मोरङमा महिला : काे-काे देखिँदैछन् आसन्न निर्वाचनमा ?

विराटनगर । नेकपा एमालेकी नेतृ शिवमाया तुम्बाहाम्फे मोरङ क्षेत्र नं. १ बाट उठ्ने तयारीमा छन् । पार्टीको निर्णय पर्खिएर बसेकी तुम्बाहाम्फेले आफूले नै टिकट पाउनुपर्ने दाबीसमेत छाडेकी छैनन् । पार्टीभित्र पनि महिलावादी नेतृको पहिचान बनाएकी तुम्बाहाम्फेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आफू उम्मेदवार हुने दाबी गरिन् । ‘अहिले म पार्टीको निर्णयको पर्खाइमा छु,’ उनले भनेकी छन्, ‘६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा एक मात्र महिला उठाउनु पर्दा मलाई नदिएर कसलाई टिकट दिने त ?,’ उनले भनेका छन् ।

अरु कुनै निर्वाचन क्षेत्रमा पनि महिला उम्मेदवारको नाममा नामै सिफारिस नभएकाले निर्वाचन क्षेत्र नं. १ मा आफू दरिलो प्रत्यासी हुने उनी बताउँछिन् । उनले बजारको कुरालाई भन्दापनि विश्लेषण गरेर मात्र आफ्नो धारणा बनाउने दाबीसमेत गरिन् । दलहरूले निर्वाचनमा समानुपातिक उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाइसकेको भएपनि प्रत्यक्ष्यमा कहाँबाट कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लागिसकेको छैन । आगामी असोज २३ गते निर्वाचन आयोगले मनोनयन दर्ता गर्ने मिति तोकेको छ । त्यो मिति नआउँदासम्म दलहरूले उम्मेदवारको टुंगो लागाउने अवस्था देखिँदैन । मोरङ क्षेत्र नं. १ मा नेकपा एमालेबाट यस अघि निर्वाचित भएका घनश्याम खतिवडा भने पार्टीको टिकट वितरणलाई पर्ख र हेरको अवस्थामा रहेको बताउँछन् ।

एमालेभित्र मात्र उम्मेदवार छान्ने सकस देखिएको छैन, सबै दलमा नै त्यसखालको समस्या देखिएको छ । गठबन्धनभित्रका दलहरूमा समेत महिलाको मुद्दाको विषय ओझेलमा पर्ने देखिएको छ । मोरङ निर्वाचन क्षेत्र नं. ६ बाट चुनाव लड्ने तयारी गरिरहेकी नेपाली कांग्रेसकी नेता डा. डिला संग्रौला पनि टिकट पाउने वा नपाउने दोधारमा छिन् । डा. शेखर कोइरालाको क्षेत्र भनेर चिनिएको यो निर्वाचन क्षेत्रमा अरुले टिकट पाउनसक्ने अवस्था कमजोर छ । शेरबहादुर देउवा लाइनमा देखिएकी संग्रौलालाई जसरी पनि व्यवस्थापन गर्नुपर्छ भन्नेमा देउवा देखिएको भएपनि ठाउँको खोजी पार्टीले गरिरहेको नेपाली कांग्रेस निकटका नेताहरू बताउँछन् ।

संग्रौला पार्टीले दिने भूमिकामा आफू जहाँबाट पनि उठ्न तयार रहेको बताउँछिन् । ‘मेरो दाबी प्रतिनिधि सभाको क्षेत्र नं. ६ मा हो,’ उनले भनिन्, ‘भूमिकाअनुसार पार्टीले जहाँ जिम्मेवारी दिन्छ, दिएको जिम्मेवारीका आधारमा अघि बढ्ने हो ।’ कतिपयले संग्रौलाको प्रतिनिधि सभामा दाबी प्रदेश सभामा सिट सुरक्षित गर्नको लागि भनेर भन्ने गरेका छन् । उनी प्रदेश सभामा उम्मेदवार भएको अवस्थामा मुख्यमन्त्रीको रूपमा दाबी गर्ने कांग्रेस नेताहरूले बताउँदै आएका छन् । मोरङ क्षेत्र नं. ६ प्रदेश ‘ख’ बाट निर्वाचित भएका अहिलेका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले त्यो क्षेत्र नछाड्ने अडान लिँदै आएका छन् । तर त्यही क्षेत्रबाट संग्रौलालाई उम्मेदवार बनाउने तयारीमा कांग्रेस देखिएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं. २ बाट सुजाता कोइरालाले दाबी गरेकी छिन् । यस अघि निर्वाचित भएका डा. मीनेन्द्रप्रसाद रिजालले पनि त्यही क्षेत्रबाट उम्मेदवार बन्ने बनाइरहेको अवस्थामा कोइरालाले आफ्नो दाबी क्षेत्र नं. २ भएको बताउँदै आएकी छन् । प्रत्यक्ष्य निर्वाचित हुनसक्ने दाबी गरेकी कोइरालाले हिजोका दिनमा रिजालले टिकट पाएकोले यो निर्वाचनमा महिला भएको कारण पनि आफूले उम्मेदवार बन्न पाउनुपर्ने धारणा उनको छ ।

त्यस्तै राप्रपाबाट मोरङ क्षेत्र नं. ३ मा रेखा थापा उम्मेदवार बन्दैछिन् । यसअघि निर्वाचनमा अनुहार नदेखिएकी तर, सिनेमा क्षेत्रमा चर्चामा रहेकी थापाले नेकपा एमालेका भानुभक्त ढकाल र नेपाली कांग्रेसका सुनिल शर्मासँग प्रतिस्पर्धा गर्नुपर्ने छ। उनी अहिले पनि मतदाता माझ निरन्तर दौडधुपमा छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *