सरसफाइ अभियानमा जनप्रतिनिधि र कर्मचारी !

विराटनगर । कसैको हातमा झाडु, कसैको हातमा बेल्चा, कसैको हातमा हँसिया; यो दृश्य शुक्रबार बिहान विराटनगरका विभिन्न वडाको हाे । उल्लेखित दृश्य महानगर सरसफाइ विशेष अभियानको हाे । अहिले विराटनगर महानगर विशेष सफाइ अभियान सञ्चालन भइरहेको छ ।

महानगरको कार्यपालिका बैठकले नै हरेक शुक्रबार विराटनगरमा विशेष सफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेपछि अभियान शुरू भएको हो । हरेक शुक्रबार बिहान ७ देखि ९ बजेसम्म महानगरका विभिन्न वडाको सफाइ हुने गरेको छ। महानगरलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्रमा विभाजित गरेर सरसफाइ अभियान चलाइरहेको छ । उत्तरी क्षेत्रको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत, मध्येको उपमेर र दक्षिणीको मेयरले नेतृत्व गर्दै आएका छन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको नेतृत्वमा वडा नं. ५ को सफाइ अभियान भएको छ । चाँदनी चोकबाट सरसफाइ शुरू भएको थियो ।

सरसफाइ विशेष अभियानको क्रममा त्रिमूर्ति चोक आसपासको समेत सफाइ गरेको छ । सफाइ अभियानमा स्थानीयसमेत सहभागी भएका छन् । सफाइमा वडा नं. १ का वडाध्यक्ष काजी बस्नेत, २ कुमार पोखरेल, ३ का बासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपानेलगायत कार्यपालिका र नगरपरिषद् सदस्य, नगर प्रहरी सहभागी थिए ।

सरसफाइ अभियान एक दिन गरेर मात्र नहुने प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए । अभियानअन्तर्गत हरेक हप्ता बेग्ला-बेग्लै वडाको सरसफाइ हुने गरेको छ । यस हप्ता उत्तरी क्षेत्रको ५ नं. वडाले आयोजना गरेको वडाध्यक्ष सन्तोष न्यौपानेले जानकारी गराए ।

कार्यबाहक मेयर शिल्पा निराला कार्कीको नेतृत्वमा मध्य क्षेत्रमा सफाइ गरिएको छ । वडा नं. ६ को ब्रम्हापुर आसपासको क्षेत्रमा सरसफाइ गरिएको हो । अभियानमा वडा नं. ६ का वडाध्यक्ष हरिश्चन्द सहनी, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र न्यौपाने, महानगरको वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख राजेन्द्र प्रधानलगायत जनप्रतिनिधि, नगर प्रहरी, कर्मचारी र स्थानीयको सहभागी थिए । सरसफाइ विशेष अभियानपछि विराटनगर धेरै क्षेत्रलाई सरसफाइको सामान्य अवस्थामा फर्काएने तयारीमा महानगर देखिएको उपमेयर कार्कीले बताइन् । ‘ठाउँ विशेषअनुसार प्राथमिकताको क्षेत्र फरक हुन्छ,’ उनले भनिन्, ‘विराटनगरका लागि सरसफाइ पनि प्राथमिकताको क्षेत्रभित्र पर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *