‘संस्कृति’ बचाउनेलाई पुरस्कार !

काठमाडाैँ । संस्कृति भनेकाे के हाे ? यासद यसकाे जवाफ हामीले ब्यूँझिएदेखि नसुतुन्जेलसम्म गर्ने अनेकन क्रियाकलापहरूमा भेटिन्छ । त्याेभन्दा माथि उठेर भन्ने हाे भने संस्कृति त्याे हाे, जसले समाजलाई केही सिकाउँछ र आफ्नाे धरातल भुल्न दिँदैन । जुन हामीबाटै हुन्छ तर, त्याे पाच्य हुनुपर्‍याे ।

दशैं, तिहार, छठ, ल्योसार, विभिन्न जात्रा; यी र यस्तै क्रियाकलापहरू पनि संस्कृति हुन् । यसलाई बचाउनु मात्रै हाम्राे जिम्मेवारी हाेइन, समयानुकूल सापेक्षतामा लाउनू पनि मानव समाजकै जिम्मेवारी हाे । हिजाेआज विस्तारै हाम्रा संस्कृतिहरूमाथि खासगरी पश्चिमा देशहरूले अतिक्रमण गरिरहेका छन् भनेर भनिन्छ, त्याे प्रत्यक्षरूपमा हाेस् वा पराेक्षरूपमा हाेस् । जुन सैन्य आक्रमणभन्दा पनि कैयन् गुणा बढी प्रत्यूपादक हुन्छ भनेर भनिन्छ ।

उसाे त हामीलाई आफ्नाे संस्कृति बचाउन कठिन त पक्कै हाेला । तर यी कठिनाइलाई चुनाैती दिँदै त्यही काममा जुटेकाे छ— भक्तपुर नगरपालिका । नगरपालिकाले गाईजात्रा र अन्य व्यङ्ग्यत्मक नाचमार्फत हाम्राे संस्कृतिमाथिकाे आक्रमणलाई देखाइदियाे र हामी सचेत रहनुपर्छ है भनेर देखाइदियाे । ती नै कलाकारहरूलाई नगद पुरस्कार दिइयाे ।

बाजागाजा र नृत्यमा प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान हासिल गरेका कलाकारहरूलाई ४ लाख ४७ हजार नगद पुरस्कार प्रदान गरियो । साथै ती कलाकारहरूलाई निर्देशन गर्ने सांस्कृतिक गुरुहरूलाई पनि सम्मानस्वरुप ४ लाख ४४ हजार गरी जम्मा ८ लाख ९१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियाे । भक्तपुरका विभिन्न ठाउँहरूमा प्रदर्शन गरिएको देवी (नाच) प्याखम, भालु प्याखम, लाखे प्याखम गरी विभिन्न विधाका प्रस्तुति र गीतसङ्गीतलाई मूल्याङ्कन गरी पुरस्कृत गरीएको छ । जसमा देवी प्याखमअन्तर्गत गल्छी पूखु प्रथम, घलादेवि पूखु दोस्रो र खड्कादेवी प्याखम समूहले तेस्रो स्थान हासिल गरेको थियाे । मूल्याङ्कन गर्दा अभिनय, पोसाक, बाजा, अनुशासन, कलाकार, नगर परिक्रमा, समयको परिपालन आदि कुराहरूलाई हेरिएको थियो ।

सांस्कृतिक कार्यक्रममा भक्तपुरका मेयर सुनिल प्रजापति, प्रतिनिधि सभाका सांसद प्रेम सुवाल, संस्कृतिविद् विश्व मोहन जोशीलगायतका अन्य सांस्कृतिकर्मीहरूकाे उपस्थिति थियाे । संस्कृतिविद् विश्व मोहन जोशी भन्छन्— ‘सांस्कृतिकरूपले हामी उपनिवेश भइरहेको छौँ । हाम्रा संस्कृति र पहिचानलाई बचाउनलाई पुराना पुस्ताले नयाँ पुस्तालाई संस्कृति हस्तानतरण गरेर राष्ट्रलाई जोगाउनुपर्छ ।’

साथै विद्यालयका पाठ्यपुस्तकमा पनि बाजागाजाको अध्ययनका विषय समावेश गर्ने योजना बनाइरहेको जानकारी उनले दिए ।

भक्तपुरका मेयर सुनिल प्रजापतिकाअनुसार तुलनात्मकरूपमा गतवर्ष भन्दा यसपटकको सांस्कृतिक कार्यक्रममा महिला, युवा र बालबालिकाको सहभागिता बढेको छ र यस सहभागितालाई निरन्तरता दिन अझ सहज मार्ग तयार पार्दै लैजाने बताए । त्यस्तै कलाकारहरूलाई सम्मान गर्न पाउनु भक्तपुर नगरपालिकाका लागि हर्षको विषय रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *