चितवनका किसानको चेतावनी- ‘भारतबाट दूध आयात भए नारायणीमा मिल्काइदिन्छौँँ’

चितवन । चितवनका किसानले भारतबाट दूध आयात भए गाडी रोकेर नारायणी नदीमा मिल्काइदिने चेतावनी दिएका छन् । यहाँका किसानले आज पत्रकार सम्मेलन गरी भारतबाट आयातित दूधका ट्याकंर चितवनको बाटो भएर नै काठमाडौँ पोखरा जाने भएको हुनाले ती ट्यांकरहरूलाई रोकेर आयातित दूध नारायणी नदीमा मिल्काइदिने चेतावनी दिए ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष रत्नमणि न्यौपानेले नेपाल सरकारले भारतको पटनाबाट दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न डेरी उद्योगीहरूलाई अनुमति दिएको दावी गर्दै भने, ‘जुनकुनै हालतमा दूध आयात गर्न दिने छैनौँ, जिल्ला संघ यसको विरोधमा छ । स्वदेशमा नै लगानी गरेर यहाँका किसानलाई प्रोत्साहन गर्नुको साटो उल्टो विस्थापित गर्न सरकार लागिरहेको छ ।’

उनले दूध आयात गर्ने निर्णय तत्काल फिर्ता नगर चितवनबाट किसानले आन्दोलन गर्ने बताए । उनले भने, ‘डेरी उद्योगीहरूले यहाँका किसानको दूधको भुक्तानी दिएका छैनन्, भारतबाट दूध आयात गर्न हतारिएका छन् । हामीलाई मान्य हुनेछैन ।’

जल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका सचिव किशोर बगालेले भने, ‘डेरी उद्योगीहरूले बार्गेनिङ प्याइन्ट खोजेका हुन्, भारतबाट आयात गर्छौ भनेर यहाँका किसानलाई तर्साएर सस्तोमा दूध उठाउन खोजिएको हो, दूध आयात गर्न दिँदैनौँ, आन्दोलन गर्न परे पनि हामी पछि पर्दैनौँ ।’

भारतबाट आयातित दूध पनि नेपालको भन्दा सस्तो नपर्ने उनले बताए । उनले भने, ‘दूध पुगेन भनेर आयात गर्न खोजिएको छ, कति दूध नपुगेको हो, हामी दूध दिन तयार छौँ, तर यहाँको वस्तुस्थितिको कुनै अध्ययन नगरी दूध आयात गर्न खोजिएकोमा हाम्रो आपत्ति छ ।’

चितवनमा दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन भइरहेको छ । यहाँ दुधालु गाई र भैँसीको संख्या ६ लाख ८६ हजार ११ रहेको छ । चितवनको दूध काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर र कास्कीमा जान्छ । चितवनको झण्डै डेढ लाख दूध बाहिरी जिल्ला गइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *