आज दसैँको सप्तमी: शुभ साइतको प्रतीक फूलपाती भित्र्याइँदै

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि धर्मशास्त्रविद्हरु बताउछन्।

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री, काठमाडौँका स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।

नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गे पिङ, जाँते पिङ र रोटे पिङले दशैँको रौनकतालाई अझ बढाउने गर्दछ ।

नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान १०: २३ बजेको साइत शुभ रहेको थियो । असोज ११ गते झण्डा फेर्ने साइत ११: ११ बजे उत्तम रहेको थियो । झण्डा फेर्दा पूर्व मोहडा गरेर फेर्नुपर्ने छ । असोज १४ गते शुक्रबार पचलीभैरव यात्रा भयो । आज असोज १६ गते आइतबार फूलपाती पर्व परेको छ । यसै दिन बिहान १०: ०५ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११: ३५ बजेको छ । असोज १७ गते सोमबार महाअष्टमी पर्व परेको छ ।

राति भने कालरात्रि पर्व मनाइन्छ । असोज १८ गते मङ्गलबार महानवमी पर्व परेको छ । असोज १९ गते बुधबार विजयादशमी पर्व परेको छ ।

नेपालीको महान् पर्व बडादशैँको यो मुख्य दिन हो । यस दिन बिहान ७: ३५ बजे तुलजा भवानी यात्राको साइत छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८: ४७ बजे रहेको समितिले जनाएको छ । खड्गयात्रा पनि यसै दिन परेको छ । असोज २२ गते शनिबार सबै बलिपूर्ति गर्नुपर्ने छ । असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको छ । यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दशैँ पर्व समापन हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *