मधेसको बदलियो राजनीति : नेता तान्दै एमाले, गठबन्धन कुर्दै कांग्रेस

काठमाडौं । चुनाव लागेसँगै ठूला दल मधेस मिसनमा लागेका छन्। एमाले मधेसकेन्द्रितसहित अन्य दलका नेता, कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउन लागेको छ। कांग्रेस गठबन्धनकै पक्षमा देखिन्छ। सत्तारुढ गठबन्धन सिट बाँडफाँट टुंग्याउन कस्सिएको छ। गठबन्धनमै रहेको जसपाले ‘सम्मानजनक भाग’ खोजिरहेको छ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वउपसभामुख चित्रालेखा यादव गठबन्धन नै गरेर जानेमा सबै प्रतिबद्ध देखिएको बताउँछिन्। झनै मधेसको हकमा गठबन्धन अपरिहार्य भएको पूर्वउपसभामुख यादवको बुझाइ छ। ‘गठबन्धन भनेको अहिलेको समयको माग हो। राजनीतिक स्थायित्व, समृद्धि र शान्तिका लागि आवश्यक हो’, पूर्वउपसभामुख यादव भन्छिन्, ‘यसको लक्ष्य भनेको देश र जनतालाई निकास दिन हो। आवश्यकता र समयको मागलाई गठबन्धनमा आबद्ध मधेसकेन्द्रित दल र कांग्रेसले पनि बुझेको छ।’

उनका अनुसार २०७४ मा प्राविधिक कारण थियो। ‘वाम एकता थियो। मधेसी दल एकातिर थिए। कांग्रेस एक्लै लडेको थियो। त्यति हुँदा पनि कांग्रेसले राम्रो मत ल्याएको थियो’, उनी भन्छन्, ‘अहिलेको अवस्थामा कांग्रेस गठबन्धनमा छ। जसमा मधेसी दल जसपा पनि सामेल छ। त्यसैले मधेस प्रदेशमा कांग्रेस बलियो भए पनि गठबन्धन नै गरेर जान तयार छ। अरू साथीहरू पनि तयार हुनुहुन्छ।’

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत मधेस प्रदेशमा पनि गठबन्धन गर्ने कुरा भएको सुनाउँछन्। ‘गठबन्धनकै एक दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवजी गठबन्धन नै गरेर जाने भन्ने पक्षमा हुनुहुन्छ। त्यसो गर्दा मधेसी दललाई नै सहज हो’, प्रवक्ता डा. महत भन्छन्, ‘यद्यपि सिट बाँडफाँटका विषयमा अडान आफ्नै किसिमको भए पनि गठबन्धनबाटै जाँदा उहाँहरूलाई फाइदा छ।’

कांग्रेस मधेसमा बलियो दल भएको उनको भनाइ छ। ‘मधेसी दलले मात्र पनि निर्वाचन जित्न गाह्रो छ। त्यसैले उहाँहरू पनि सिटका विषयमा केही लचक भएर गठबन्धनमै जानुहुन्छ भन्ने छ’, उनी भन्छन्।

माओवादी केन्द्र महासचिव देव गुरुङ मधेसमा मधेसकेन्द्रित दलले दाबी गर्नु स्वाभाविक भएको बताउँछन्। ‘यद्यपि माओवादीको पनि जनमत मधेसमा छ। हामीले आफ्नो जनमतको भाग मागेका हौं’, महासचिव गुरुङ भन्छन्, ‘अब सिट बाँडफाँटमा सहमति हुने क्रममा छ। गठबन्धनमै सबैलाई चित्त बुझाएर जानुपर्ने हुन्छ।’

मधेसलाई घोषणापत्रमार्फत प्राथमिकतामा राखेर अघि बढ्ने पनि गुरुङको भनाइ छ। ‘मुख्य कुरा घोषणापत्रमा आउँछ नै। मधेसी जनताका हकअधिकार संरक्षण र सम्बद्र्धन गर्न मधेसकेन्द्रित हुन्छ’, महासचिव गुरुङ भन्छन्।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली आफ्नो पार्टीले मधेसलाई उच्च महत्व दिएको बताउँछन्। ‘३२ वटा निर्वाचन क्षेत्र छन्। जनसंख्या धेरै छ। राजनीतिक हिसाबले संवेदनशील छ। सही नेतृत्वको खाँचो छ’, नेता ज्ञवाली भन्छन्। उनका अनुसार एमाले मधेसमा केन्द्रित हुनमा दुई–चार पक्ष छन्। ‘मधेस राजनीति चलायमान छ। धार बदलिरहन्छ। एमालेविरुद्ध नेगेटिभ बनाइयो। तर, अहिले आएर मधेसी दलबाट पार लाग्दैन भन्ने भइसकेको छ’, ज्ञवाली भन्छन्, ‘मधेसको विकास र स्थिरताका लागि एमाले नै चाहिन्छ भन्ने भएको छ। मधेसको विकास र स्थिरताको प्रवेश गराउने रणनीति हो।’

मधेसको मुद्दा ओझेल परेर राजनीतिक स्वार्थले गिजोल्ने काम गरेको उनको ठम्याइ छ। ‘सुगम भए पनि विकास र शिक्षा अभाव छ। वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता छ। शीतलहरले मर्नुपर्ने अवस्था छ’, उनी भन्छन्।

मधेसको राजनीतिलाई सही ठाउँमा ल्याउन र जनजीविका जोडिएका मुद्दाका लागि एमाले नै आवश्यक भएको महसुस मधेसमा भएको दाबी उनी गर्छन्। नेतृत्व र जनताबीच विगतमा भ्रम सिर्जना गर्ने काम भएका कारण अन्तर संवादका लागि पनि एमाले मधेसकेन्द्रित भएको उनको भनाइ छ। ‘यसपटक स्थानीय निर्वाचनमा एमालेको विगतभन्दा सुधार भएको छ। मधेसमा एमालेप्रति आकर्षण बढेको छ’, उनी भन्छन् । -अन्नपूर्ण पोस्ट्बाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *