जाभित्रको जग्गा निःशुल्क पास गरेर दिएका छौँ । त्यति धेरै जग्गा बाँझो बनाएर राखेको २ वर्ष भइसक्यो,’ उनले भने, ‘राष्ट्रिय गौरवको योजना अघिल्लो वर्ष बजेटमा पनि सुनिएको थियो, अहिले त नाम नै हराउने डर भयो ।’

एन्फा टेक्निकल टिमले स्थलगत निरीक्षण समेत गरेर मिनी रंगशालासहितको ‘एन्फा टेक्निकल सेन्टर’ का लागि डिपिआर बनाइएको हो । २०७६ सालमा नेपालले उक्त प्रोजेक्ट प्राप्त गरेको थियो ।

पहिलो चरणमा अभ्यास मैदान, छात्रावास, अभ्यास ब्लक, कार्यकारी क्वार्टर ब्लक, अतिथि क्वार्टर ब्लक, ओपन फुट कोर्ट, सुरक्षा गार्ड भवन, शौचालय तथा चौतर्फी बार लगाउने काम रहेको छ । ५ हजार दर्शक क्षमतासहितको प्यारापिटयुक्त मुख्य फुटबल मैदान, प्राकृतिक मैदान, २ कृत्रिम मैदान, २ बालुवा मैदान, स्विमिङ पुल, रेष्टुरेन्ट, पुस्तकालय, जिमहल तथा सभाहल रहने योजनामा रहेको छ ।

उक्त योजना पूरा गर्न ८० देखि ९० करोडसम्म लाग्ने अनुमान छ । ‘गाउँपालिकाले पनि गच्छे अनुसार बजेट हालेर काम गरेको छ । तारबार लगाएको पालिकाले हो । तटबन्ध पनि गरिएको छ,’ पालिका अध्यक्ष, मीनबहादुर गुरुङले भने, ‘तर यहीँका गन्नेमान्नेहरुले यहाँ टेक्निकल सेण्टरका बारेमा केही बोल्नुभएको छैन । प्रोजेक्ट नै हराउने डर भयो ।’

एन्फामा नयाँ समिति आएपछि पुरानाले गरेको कामलाई निषेध गर्ने नियतले बन्द भएको एन्फा गण्डकीका अध्यक्ष रमेश कार्कीले बताए । ‘४ वर्षसम्म हामीले मेहनत गरेर ठाउँ खोज्यौँ । अध्ययन गर्‍याैँ । बजेट पनि प-यो । तर अहिले गुमनाम छ,’ उनले भने, ‘नयाँ समिति आएपछि पुराना कामको नाम समेत उच्चारण गरेका छैनन् । अघिल्लो पटक योजना पार्ने मध्ये अधिकांश अहिले चुनाव हारेका छन् । त्यसैले कार्यान्वयनमा समस्या भयो ।’

माछापुच्छ्रे गाउँपालिकाले २ सय मिटरसम्म खोलाको बाँध लगाएको छ । करिब ५ सय रोपनीमा बन्ने आयोजनामा के हुने भन्ने निक्र्यौल छैन । एन्फा कास्कीका अध्यक्ष उज्जल रन्जित अहिले टेक्निकल सेण्टरको फाइल समेत आफूले नभेटेको बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *