बजारमा सडेगलेका माछामासु फेला, ब्यापारीलाई उन्मुक्ति

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाको टोली बिहिबार बिहानै विराटनगर ९ को एउटा मासु पसलमा पुग्यो ।

विराट एकिकृत कृष फर्म प्रा.लि.मा पुगेको टोलीले त्यहाँको अबस्थाको बारेमा जानकारी लियो । अनुगमन गर्दै जाने क्रममा टोलीले फर्मका सञ्चालक मोहनप्रसाद चापागाईले फ्रिज भित्र ६ महिना देखिको माछा राखेको भन्ने पत्ता लगायो ।

फ्रिज भित्र रहेको १९ किलो माछा रहेको र त्यसबाट दुर्गन्ध फैलिएको फेला पारेपछि नष्ट गरिएको बजार अनुगमनका सदस्य महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख दिपक पौडेलले जानकारी दिए ।

फर्मका संचालक चापागाईलाई ब्यवसायसँग सम्बन्धित कुनैपनि कागजात नदेखाएकोले दुई दिन भित्र कागजात सहित महानगरपालिकामा हाजिर हुन भनिएको छ। ६ महिनादेखि फ्रिजमा सडेको माछा राख्ने ब्यवसायीलाई महानगरपालिकाले कुनै कार्वाहीको भने गरेको छैन ।

त्यस्तै अनुगमन टोलीले विराटनगर महानगरपालिका वडा नम्बर ८ मा रहेको न्यू गाउँले मिट पसलका संचालक मो. कैयुम खानलाई मासुमा अखाद्य रंग प्रयोग गरेको भन्दै कार्वाहीको चेतावनी दिएको छ।


मिट पसलले मासु रंगाउने (चम्पाई) अखाद्य रंग प्रयोग गरेकोले अब उप्रान्त उक्त रंग प्रयोग नगर्ने शर्तमा रंग प्रयोग गरेको मासुको छाला हटाउन लगाईएको निरिक्षण अधिकृत हरिप्रसाद हुमागाईले जानकारी दिए । अखाद्य रंगको प्रयोग गरेको यो पसलका संचालकलाई पनि सचेत मात्र गराईएको तर कुनै कार्वाही गरिएको छैन ।

विराटनगर महानगरपालिका वडा नम्बर २मा आशचरण माझीले सञ्चालन गरेको नवि मिट सेन्टरमा पनि कुहिएको खसीको मासु फेला परेको छ । फ्रिजमा राखेको करिब ४ किलो खसीको मासुबाट दुर्गन्ध आएको देखिएकोले उक्त मासु नष्ट गरिएको पौडेलले बताए ।

ब्यवसाय (बिक्री) स्थलमा खसीको चिन्ह नभएको मासु (चिन्ह हटाएको) ५ किलो मासु भेटिएपछि उक्त मासुपनि नष्ट गरिएको महानगरपालिकाले जनाएको छ। अनुगमन टोलीले ३० किलोको ईलेक्ट्रिक तराजु पनि जफत गरेको छ । ब्यवसाय संचालकलाई ब्यवसायसँग सम्बन्धित कागजात सहित २ दिन भित्र महानगरपालिकामा उपस्थित हुन भनिएको अनुगमनका सदस्य पौडेलले जानकारी दिए ।

विराटनगर ३ मा बिन्दा थापाले संचालन गरेको न्यु शम मिट सेन्टरमा पनि अखाद्य रंग प्रयोग गरेको पाईएको छ। ब्यवसाय संचालकलाई ३ दिन भित्र महानगरमा उपस्थित हुन भनिएको छ। विराटनगर ६ मा रहेको वेलकम खान फ्रेस हाउसमा पनि महानगरपालिकाको टोलीले अनुगमन गर्दा बिक्री बिल जारी गर्दा कार्वन प्रयोग गर्न र प्यानमा दर्ता भएर मात्र ब्यवसाय संचालनगर्न निर्देशन दिएको छ।

विराटनगरमा पछिल्ला दिनहरुमा प्रसस्त अखाद्य बस्तुहरु बजारमा फेला परेको छ । बजार अनुगमन प्रभावकारी नभएको गुनासोका आधारमा विराटनगर महानगरपालिकाको बजार अनुगमन टोलीले बिभिन्न मासु पसल, डेरी उद्योगहरुमा अनुगमन गर्दा अधिकांश पसल तथा उद्योगहरुमा अखाद्य बस्तु फेला परेको विराटनगर महानगरपालिकाले जनाएको छ।

अनुगमनका क्रममा अखाद्य बस्तु फेला परेपनि नियन्त्रणमा लिने, जफत गर्ने र नष्ट गर्ने बाहेक ब्ययसाय संचालक कार्वाहीमा परेका छैनन् ।

नागरिकको स्वास्थ्यसँग खेलबाड गर्ने ब्यवसायीलाई कार्वाही हुनु पर्ने उपभोक्तावादी संस्था पब्लीक फोरमका अध्यक्ष उत्तम ढुंगेल बताउँछन् । निरिक्षण अधिकृतले ठाउँको ठाउँ नै कार्वाही हुनु पर्नेमा त्यस्तो नहुनु दुखद रहेको बताए ।

विराटनगर महानगरपालिकाले बजार अनुगमन गर्ने सन्दर्भमा जानकार तथा अनुगमन गर्ने नियकासँग बसेर कसरी अनुगमन गर्ने र कार्वाही गर्ने बारेमा छलफल नगरेको कारण महानगरपालिकाले अहिलेसम्म कसैलाई कार्वाही गर्न नसकेको उनको ठम्याई छ ।

महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख दिपक पौडेलले पहिलो पटक सचेत गराएर मात्र छाडिएको बताए । उपभोक्ता हित संरक्षण ऐन, नियमावलीका आधारमा महानगरपालिका आफैँले पनि निर्देशिका बनाएर कार्यान्वायनमा लगेको उनको भनाई छ । पहिलो पटक सचेत गराउने र दोश्रो पटक उल्लंघन गरे जरिवाना र कार्वाही हुने उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *