जिबिएनसिमा पहिलो पटक महिला नेतृत्व, अन्जु थापा बनिन् अध्यक्ष

काठमाडौँ । ग्रेटर बोस्टन नेपाली समुदाय (जिबिएनसि)को अध्यक्षमा अन्जु थापा निर्वाचित भएकी छन् । सन् १९८९ मा स्थापित संस्थाको आगामी कार्यकाल (२०२२–२०२४) का लागि अध्यक्षमा थापा निर्वाचित भएकी हुन् ।

योसँगै जिबिएनसिमा ३४ वर्षपछि क्रमभंग भएको छ । दुई वर्षीय कार्यकालसम्म सहमति भनिँदै नयाँ कार्यसमिति चयन गरिँदै आइरहेको भएपनि निर्वाचन मात्र भएन पहिलो पटक महिना नेतृत्व भएको हो ।  अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदका लागि आकाङ्क्षीहरुबीच सहमति जुट्न नसकेपछि, छिनोफानो गर्नका लागि मतदान प्रक्रियाको सहायता लिनु परेको थियो ।

गत सेप्टेम्बर २५ तारिख आइतबारका दिन सम्पन्न निर्वाचनले, आगामी कार्यकालका लागि थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको नेतृत्व लिन अध्यक्ष पदका लागि अन्जु थापा, परशुराम फुयाँल र जलप्रसाद घिमिरे चुनावी मैदानमा थिए । मतदान प्रक्रिया सुरु हुनु अगाडि नै जलप्रसाद घिमिरेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि थापा र फुयाँलबीच कुनै एकमा सहमति जुटाउने प्रयास असफल भएपछि नेतृत्व चयनको अन्तिम टुङ्गो लगाउन मतदान प्रक्रियामा प्रवेश गरिएको हो ।

विरोचन नेपालको संयोजकत्वमा प्रेम तामाङ र भुवन गुरुङ सदस्य रहेको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार, थापाले आफ्नो प्रतिस्पर्धी फुयाँललाई ९५ मतान्तरले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भइन् ।  निर्वाचन मत परिणाम अनुसार थापाले २५८ मत प्राप्त गरी संस्थाको बागडोर सम्हाल्न सफल हुँदा, फुयाँलले १६३ मत प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्ष पदमा सन्दिप भट्टराई निर्वाचित भए । निर्वाचनले संस्थाको अन्य पदाधिकारी र सदस्यहरू भने निर्विरोध चयन गरेको छ । उपाध्यक्ष पदका लागि भने चिरञ्जीवी आचार्य, नवराज जमरकट्टेल र सुनिल नेपाली चुनावी मैदानमा थिए ।  मतदान प्रक्रिया सुरु हुनुभन्दा अगाडि नै नवराज जमरकट्टेलले चुनावी प्रक्रियाबाट आफ्नो उम्मेदवारी फिर्ता लिएपछि संस्थाको विधान अनुसार दुई उपाध्यक्ष पदका लागि आचार्य र नेपाली निर्विरोध निर्वाचित भएका हुन् ।

महिला उपाध्यक्ष पदमा भने सानु बर्मा अधिकारीको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भइन् । महासचिव पदमा सोनाम शेर्पा, सचिव पदमा मिलन बस्नेत, कोषाध्यक्ष पदमा अजय कुशवाह र सह–कोषाध्यक्ष पदमा प्रकाश खड्का पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

संस्थाको विधान अनुसार २४ सदस्य पदका लागि भएको निर्वाचनले, चुनावी मैदानमा उत्रिएका १९ जना सदस्यहरुलाई पनि निर्विरोध निर्वाचित गरेको छ । निर्वाचन समितिका अनुसार, निर्वाचन प्रक्रियाका क्रममा १९ जनाले मात्र उम्मेदवारी दर्ता गरेकाले उम्मेदवारी दर्ता गर्ने सबै निर्विरोध निर्वाचित भएका हुन् ।

भीमप्रसाद आचार्य, युवराज सुवेदी, प्रभा गौतम, प्रमीला धमला बञ्जरा, रोशन यादव, सौरभ अधिकारी, भरत बञ्जरा, दीपक कटुवाल, अभिषेक आचार्य, अजय कुमार ढकाल, नवराज जमरकट्टेल, आङ्दावा शेर्पा, अजित पोखरेल, राज लामा, बिराज गुरुङ, सुनिता भण्डारी, सुवर्ण केसी, अशोक काफ्ले र सजना अधिकारी सदस्य पदमा निर्वाचित भएका छन् ।

नेपाली, आप्रवासी नेपाली र नेपाली भाषीहरूलाई सङ्गठित गरी उनीहरूको उत्थानका लागि यथाशक्य काम गर्ने मूल उद्देश्य लिएर स्थापित यस संस्थामा, हाल ६४ जना आजीवन सदस्य र ६६२ जना साधारण सदस्य गरी, जम्मा ७२६ जना सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 12 =