किरात राई पत्रकार संघले मनायाे १५औं स्थापना दिवस, पत्रकार राई सम्मानित

काठमाडाैँ । किरात राई पत्रकार संघले आफ्नाे १५औं स्थापना दिवस मनाएकाे छ । संघकाे केन्द्रीय कार्यसमिति र काठमाडाैँ उपत्यका समन्वय समितिले शुक्रबार किरात राई यायाेक्खाकाे मुख्यालय काेटेश्वर, काठमाडाैँमा स्थापना दिवस मनायाे भने जिल्ला तथा सम्बन्धन शाखाहरूले पनि विभिन्न कार्यक्रम गरी मनाए ।

किरात राई यायाेक्खाका केन्द्रीय महासचिव भीम राईकाे प्रमुख आतिथ्यतामा मनाइएकाे स्थापना दिवसमा पत्रकार सइन्द्र राई सम्मानित भए । उनलाई किरातीजन्य संस्कारअनुरूप पगरी गुथाइ सम्मानपत्र र अक्षकाेषबाट नगद साढे १० हजारकासाथ सम्मान गरिएकाे हाे । पत्रकार राईलाई कार्यक्रमका सभाध्यक्षसमेत रहेका संघका अध्यक्ष अवतार राईसँगै प्रमुख अतिथि भीम राई तथा उपस्थित अतिथिहरूले सम्मान गरे ।

कार्यक्रमका बीच प्रमुख अतिथिकाे रूपमा रहेका भीम राईले किरात राई पत्रकार संघ सशक्त नभइ समुदाय सशक्त नहुने विचार व्यक्त गरे । उनले भने, ‘तपाईंहरू राष्ट्रकाे चाैथाे अङ्ग हुनुहुन्छ । एउटा समाज, समुदाय सशक्त बन्नका लागि तपाईंहरूकाे उत्थान र सशक्तता आवश्यक पर्दछ ।’ यस्तै कार्यक्रमका सभाध्यक्ष अवतार राईले किरात राई पत्रकारहरूकाे उत्थान, हक, हित र अधिकारका लागि सदैव संस्थागतरूपमा लडिने बताए । ‘हाम्राे संस्था स्थापना भएकाे १५ वर्ष भएपनि यसबीचमा चाहेअनुरूपकाे काम गर्न सकेनाैँ, अब यसबाट पाठ सिक्दै आगामी दिनमा किरात राई पत्रकारहरूका लागि सकारात्मक कदम चाल्नेछ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *