उजाड मरुभूमिमा मछेलीको पानी छरिँदा

सहजपुर । कैलालीको गोदावरी नगरपालिका–१२ का चन्द्र सिंह बडैला अहिले ८१ वर्षका भए । त्यस्तै २०:२२ वर्षका छँदा पहाडमा समस्या भएपछि उनको परिवार तराई झ¥यो । गोदावरी नगरपालिका–१२ ओलानीमा जङ्गल कटान गरेर उहाँसँगै आएका आठ/दश परिवार पनि बसे । जङ्गल काटेर बस्त बसेसँगै उनीहरुले खेतीपातीको लागि सङ्घर्ष गरे ।
उब्जनीलाई जमिन तयार भयो तर पानी भएन । नजिकै मछेली खोलामा पानी थियो, तर ल्याउन सकिएन । वर्षाको भरमा सिँचाइ गर्नुपर्ने बाध्यता आइलाग्न थालेपछि उनीहरुले जसोतसो एउटा कुलोसम्म ल्याउने निर्णय गरे । ‘त्यतिखेर मछेलीमा पानी भए पनि हामी बाली सिँचाइका लागि आकाशको पानी कुर्न बाध्य थियौँ’, उनले भने, ‘सरकारसँग सङ्घर्ष गरी २०२६ सालमा नापी ल्याएर बनाएको जमिन बाँझै रहने चिन्ताले सताउन थालेपछि कुलो पु¥याउन सफल भयौँ ।’ कुलोमा खासै पानी नआउने र बीचबीचमा खोलाले भत्काउन थालेपछि समस्या झन बल्झियो ।
विसं २०४५ अघिसम्म बडैलाको जीवन सिँचाइलाई पानी ल्याउने कार्यमा बित्यो । त्यसपछि भने उहाँमा आशाको किरण देखियो । त्यो थियो सरकारको मोहना सिँचाइ आयोजना निर्माणको अवधारणा । सरकारले उक्त क्षेत्रमा मछेलीको पानी ल्याउन पानीको स्रोत, त्यसबाट हुने आर्थिक फाइदा आदिबारेमा अध्ययन गरेर सो क्षेत्रमा मोहना सिँचाइ आयोजना निर्माण ग¥यो । सरकारको सिँचाइ विभागअन्तर्गतको उक्त आयोजनाले सिँचाइको समस्या समाधान गर्ने अपेक्षा थियो ।
अपेक्षाअनुसार आयोजनाले समस्या समाधान ग¥यो तर केही वर्षसम्म मात्रै । आयोजना सुरु भएको १० वर्षपछि मछेली खोलामा आएको बाढीले बाँध भत्किँदा पुनः जनताले सिँचाइलाई सङ्घर्ष गर्नुपर्ने अवस्था आयो । रोपाइँ होस् या बालीका लागि सिँचाइ किन नहोस् आकाशे पानीको भर पर्नुबाहेक अन्य विकल्प त्यतिखेर उनीहरुसँग थिएन । सङ्घर्ष गरेर ल्याएको कुलोमा पानी नआउने भएपछि आकाशको अवस्था हेरेर रोपाइँ गर्नुपर्ने बाध्यता आइलागेको बडैलाले सुनाउनुभयो । सरकारले पटक–पटक बाँध निर्माण गरेपनि आयोजनाको बाँध दिगो बन्न सकेन । तर २०७५ सालमा सम्पन्न हुने गरी फेरि सो आयोजना बनेपछि अहिले सो क्षेत्रका जनताले आकाशे पानीको भर पर्नुपर्ने अवस्था छैन ।
पहाडमा पानी नपाएर पीडित बनेका बडैलाको परिवार तराईमा त्यही समस्या भोग्न बाध्य थियो । मछेली खोलाको पानीको सहारामा सो क्षेत्र रोजेका उनीहरुले त्यही ठाउँमा पानीको लागि निरन्तर सङ्घर्ष गरिरहनुपर्ने अवस्थाका बीच बनेको आयोजनाले अहिले ओलानीको मुहार फेरिरहेको छ । उजाड ओलानीमा मछेलीको पानी छर्ने काम अहिले मोहना सिँचाइ आयोजनाले गरिरहेको छ ।
‘सिँचाइलाई सङ्घर्ष गरेर पानी ल्याउने अवस्था थियो’, बडैलाले भने, ‘अहिले मोहना सिँचाइले धेरै सजिलो भयो । भनेको समयमा सिँचाइलाई पानी पाइन्छ ।’ नगरपालिका–११ का गणेशबहादुर खड्काले आयोजनाले ओलानीमा कृषि कार्य सम्भव भएको बताए । ‘उजाड क्षेत्र हो’, उनले भने, ‘आयोजनाले नयाँ प्रविधिसाथ पानी ल्याएपछि एकदमै सहज भयो ।’ पहिले रोपाइँ गर्दा सानो कुलोमा पानी लगाउन बाँध बनाउनुपर्ने थियो । खेतमा पानी पु¥याउँदा फेरि टुट्ने समस्या हुने गरेकोमा अहिले सिँचाइ आयोजनाले भएको उनले बताए ।
गोदावरी नगरपालिका–१२ का वडाध्यक्ष भीमबहादुर खड्काले गरिबीको रेखामुनिका जनताको आर्थिक अवस्था सुधार्न आयोजनाले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । सिँचाइको कार्य कृषिअन्तर्गत भएकाले उक्त क्षेत्रका किसानको उत्पादनमा वृद्धि गर्न एक जना जेटिए राख्दा उपयुक्त हुने उनको भनाइ थियो । उनले त्यसका लागि आयोजनाले पहलकदमी गर्दा किसानलाई सहज हुने बताए ।
मोहना सिँचाइ प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर बडैलाले सिँचाइका क्षेत्रमा विगतमा भन्दा केही सहज भए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताए । सबैलाई सिँचाइको सुविधा पु¥याउन मूल नहर क्षेत्रमा कडाइ गर्न जरुरी छ । ‘तीन हजार तीन सय हेक्टरमा पानी पु¥याउने लक्ष्य हो, अहिले एक हजार पाँच सयदेखि दुई हजार हेक्टरमा पानी पुगेको छ’, उनले भने, ‘कारण मूल नहर नजिककाले बढी पानी प्रयोग गर्नु हो, अर्कोतिर खोलामा पानी कम छ ।’ त्यसको समाधानलाई एउटा नीति बनाउनुपर्ने बताइएको छ ।
हाल उक्त आयोजना धनगढीमा रहेको पथरैया मोहना सिँचाइ व्यवस्थापन कार्यालयअन्तर्गत छ । उक्त कार्यालयका प्रमुख रुपेशकुमार भट्टराईले ओलानी क्षेत्रका किसानलाई सिँचाइमा सहज बनाउन आयोजना निर्माण गरिएको बताए । उनले तीन हजार तीन सय हेक्टरका लागि भनेर बाँध निर्माण गरिएको भए पनि खोलामा पर्याप्त पानी नहुँदा सबै क्षेत्रमा पानी पु¥याउन नसकिएको बताए ।
उनले भने, ‘यहाँ नीति नहुँदा मूल नहर नजिककाले चाहिनेभन्दा बढी पानी लगाउँदा पानी पुग्न पाएन ।’ तल्लो क्षेत्रका किसानको समस्या समाधान गर्न नीति बनाएर कार्यान्वयन गरिने उनले बताए । सिँचाइ सुविधा पु¥याउन सिँचाइ तालिका बनाउन आवश्यक रहेको बताइएको छ । पहिलेको तुलनामा अहिले सिँचाइ आयोजनाले राम्रो काम गरिरहेको छ । ‘पहिले पहिले बाँध टुट्ने भएर राम्ररी काम नभएको अवस्था थियो’, उनले भने, ‘अहिले नयाँ प्रविधिबाट बनाइएको भएर बाँध टुट्ने सम्भावना कम छ, त्यसैले काम राम्रो भएको छ ।’
अहिले सो क्षेत्रका स्थानीयले तरकारी खेती पनि गर्ने गरेका छन् । खानेपानीको समेत सदैव अभाव खड्किरहने ओलानीमा सिँचाइका लागि भने आयोजनाले पर्याप्त पानी उपलब्ध गराएको छ । सिँचाइकै सुविधाका कारण अहिले उक्त क्षेत्रमा धान, गहुँ, तरकारीलगायतका अन्नबाली पर्याप्त मात्रामा फल्छ । आयोजनाले गोदावरी नगरपालिका–१०, ११ र १२ का साथै कृष्णपुर नगरपालिका वडा नं ४ र ५ का केही क्षेत्र समेटेको छ ।








