सन्दर्भ : ४३औँ विश्व पर्यटन दिवस

निजी क्षेत्र पर्यटन विकासको पहिलो कडी

आज विश्व पर्यटन दिवस । पर्यटनकर्मीको पर्व । प्रत्येक २७ सेप्टेम्बर यो पर्व मनाइन्छ । सन् १९८० देखि संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनले यसको सुरुवात गरेको हो । अन्तर्राष्ट्रिय भाइचाराको विकास, राजनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्धको विकास गर्ने यसको मूल उद्देश्य रहेको छ । संगठनले यो दिवसलाई विशेष र अर्थपूर्ण बनाउन विभिन्न थिम बनाउने गर्दछ ।

थिम समयानुकूल तय गरिन्छ । सोहीअनुसार पर्यटनलाई दिशानिर्देश गरी पर्यटनको विकास गर्ने र सबैलाई अभ्यास गर्न जागरूक गराउने प्रयास गर्दछ । सेप्टेम्बर महिना पर्यटन दिवस मनाउने उपयुक्त समय मानिन्छ । उत्तरी गोलार्धमा सो वर्षको पर्यटन सिजन समापन हुन्छ । यसैगरी दक्षिणी गोलार्धमा पर्यटन सिजन सुरुवात हुन्छ । यस दिवसका दिन विश्व पर्यटन संगठनले सबैलाई शुभकामना सन्देश दिने गर्दछ । अन्य पर्यटनसँग आबद्ध संघ, संस्थाले यस दिनलाई महत्त्वका साथ लिने गर्दछन् । यस दिन सभा सम्मेलन, छलफल, प्रतियोगितालगायत विभिन्न किसिमका कार्यक्रम गरी मनाउने गरिन्छ ।

यस वर्षको थिम रहेको छ ‘पर्यटनबारे पुनः चिन्तन’ विगतका केही वर्ष कोभिड १९ का कारण हामीले कष्टका साथ समय बिताउनु परेको तितो सत्य हामीसँग छ । पर्यटकलाई देशमा भित्र्याउनु पाउँदा गर्व गर्ने हामी, केही समय एकअर्कालाई देख्दा दूरी तय गर्नुपर्ने बाध्यताबाट गुज्रिन परेको थियो । त्यसबेलादेखि शिथिल बनेको पर्यटन क्षेत्र अझै पनि तङ्ग्रिनू सकेको छैन । पर्यटनलाई पुनः चलायमान बनाउने प्रयास विश्वका प्रायः देशहरूले गरिरहेको छ ।

सोही अनुरूप यसको मध्यनजर गर्दै विश्व पर्यटन संगठनले पर्यटनबारे चिन्तन गर्ने मनसायअनुसार यस वर्षको पर्यटनको नारा पनि पर्यटनबारे पुनः चिन्तन तय गरेको छ । विगतका राम्रा पक्षलाई आत्मसात् गर्दै त्यसबारे चिन्तन गरी पर्यटनलाई अझ चलायमान बनाउने तर्फ हामी अग्रसर भएर अगाडि बढ्नुपर्छ भन्ने सन्देश उक्त नाराले दिएको छ ।

सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा घोषणा गरेपछि आम जनमानसमा पर्यटनप्रति सचेतना र चासो जागेको थियो । सबै पक्षले पर्यटनलाई चासोको रूपमा लिएर आफ्नो तहबाट पर्यटन वर्षलाई सफलतापूर्वक सम्पन्न गर्न लागिपरेका थिए । तर, समय सहज नहुँदा २० लाख बाह्य पर्यटक नेपाल भित्र्याउने लक्ष्य पूरा हुन सकेन । कतिपय व्यवसायीले पर्यटन वर्ष २०२० लाई “टार्गेट” गरी सेवाको स्तर बढाउन लगानी थपेका थिए । कोभिड-१९ का कारण लगानीको प्रतिफल त परै जाओस् लगानी नै डुब्ने स्थिति भयो । कतिपय लगानीकर्ताहरू पलायन हुन पर्‍यो ।

जसोतसो लागिरहेको व्यवसायीलाई पनि टिक्न गाह्रो छ । निजी क्षेत्र पलायन हुनु भनेको पर्यटन विकास र पर्यटनको दिगोपनमा धक्का लाग्नु हो । यी त भए नकारात्मक असर । सकारात्मक कुरा गर्दा पर्यटन वर्षले सोचेअनुरूप प्रतिफल प्राप्त गर्न नसकेता पनि पर्यटनको चासो जगाउन सफल भएको लाग्छ । पर्यटन वर्षको अभियानलाई पुनः अघि बढाउन सके पर्यटनमा लाग्ने जनमानसको सङ्ख्या बढाउन सकिन्छ । जति धेरै पर्यटनमा चासो र सचेतना जगाउनु सकिन्छ उति चाँडो पर्यटनलाई चलायमान बनाउनु सहयोग पुग्दछ । पर्यटनमैत्री वातावरण निर्माण गर्न सक्नु पनि पर्यटन विकासको लागि टेवा हो ।

पर्यटक बिना पर्यटनको मतलब हुन्न । पर्यटनमा आर्थिक चलायमान नभएसम्म यसको अर्थ पनि रहन्न । जसका लागि निजी क्षेत्रको आवश्यकता पर्दछ । निजी क्षेत्र पर्यटन विकासको पहिलो कडी हो । निजी क्षेत्र दरिलो भयो भने देश समृद्ध हुन्छ । पर्यटनबाट समृद्धि हासिल गर्न सकिन्छ । अहिले निजी क्षेत्रलाई तङ्ग्रिन साथको खाँचो छ । यस पटकको नाराले भनेजस्तै पर्यटनबारे पुनः चिन्तन गरेर अघि बढी सबैले आफ्नो जिम्मेवारी वहन गरौँ । हातेमालो गरेर अघि बढ्यौँ भने अवश्य गन्तव्यमा पुग्न सक्छौँ र, अन्त्यमा हजुरहरू सबैमा विश्व पर्यटन दिवसको शुभकामना । अस्तु !!

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *