नवरात्रको पहिलो दिन शैलपुत्रीको पूजाआराधना गरिँदै (तस्बिरहरू)

काठमाडौँ । आजबाट हिन्दुहरूको महान् चाड बडा दसैँ अर्थात् नवरात्र सुरु भएको छ । आज नवरात्रको पहिलो दिन, शुद्ध माटो तथा गोबरले लिपपोत गरी घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म भगवती देवीको विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ ।

हिन्दु धर्मशास्त्रमा उल्लेख भएअनुसार वर्षभरि चारवटा नवरात्र पर्दछन् । ती नवरात्रहरू आषाढ शुक्ल, आश्विन शुक्ल, माघ शुक्ल र चैत्र शुक्लमा मनाइन्छ । आषाढ शुक्ल र माघ शुक्ल पक्षका नवरात्रलाई ‘गुप्त नवरात्र’ भनिन्छ । धर्मशास्त्र अनुसार यी दुई नवरात्रहरू तान्त्रिक साधकहरूका लागि उपयोगी मानिन्छ । चैत्र शुक्ल र आश्विन शुक्ल पक्षको नवरात्रमा भने आम मानिसहरूले दुर्गा शक्तिको तप जप र आराधना गर्ने गर्दछन् ।

नवरात्रको नौ दिनसम्म नवदुर्गाका नौ स्वरूपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र शिद्धिदात्रीको पूजा एवम् आराधना गर्ने गरिन्छ । नवरात्रमा विशेष गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ ।

आज नवरात्रको पहिलो दिन शैलपुत्री देवीको पूजा आराधना गरी मनाइँदैछ । आज हिन्दु धर्मावलम्बीहरूले विभिन्न शक्तिपीठहरूमा गई भगवान् देवीको पूजा आराधना गर्दछन् ।

तस्बिरमा काठमाडौँमा रहेका केही शक्तिपीठहरूमा पुगेका श्रद्धालु भक्तजनहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *