युक्रेनी भूभाग रुसमा गाभिएको घोषणा गर्दै पुटिन, बाइडनले दिए चेतावनी

काठमाडाैँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रवार युक्रेनका थप चारवटा क्षेत्रलाई आफ्नो देशमा गाभ्ने उद्देश्यले एउटा हस्ताक्षर समारोह आयोजना गर्ने भएका छन् । रुसी नियन्त्रणमा रहेका ती क्षेत्रमा भएको भनिएको जनमतसङ्ग्रहपछि पुटिनले उक्त विलयसम्बन्धी समारोहको गर्न लागेका हुन् ।

रुसले जनमतसङ्ग्रह भनेको उक्त मतदानलाई युक्रेन र पश्चिमा राष्ट्रहरूले छद्म भनी निन्दा गरिरहेका छन् । रुसी कब्जामा रहेका ती क्षेत्रमा रुस-समर्थित अधिकारीहरूले यसअघि पाँच दिन भएको मतदातपछि  लगभग पूर्ण जनसमर्थन रुसमा गाभिने पक्षमा गएको दाबी गरेका थिए ।

स्वघोषित तर अन्तर्राष्ट्रिय मान्यता नपाएका युक्रेनबाट टुक्रिएका डोनेट्स्क र लुहान्स्कका पूर्वी क्षेत्रहरूमा मतदान भएको थियो । जापोरीजा र खेअर्सनको दक्षिणी क्षेत्रका रुसी कब्जामा रहेका भागहरूमा पनि मतदान गराइएको थियो ।

घोषणाको तयारी
रुसी राष्ट्रपतिले शुक्रवार क्रेम्लिनमा मुख्य मन्तव्य दिनेछन् । मस्कोको रेड स्क्वेअरमा पहिले नै एउटा मञ्च तयार पारिएको छ । ती चारवटा क्षेत्रलाई रुसी भूभागको रूपमा घोषणा गर्ने बिलबोर्डहरू तयार छन् र साँझमा साङ्गीतिक कार्यक्रम पनि हुनेछ ।

यो तयारीले सन् २०१४ मा रुसले क्राइमियालाई आफ्नो देशमा गाभेको घटनाको झल्को दिएको छ । त्यस बेला पनि एउटा अन्तर्राष्ट्रिय मान्यता नपाएको जनमतसङ्ग्रहपछि ती क्षेत्रलाई रुसमा गाभिएको घोषणा गरिएको थियो । त्यस बेला राष्ट्रपतिले हस्ताक्षर गरेपछि संसद्‌मा राष्ट्रपतिले लडाइँमा विजयी भएको मन्तव्य दिएका थिए र ती क्षेत्र आफ्नो देशका अङ्ग भएको घोषणा गरिएको थियो । उक्त विलयलाई अधिकांश अन्तर्राष्ट्रिय समुदायको हालसम्म मान्यता दिएको छैन ।

अमेरिकी चेतावनी
अमेरिकाले ‘छद्म जनमतसङ्ग्रह’का कारण रुसमाथि थप प्रतिबन्ध लगाउने बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनी भूभागमा गरेको उसको दाबीलाई कहिल्यै पनि मान्यता नदिने स्पष्ट पारेका छन् ।

मस्कोले आफूले कब्जा गरेका चारवटा क्षेत्रलाई विलय गर्ने घोषणा गर्ने तयारी गरिरहेका बेला उनको यस्तो भनाइ आएको हो । बाइडनले रुसले साम्राज्यवादी महत्वाकाङ्क्षा लिएको आरोप लगाए र उसले रुसी नियन्त्रणमा रहेका युक्रेनी भूभागमा गरेको जनमतसङ्ग्रहलाई पूर्णत: छद्म कार्य भएको बताए ।

यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले पनि रुसलाई आफ्नो विलय योजनाबाट पछि हट्न आग्रह गरेका थिए । उनले त्यस्तो विलयले सङ्कट थप बढाउने र आधुनिक युगमा त्यस्तो कार्यका लागि कुनै स्थान नभएको भनेका थिए । ईयूका सदस्यराष्ट्रहरूले मतदान गराउन संलग्न जोसुकैमाथि प्रतिबन्धसहित आठौँ चरणको प्रतिबन्धबारे विचार गरिरहेको बताएका छन् ।

जर्मनीकी विदेशमन्त्रीले बिहीवार रुसी कब्जामा रहेको युक्रेनी भागमा रहेका मानिसहरूलाई उनीहरूको घर र कार्यस्थलबाट धम्की दिएर र कहिलेकाहीँ गोली प्रहार गरेर जबरजस्ती मत हाल्न लगिएको बताएकी थिइन् । उनले त्यसैले उक्त जनमतसङ्ग्रह स्वतन्त्र र निष्पक्ष नभएको दाबी गरिन् । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *