ज्येष्ठ नागरिकको संरक्षणका लागि सबै सहयोगी बनौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको संरक्षणको लागि घर परिवारदेखि राज्यतहसम्मका सबै संयन्त्र र संरचना सक्रिय र सहयोगी रहनुपर्ने उल्लेख गरेका छन् ।

३२ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देशमार्फत उनले ज्येष्ठ नागरिकलाई सदैव स्नेह र सद्भाव प्रकट गर्न, उनीहरूमाथि कुनै पनि किसिमको दुव्र्यवहारको घटना घट्न नदिन र उच्च प्राथमिकताका साथ राज्यका तर्फबाट सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनीहरूलाई पहिलो प्राथमिकता दिई उच्च सम्मान दर्शाउन सबै प्रतिबद्ध हुन आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।

‘यसको लागि म सम्बद्ध सबै निकायलाई निर्देशन दिन चाहन्छु । परापूर्वकालदेखि हाम्रो सामाजिक–सांस्कृतिक परम्परामा चलिआएको ज्येष्ठ नागरिकलाई आदर र सम्मान गर्ने परम्परालाई अक्षुण्ण राख्दै यो ज्ञान नयाँ पुस्तासमेतमा हस्तान्तरण गर्न आवश्यक छ’, प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष १ अक्टोबरको दिनलाई विश्वभर अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिएको छ । यस वर्ष ‘परिवर्तनशील विश्वमा ज्येष्ठ नागरिकप्रति लचिलोपन” भन्ने अन्तर्राष्ट्रिय नारा र ‘ज्येष्ठ नागरिकको उत्थानशीलताः बदलिँदो विश्वको लागि अपरिहार्यता’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

प्रधानमन्त्री देउवाले दिवसका अवसरमा विभिन्न ज्ञान, सीप र अनुभव सँगालेका सम्पूर्ण ज्येष्ठ नागरिकमा बधाई तथा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, सुस्वास्थ्य र खुसीयालीपूर्ण दीर्घजीवनको कामना गरेका छन् । संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरे पश्चात् सन् १९९१ देखि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै आइएको छ ।

यो दिवस ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्ने, उनीहरूले देश, समाजको परिवर्तन, विकासका लागि गर्नुभएको योगदानको स्मरण गर्ने, समाजमा ज्येष्ठ नागरिकलाई सुरक्षित र सम्मानपूर्ण जीवनयापन गर्ने वातावरण सुनिश्चित गर्न सबैले प्रतिबद्धता जाहेर गर्ने दिन भएको उनले उल्लेख गरेका छन् । नेपालको संविधानले ज्येष्ठ नागरिकको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरी उनीहरूलाई राज्यको तर्फबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने कुराको प्रत्याभूति गरेको छ ।

तदनुसार नेपाल सरकारले ज्येष्ठ नागरिकको कल्याण र सुरक्षाको लागि विभिन्न व्यवस्था गर्नुका साथै राज्यबाट प्रदान गरिने स्वास्थ्य सेवालगायत विभिन्न सेवा तथा सुविधामा विभिन्न सहुलियत प्रदान गर्दै आएको प्रधानमन्त्री देउवाले बताएका छन् । उनले ज्येष्ठ नागरिकलाई प्रदान गरिएको सेवा र सहुलियतपूर्ण व्यवस्थालाई आगामी दिनमा राज्यको क्षमतामा वृद्धि भएसँगै थप फराकिलो बनाउँदै लगिने उल्लेख गरेका छन् ।

व्यक्तिको सरदर आयुमा भएको वृद्धिसँगै हालका वर्षमा हाम्रो समाजमा पनि ज्येष्ठ नागरिकको जनसंख्या तीव्र गतिमा बढ्दैछ । हाल नेपालमा ज्येष्ठ नागरिकको संख्या करिब ३० लाखको हाराहारीमा रहेको छ ।

प्रधानमन्त्री देउवाले आफ्नो ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने क्रममा सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तालगायत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराएका छन् । ‘सरकारले हरेक अस्पतालमा जेरियार्टिक वार्ड अर्थात् ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने नीतिको कार्यान्वयन केही अस्पतालबाट सुरु गरिसकेको छ भने ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्तामा बृद्धि गरी हाल मासिक चार हजार रूपैयाँ पु¥याइएको छ’, उनले उल्लेख गरेका छन् ।

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका विशाल भण्डार हुन् । उनीहरूले जीवन कालमा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक विकासमा बढीभन्दा बढी परिचालन गरी त्यसबाट अधिकतम् लाभ लिन हामी सदैव तत्पर रहनु पर्दछ ।

यसको लागि ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्ने वातावरण सृजना गर्न तीनवटै तहका सरकारले विभिन्न रचनात्मक कार्यक्रम अघि बढाउन आवश्यक रहेकामा उनले जोड दिएका छन् । ज्येष्ठ नागरिकले आजको नयाँ पुस्तालाई नैतिकता, सदाचार र सत्मार्गको बाटो देखाइ सभ्य र सुसंस्कृत जीवन जीउन उत्प्रेरित गर्नुका साथै समाजमा असल संस्कृतिको प्रवर्द्धन गर्न समेत महत्वपूर्ण योगदान गर्न सक्दछन् ।

ज्येष्ठ नागरिकको अधिकारको रक्षा र प्रवर्द्धन गर्नका लागि सरकारले अन्तरराष्ट्रियस्तरमा विभिन्न प्रतिबद्धता जनाएअनुसार त्यसलाई कार्यान्वयन गर्न मुलुकको आन्तरिक कानून तथा नीतिमा तदनुरूप सुधार र परिमार्जन गर्ने कार्य निरन्तर अघि बढाएको छ ।

प्रधानमन्त्री देउवाले भनेका छन्, ‘यस सन्दर्भमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा हालसालै गरिएको संशोधनले ज्येष्ठ नागरिकको हक अधिकारलाई थप सुदृढ तुल्याउँदै उनीहरूलाई सुखी र सम्मानपूर्ण जीवनयापन गर्न दिने दिशामा थप सहयोग पुर्याउनेछ भन्ने मलाई लागेको छ ।’

ज्येष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित एवम् सम्मानित बनाइ सामाजिक न्याय कायम गर्न सरकार कटिबद्ध रहेको उल्लेख गर्दै उनले यसै परिप्रेक्ष्यमा सातवटै प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आश्रम निर्माण गर्ने र स्थानीय तहमा ज्येष्ठ नागरिकबीच अनुभव आदान–प्रदान गर्न ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने सरकारको योजना कार्यान्वयनको चरणमा रहेको जानकारी गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *