राष्ट्रपतिको अधिकारको विषयमा टिप्पणी छैन : एमाले

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिको अधिकारको विषयमा पार्टीको कुनै टिप्पणी नरहेको बताएको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रमाणीकरण गर्ने नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको अधिकारको विषय भएकाले आफ्नो कुनै टिप्पणी नरहेको बताएका हुन् ।
विधेयक फास्ट ट्र्याकबाट ल्याउन खोज्नु नेपालको हित विपरीतका काम भएका उनले बताए । ‘देशको राष्ट्रियता, राष्ट्रिय एकता, हित र दीर्घकालीन भविष्यको चिन्ता गर्ने मात्र होइन यसको संरक्षण गर्ने दायित्व पनि राष्ट्रपतिको रहन्छ,’ रिजालले मकालुखबरसँग भने, ‘यसमा राष्ट्रपति ज्यूले स्वविवेक प्रयोग गर्नु भएको हो । त्यसैले राष्ट्रपतिको अधिकारको विषयमा हाम्रो कुनै टिप्पणी छैन ।’
चुनावको मिति घोषणा भइसकेका बेला जनमतको हिसाबले पनि विधेयक पास गराउन खोज्नु उचित नहुने उनको तर्क थियो । उनले एमाले विधेयकको विपक्षमा रहेको पनि स्मरण गराए । सरकारले बहुमतबाट पास गर्नसक्छ ? भन्ने प्रश्नको जवाफमा नेता रिजालले भने, ‘त्यो कानुन सम्मत कुरा होइन यो देशमा कानुन छ । यदि त्यसो हो भने त चुनावै नगरी स्वतः हामी विजयी भयौँ भनेर घोषणा गरिदिए पनि भयो सरकारले ।’








