विराटनगरका सीमा क्षेत्रमा हिंसा न्युनिकरणको प्रयास

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १६ की कमला सुब्बा बिगत डेढ बर्षदेखि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सञ्जाल समुहकी संयोजक छिन् । यो अबधिमा मानव ओसारपसार तथा लैगिक हिंसा बिरुद्धका धेरै बिषयहरु उनीसामु आए ।
सासू ससुरा र बुहारी बिचको झगडा तथा कुटपिट, ससुराले बुहारी कुटेको, श्रीमान–श्रीमतीको बेमेल र कलहहरू आउने गरेको उनले जानकारी दिईन् । यस्ता समस्या समुह सञ्जालमा आएपछि वडासँग समन्वय गरेर काम गर्ने गरिएको उनको भनाई छ।
‘समिति गठन गरेपछि सजिलो भएको महिलाहरुले बताउने गरेका छन्, उनले भनिन्, लेनदेनका कुराहरूपनि मिलाउने गरिएको छ ।’ लैङ्गिक हिंसा निवारण र मानव बेच बिखन बिरुद्धको अभियानमा १५ नम्बर वडा समुह सञ्जाल मात्र हैन वडा नम्बर १६ की समुह सञ्जालकी संयोजक दिपा पौडेलले एक बर्षमा १० वटा विवाद मिलाएको बताईन् ।
हिंसामा परेका महिलाहरुका विवाद मात्र आएको छैन, लामो समयदेखि सम्बन्ध तोडेर बसेको परिवारलाई मेलमिलाप गराउन सफल भएको पौडेल बताउँछिन् । वडा नम्बर १३ की संयोजक कुन्ति यादवले पहिला आमा समुहमा काम गर्ने महिलाहरु तथा स्वयम सेविकाहरु नै समुह सञ्जालमा रहेको कारणले गर्दा काम गर्न निक्कै सजिलो भएको बताईन् ।
बिहिबार विराटनगरमा माइती नेपाले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि वडा नम्बर १३, १५ र १६ का सञ्जाल समुह र एकद्वार संकट ब्यवस्थापन केन्द्र बारेमा छलफल गरेको थियो । माइती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले वडा नम्वर १३ मा एक हप्ता अगाडि सञ्जाल समूह गठन भएको र दुई वडा १५ र १६ मा एक बर्ष पहिला नै समूह गठन भएको जानकारी दिए ।
समुह सञ्जाल मार्फत मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणकालागि काम भईरहेको जानकारी दिए । सीमा क्षेत्रमा हुने मानव ओसारपसार, बेचविखन नियन्त्रणमा समुहले काम गर्ने गरेको पोखरेलको भनाई छ । माइती नेपालकी गिताञ्जली शर्माले पछिल्लो समय सीमा नाका लक्षित समुहहरु परिचालनमा रहेको बताईन् । यस्ता समुहहरुलाई प्रहरीसँग जोड्ने काम पनि भएको उनको भनाई छ।








