दसैँको छैठौ दिन : आज कात्यायनी देवीको पूजा-आराधना गरिँदै

काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शनिबार घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । आजका दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।

आज बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्दछ । उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ ।

नवरात्रको छैटौँ दिन अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनी भगवतीको पुजाअर्चना गर्ने परम्परा रहेको छ । कात्यायनी भगवतीको पूजा गरेमा रोग शोक भय दुख दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायनी रहन गएको कथन रहेको छ ।  तिनै कात्यायनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता रहेको छ ।

दुर्गादेवीले आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजाआराधना गर्ने शास्त्रीय नियम छ । दसैँमा नौ दिनसम्म शक्तिपीठ तथा दसैँघरमा पूजा अर्चना सहित दुर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ ।

दुर्गा कवच मन्त्र :-

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।

पहिलो दिन शैल्यपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौँ दिन स्कन्द माता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरी दसैँमा शक्ति पूजा गर्ने प्रचलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *