एमाले परित्याग गरेका गंगाराम यादव जसपामा प्रवेश

जनकपुरधाम । नेकपा एमाले परित्याग गरेको घोषणा गरेको दुई दिनमै नेता गंगाराम यादव जनता समाजवादी पार्टी जसपामा प्रवेश गरेका छन् ।
धनुषाको शहिदनगरमा आयोजित एक समारोहबीच जसपा अध्यक्ष उपेन्द्र यादवले नेता यादवलाई पार्टीमा भित्र्याए । स्रोतका अनुसार नेता यादवलाई जसपा अध्यक्ष यादवले धनुषा २ बाट उम्मेदवार बनाउने आश्वासनसहित पार्टी प्रवेश गराएका छन् ।
धनुषा २ बाट नेकपा एमालेले उमाशंकर अरगरियालाई उम्मेदवार बनाउदैछन् । असोज ८ मा धनुषामै आएर एमाले अध्यक्ष केपी ओलीले अरगरियालाई भित्र्याएपछि नेता यादव रुष्ट थिए । ओलीले अरगरियालाई उम्मेदवार बनाउने भएपछि नेता यादव एमाले परित्याग गरे ।
टिकटको लोभमा जसपामा प्रवेश गरेपनि नेता यादवले सत्ता गठबन्धनबाट उम्मेदवार हुने सम्भावना न्यून छ । धनुषा २ बाट हेभिवेट मानिने काँग्रेसका रामकृष्ण यादव र नेकपा एकिकृत समाजवादीका रामचन्द्र झा दावेदार छन् । उनी दुबैजना पूर्वमन्त्री हुन् । स्रोतका अनुसार झा वा यादवमध्ये नै कोही सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार हुने सम्भावना छ ।








